Bizmandu
www.bizmandu.com

ट्राभल एजेन्सीका पायोनियर भोलाविक्रम थापा : उमेर ७३, सधैं ऊर्जाशील

ट्राभल एजेन्सीका पायोनियर भोलाविक्रम थापा : उमेर ७३,  सधैं ऊर्जाशील


काठमाडौं। सत्तरीपछिलाई समाजले व्यस्तता छाडेर आराम र तीर्थाटनको उमेरको रूपमा लिन्छ । ६५ वर्ष कटिसकेपछि प्रायः रीटायर्ड लाइफकै संज्ञा दिइने गरिन्छ।

तर, ७० वर्ष पार गरिसक्दा पनि एउटै गतिको उर्जा लिएर आफ्नो व्यवसाय सम्हाल्दै आएका छन् पर्यटनकर्मी भोलाविक्रम थापा। उनलाई झट्ट हेर्दा फिजिकल फिटनेसले ७३ वर्षीय हुन् भन्ने उमेरको अन्दाज गर्न सकिँदैन । गेटअप, बोल्ने र काम गराइको शैलीमा देखिने उनको सक्रियता र उर्जाशीलता उही उमेर पुगेकाहरूका लागि नौलो मानिन सक्छ ।     

Sipradee
Sanima Bank
Riddisiddi Cement

सुरूवातमा गोदावरीको सेन्ट जेभियर्समा पढेका उनी स्कुले जीवनमा पढाइमा मेधावी होइनन् । तर, अंग्रेजी विषयमा राम्रो भएकैले टुर्स एण्ड ट्राभल बिजनेसमा सक्रिय हुनसकेको उनी सुनाउँछन् । 'बुवा न्यायाधीश हुनुहुन्थ्यो । त्यतिखेर छोराछोरीलाई डाक्टर, पाइलट बनाउनपर्छ भन्ने सबैको सोच,' उनी भन्छन्, 'मलाई किन किन त्यही क्षेत्रमा आबद्ध हुन्छु भनेर पढ्ने जाँगर नै आएन। अंग्रेजी राम्रो थियो।'

त्रिचन्द्र कलेजमा मानविकी पढ्दै गर्दा ट्राभल एण्ड टुर्सको व्यवसायमा संलग्न हुने योजना बनाएको उनी सम्झन्छन् । कारण थियो- अंग्रेजी भाषा । विदेशी पर्यटक धेरै आउँथे, उनीहरुलाई सहयोग गर्ने क्रममा अंग्रेजी भाषा आवश्यक पर्थ्यो। मलाई अंग्रेजीमा बोल्न कुनै गाह्रो थिएन। 'अंग्रेजीमार्फत पर्यटकसँगको उठबसका कारण मैले यो व्यवसायमा आउने सोच बनाएको थिएँ,' उनी भन्छन् । 

प्रेसिडेन्ट ग्रुपका अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका उनी प्रेसिडेन्ट टुर्स एण्ड ट्राभल, ग्रीनलाइन बस सेवा, ग्रीन भ्याली रिसोर्ट र माछापालन लगायत आफ्नै निजी व्यवसायमा आबद्ध छन् । सन् १९६० को दशकमा ट्राभल व्यवसायमा पर्यटन व्यवसायमा आवद्ध थापा ५० वर्षदेखि निरन्तर सक्रिय छन् ।

सुरुमा यति ट्राभल्समा दुई वर्ष काम गरे । त्यसपछि साँढे तीन वर्ष अन्नपूर्ण ट्राभल्समा काम गरे । त्यतिखेर भर्खरै सुरू भएको याक एण्ड एक्सप्रेस कम्पनीमा काम गर्ने प्रस्ताव आएपछि उनी त्यो कम्पनीमा आबद्ध भए । करिब दुई वर्ष अनुभव संगालेपछि ट्राभल ट्रेड प्रतिको मोह कम हुँदै गयो ।

'आफ्नै सिद्धान्तमा चल्न रुचाउने मैले 'रोलिङ स्टोन ग्यादर नो मोस' भन्ने कुरालाई ध्यानमा राखेँ,' उनी भन्छन्, 'ग्यादर मोस भन्दा पनि ठाउँ-ठाउँमा प्रमोसन हुने, तलब पनि बढ्ने, साथसाथै अनुभव पनि हुने विचारलाई मध्यनजर गर्दै ट्राभल व्यवसायमा आबद्ध हुँदाको सुरुवातमा धेरै मुभमेन्ट गरेको अनुभव संगालियो ।' विभिन्न कम्पनीसँग आबद्ध हुँदा टिकेटिङ, टूर, कार्गो, लेखा र व्यवस्थापनको अनुभव संगाल्न सफल भएको उनी बताउँछन् । चितवनस्थित राष्ट्रिय निकुञ्जभित्र राइनो वाइल्ड लाइफ क्याम्पमा पनि व्यवस्थापनतर्फ चार वर्षको अनुभव संगालेको उनले बताए ।

क्याम्पमा आवद्ध भएको चार वर्षपछि सन् १९८० मा थापाले पर्यटन व्यवसायी प्रभाकरशम्शेर जबराको अनुरोधमा दुई वर्षसम्म एभरेष्ट एक्सप्रेसमा व्यवस्थापनको जिम्मेवारी सम्हाले। सन् १९८२ मा दुइजना साथी लिएर साझेदारीमा प्रेसिडेन्ट ट्राभल संचालन सुरू गरे । पिटर कार्थकको अध्यक्षतामा सुरू गरिएको यो ट्राभल एजेन्सीमा मार्क कार्थकले टुर सम्हालेका थिए भने थापाले टिकेटीङको जिम्मेवारी ।

'त्यतिखेर हामीले अपेक्षाअनुसारको सफलता हासिल गर्न सकेनौं । हामीले घाटा त व्योहोरेनौं, तर उनीहरूसँगको समन्वयमा पछि मैले यो कम्पनीको एकल स्वामित्व लिएँ', उनी भन्छन्, 'त्यतिखेर सुखदुःखसँगै रमाइलो पनि गरियो । कम्पनीलाई इस्टाब्लिस्ट गर्दै लगियो ।' अहिलेका तुलनामा त्यतिखेर राम्रो कमिसन पाउने भएका कारण ट्राभल व्यापार राम्रो रहेको उनी बताउँछन् ।

त्यो समयमा आन्तरिक पर्यटन राम्रोसँग फस्टाएसँगै आउट बाउण्डतर्फ अन्य मुलुकको तुलनामा नेपालमा यूरोपेली मुलुकका पर्यटकको आवगमन धेरै हुने गरेको थियो । 'म आफूलाई भाग्यमानी ठान्दछु । भाग्यसँगै मेहेनत पनि गर्नुपर्ने रहेछ भन्ने बुझेको छु,' उनी भन्छन्, 'भएका सबै अनुभवलाई सदुपयोग गर्ने उद्देश्यले टुर्स एण्ड ट्राभल कम्पनीसँगै जीएसएको कामलाई पनि अगाडि बढाएँ । राम्रै फाइदा हुँदै गयो ।' हाल उनको कम्पनीले नेपालमा नौवटा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीको जीएसए (जनरल सेल्स एजेन्ट) को प्रतिनिधित्व गर्दै आएको छ ।

कुनै पनि व्यापार व्यवसाय गर्नुअघि अध्ययन गरेर आफ्नो क्षमतालाई पहिचान गरेर सुरू गर्नुपर्ने उनी बताउँछन् । 'जुन व्यापार पनि आफूले हेरेर गर्न सकियो भने सफल हुन्छ,' उनी भन्छन्, 'भइहाल्छ र गरिहाल्छन् भन्ने जमाना गइसकेको छ। आफ्नो एटेन्सन हुन जरूरी छ ।'

प्रेसिडेन्ट टुर्स एण्ड ट्राभल कम्पनीसँगै ग्रीनलाइन बस सेवा, माछापालन र ग्रीन भ्याली रिसोर्ट लगायत सेवामुलक व्यवसाय संचालन गर्दै आएका उनी सबै उद्योगमा कर्मचारीलाई आफैं तालिम दिएर रोजगारीमा लगाउँछन् । व्यवसाय आफ्नै सन्तुष्टीको लागि गर्दै आएको उनको भनाइ छ । 

'मान्छेले आफ्नो व्यवसायमा आफूलाई व्यस्त राख्नुपर्छ । आफू यङ छु या ओल्ड भन्ने कुराले अर्थ राख्दैन्', उनी भन्छन्, 'भगवानको कृपाले ठूलो रोग लागेको छैन भनुँ भने मलाई सुगर छ, तर मुख पनि बार्दिन । जति उमेरसम्म बाँच्छु सक्रिय रूपमा कामसँगै रमाइलो गर्न सकुँ भन्ने लाग्छ ।'

शारीरिक उर्जा मनले सिर्जना गर्ने कुरामा उनी विश्वास गर्छन् । रातभरी यात्रा गरे पनि भोलिपल्ट बिहान सोझै कार्यालय आएर काम गर्ने गरेको उनी बताउँछन् । 'काममा दृढ इच्छा हुनुपर्छ । मलाई त काम पनि गर्न मन लाग्छ सँगै रमाइलो पनि गर्न मन लाग्छ,' उनले भने, ' मान्छे व्यस्त भए तनाव हुँदैन । निन्द्रा राम्रो पर्छ ।'

परिवारबाट समय व्यवस्थापन गर्न र आराम गर्नका लागि सुझाव आएपनि एउटा राम्रो प्रोजेक्ट आएमा सुरु गर्न तयार रहेको उनी बताउँछन् । 'म त बुढो भएँ भनेर चुप लागेर घर बस्यो भने त बसिहालिन्छ नी । तर आफूलाई जति सक्रिय र सिर्जनशील राख्न सकियो त्यति नै एनर्जाइज्ड हुन सकिन्छ भन्ने  लाग्छ,' उनले भने ।

सामान्यतया विहानदेखि बेलुकीसम्म व्यस्त हुने उनी आफ्नो दैनिक काम गर्न रमाइलो लाग्ने बताउँछन् । 'म यो हुँ मैले यो गरेँ भनेर कहिले घमण्ड गर्न मन लाग्दैन । कामको लागि मैले कुनै समयसीमा तोकेको छैन। यतिउति घण्टा भन्ने हुँदैन,' उनले भने, 'मेरो काम छ भने म मजाले खटिन्छु। काम नहुँदा कसैले बोलाएको ठाउँमा जान्छु । प्रायः म एकाउन्ट्स हेर्छु, अहिले पनि म आफैं चेकमा सिग्नेचर गर्छु ।'

व्यवसायमा अपरेशनतर्फ छोरा सिद्धार्थविक्रम थापाले जिम्मेवारी लिएका छन् भने अकाउन्टीङको जिम्मेवारी उनी स्वयंले सम्हालेका छन् । काम गर्नमा आफू र आफ्नो छोरामा आ-आफ्नै विशेषता रहेको उनी बताउँछन् ।

'कसैको कस्तो हुन्छ भने बाउको छत्रछायाँमा रहेर मोजमस्तीमा रम्ने प्रवृत्ति हुन्छ। बाउले बनाइदिहाल्या छ मोज गरौँ यार भन्ने प्रवृत्ति कतिपयमा देखिन्छ,' उनी भन्छन्, 'मेरो छोराले मेरो व्यवसायमा सहयोग गर्नुका साथै आफ्नै व्यवसाय पनि सम्हालिरहेको छ। यो कुरा मलाई चित्त बुझेको छ ।'

पर्यटन व्यवसायमा सुरुवाती र वर्तमान अवस्थामा प्रविधिले फरक ल्याएको उनी बताउँछन् । 'पहिला पूर्ण रूपमा दिमागको प्रयोग गरिन्थ्यो भने अहिले औंलामात्र प्रयोग गरिन्छ । त्यो बेला किताबको ठेली हेरेर आइटिनरी बनाइन्थ्यो,' उनी परिवर्तनको अनुभव सुनाउँछन्, 'काठमाडौं-लण्डन भ्रमणका लागि हामीहरूले फेयर, माइलेज, खानपान लगायतका कुराको हिसाब आफैं बनाउनुपर्थ्यो । अहिले त सेकेण्डकै भरमा सबै कुरा पत्ता लगाउन सकिन्छ। औंलाको सदुपयोग सुझबुझले चलाउनु पर्ने समय आयो ।'

वर्तमान अवस्थामा सर्वसाधरण प्रविधिमा अत्यधिक रूपमा निर्भरता बढेको उनले बताए । 'अहिले मोबाइल आउन थालेपछि स्मरण शक्ति नै कमजोर हुन थालिसकेको छ,' उनी भन्छन्, 'अहिले मोबाइल अथवा डाटा भएन भने मान्छेहरु तड्पिन्छन् । प्रविधिबिना पनि सर्भाइभ हुन सक्नुपर्छ भन्ने मेरो विचार हो ।'