BIZMANDU
www.bizmandu.com

‘बैंक चोर’को हातमा कसरी पुग्यो २ हजार जनाको नागरिकताको प्रतिलिपी र पासपोर्ट साइज फोटो?

२०७६ मंसिर १२

Tata
GBIME
Nepal Life

काठमाडौं। अर्काको खाता प्रयोग गरेर चेक मार्फत् रकम झिक्ने 'चोर'हरुलाई प्रहरीले सार्वजनिक गरेसँगै नेपाली बैंकहरुको सुरक्षामा प्रश्न उठेको छ।

के बैंकका सेवाग्रहीहरुको रकम सुरक्षित त छ? छ भने कसरी? जब कि सजिलै फर्जी कागजपत्र बनाएर चोरदेखि ह्याकरहरुले निरन्तर बैंकबाट लाखौंलाख रुपैयाँ झिकिरहेका छन्।

यस्ता घटनामा बैंकका कर्मचारीको मिलेमतो हुने गरेको प्रहरीको अनुसन्धानमा खुलेका छन्। बुधवार प्रहरीले सार्वजनिक गरेको घटनामा पनि बैंकका कर्मचारीको संलग्नता भएको प्रारम्भिक अनुमान छ। तर, यथेष्ठ प्रमाण नहुँदा प्रहरीले बैंक कर्मचारीलाई नियन्त्रणमा लिन भने सकेको छैन।

'हामीले उनीहरुलाई निगरानी गरिरहेका छौं। प्रमाण जुटाउँदै छौं। सम्भवत केही कर्मचारीको संलग्नता खुल्छ,' अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले भने।

प्रहरीले कीर्ते कागजपत्र बनाइ अर्काको बैक खाताबाट रकम झिक्ने सुभाष श्रेष्ठ, कुमार तामाङ, मनिष घिमिरे, अञ्जन बराल, सुमन पौडेल र गोविन्द घिमिरेलाई सार्वजनिक गरेको थियो। उनीहरुले जनता बैंकबाट झन्डै २० लाख रुपैयाँ निकालेको खुलेको छ। उनीहरुले बैंक खाता भएका र बैंकमा राम्रो व्यालेन्स भएका सेवाग्राहीहरुको विवरण संकलन गरेर फर्जी कागजपत्र बनाइ रकम चोरी गर्ने गरेको खुलेको हो।

तर, उनीहरुको साथमा बैंकमा रकम भएको जानकारी, नागरिकताको फोटोकपी, पासपोर्ट साइज फोटो लगायत सम्पूर्ण विवरण भने कसरी पुग्यो त?

प्रश्न टट्कारो बनेको छ। प्रहरीले नियन्त्रणमा लिएका ६ जनाको कोठा छानविन गर्दा पाँच बोरा कागजपत्र फेला पारेको थियो। बोरामा २ हजार भन्दा बढी विभिन्न व्यक्तिका नागरिकताका प्रतिलिपी र पासपोर्ट साइज फोटो फेला परेको छ। उनीहरु त्यही फोटो, नागरिकताको फोटो कपी र हस्ताक्षर भिडाएर बैंकबाट चोरी गर्दै आएका थिए।

'यतिधेरै कागजपत्र फेला पर्नु डरलाग्दो कुरा हो। उनीहरुले यही विवरणबाट करौडौं चोरी गर्न सक्थे। तर, अहिलेसम्म विवरण कसरी संकलन भयो भन्ने खुल्न सकेको छैन,' महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीले भने।

त्यति मात्र होइन, उनीहरुले प्रहरीको डरले थप पाँच बोरा कागजपत्र नष्ट गरेको समेत बयान दिइसकेका छन्।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा सम्पूर्ण विवरण बैंकबाट नै चोरको हातमा पुगेको देखिएको छ। बैंकहरुले खातावालको संख्या बढाउने प्रतिस्पर्धा गर्दा ज्यालादारीमा कर्मचारी भर्ना गरेका थिए। ती ज्यालादारी गर्नेले घरघरमा गएर खाता खोल्थे जसबाट सजिलै चोर बाटो तयार भइरहेको थियो।

खाता खोल्दा सेवाग्राहीले उनीहरुलाई कागजपत्र, फोटो, नागरिकताको प्रतिलिपि उपलव्ध गराउने गरेका थिए। अहिले त्यही कागजपत्र दुरुपयोग भएको एक बैंकरले बताए। राष्ट्र बैंकले पहिलो पटक बैंक खाता खोल्नेलाई १०० रुपैयाँ दिने सुविधा बैंकहरुलाई दिएपछि कतिपय बैंकले अभियान नै चलाएका थिए।

'अपरिपक्व हिसाबले बैंकिङ चल्दा अहिले समस्या आएको हो। प्रविधिमाथि छेडखानी गरेर हुने फ्रड त छाँडौं यहाँ सामान्यभन्दा सामान्य उपाय गरेर पनि बैंक लुटिन सक्ने अवस्था छ,' एक बैंकका प्रमुख कार्यकारी अधिकृतले भने, 'खाता खोल्न होस् या सञ्चाल विस्तार गर्दा सामान्य अनुशासन पनि पालना गरिएको छैन।'

उनीहरु सञ्जाल बिस्तार गर्दा खाता धेरैभन्दा धेरै खोल्नेलाई ६ महिनापछि स्थायी गर्ने नीति सुनाएका थिए। व्यवस्थापनको यस्तो अव्यवहारिक र अपरिपक्व निर्णयका कारण पनि ग्राहकको सूचना लिन गलत मान्छेहरुलाई सजिलो भएको बैंकरहरु नै बताउँछन्।

'भोलि बैंकमा खाता खोल्नै मान्छे डराउने अवस्था आयो। बैंकलाई दिएको आफ्नो जानकारी अर्कैले चोल्ने अवस्था देखियो यहाँ,' ती बैंकरले भने, 'बैंक भनेको विश्वासले चल्ने हो। यहाँ त बैंकहरुले आफ्नो अपरिपक्व नीतिका कारण विश्वास गुमाउन थाले। यहाँ २/४ वटा बैंकको वदमासीको दोष सारा बैंकहरुले भोग्नु पर्ने अवस्था आएको छ।'

यसपालिको घटनामा ग्राहकले चेक बुझेको विवरण रहने ढड्डा पनि प्रहरीले फेला पारेको छ। बैंकभित्र सुरक्षित रुपमा रहनु पर्ने ढड्डा कसरी चोरी भयो?

'यसमा सरासर कर्मचारीको संलग्नता पुष्टि हुन्छ,' एक बैंकरले भने, 'बैंकको आन्तरिक नियन्त्रण प्रणाली कमजोर हुँदा विश्वास डगमगाउने अवस्था छ।'

पछिल्लो समय रोजगारीको नाममा हामीले विभिन्न कम्पनी, सस्था लगायत निकायमा नागरिकताको फोटोकपी, फोटो लगायतक विवरण बुझाएका हुन्छौं। त्यहाँबाट पनि सम्पूर्ण विवरण निकाल्न सकिन्छ। अनलाइन मार्फत् भरिने फारममा समेत जानकारी भरिएको हुन्छ।

'हामीले यस्तो कागजपत्र उपलव्ध हुने सम्भावित ठाँउको अनुसन्धान गरिरहेका छौं। आम मनिसले पनि आफ्नो विवरण बुझाउँदा कतिको सुरक्षित छ भनेर बुझ्नु जरुरी हुन्छ,' डिएसपी बोगटीले भने।