BIZMANDU
www.bizmandu.com

पप्पुलाई कालोसूचीमा राख्न खरीद अनुगमनलाई पत्र, बैक ग्यारेण्टी जफत गरेपछि पप्पुको धम्की

२०७६ मंसिर १०

Tata
GBIME
Nepal Life

काठमाडौं। काठमाडौ उपत्यका सडक विस्तार आयोजना बानेश्वरले पप्पु कन्स्ट्रक्सनलाई कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालय ताहाचललाई पत्र लेखेको छ।

तीनकुनेमा निर्माणाधीन नेटवर्क आर्क ब्रिजमा सम्झौंता अनुसार गुणस्तरीय काम नगरि अलपत्र पारेको भन्दै ठेक्का सम्झौता तोडेर कालोसूचीमा राख्न सिफारिस गरिएको हो। ठेक्का तोड्दै बैंक ग्यारेण्टी समेत जफत गरेर आयोजनाको खातामा ल्याइसकेको आयोजना प्रमुख अर्जुन अर्यालले जानकारी दिए ।

उनका अनुसार पर्फर्मेन्स ग्यारेण्टी भने जफत गर्ने प्रक्रियामा रहेको छ। आयोजनाले बैकलाई पत्राचार गरिसकेको छ। 'बैकले चिठ्ठी पाईसकेको जानकारी दिएको छ। पप्पुलाई पनि चिठ्ठी लेखेका छौ। सात दिनको समय मागेको छ।' उनले भने । आयोजनाले बैक ग्यारेण्टी वापत २ करोड ६७ लाख रुपैयाँ जफत गरिएको जनाएको छ।

आयोजनाका अनुसार ग्यारेण्टी वापत राखिएको सबै रकम जफत भएर खातामा आइसकेपछि कामको मूल्यांकन हुन्छ। ठेक्काको प्रावधान अनुसार सम्झौंता तोडेपछि निर्माण कम्पनीले गरेको कामको मूल्यांकन सोही अनुसारको भूक्तानी दिनुपर्छ। 'उसले गरेको कामको मूल्यांकन एउटा कोलममा हामीले जफत गर्ने रकम एउटा कोलममा राखेर प्लस माईनस गरेपछि बल्ल हिसावल मिल्छ,'अर्यालले भने,'कालोसूचीमा राख्नका लागि लेखेर पठाइएको छ।

अध्ययन, अनुसन्धान गरेर पिपिएमओले निर्णय गर्नेछ।' करिव २१ करोड रुपैयाँ लागतमा डिजाईन एण्ड विल्ड प्रक्रियाबाट २०७१ मा ठेक्का लगाईएको थियो । सम्झौंता अनुसार २०७५ असारमै पुल निर्माण सकेर आयोजनालाई हस्तान्तरण गर्नुपर्ने हो। तर अहिलेसम्म करिव २५ प्रतिशत निर्माण भएपछि रोकिएको हो। आयोजनाले करिव ६ करोड रुपैयाँ भूक्तानी दिइसकेको जनाएको छ।

तीनकुने र बानेश्वरलाई जोड्ने उक्त निर्माणाधीन पुलमा जमिनमुनी २९ मिटर गहिराईका १६ वटा पाइल राखिएको छ। आयोजनाले पाइलको परीक्षण गरेर हेर्दा एउटा पाइल १६ मिटर मात्रै गहिरो भेटिएको थियो। आयोजनाले तत्कालै काम रोक्न निर्देशन दियो। तर पप्पुले काम रोकेन । पुल ढलान गर्न फर्माहरु बाँध्न थाल्यो।

त्यसपछि पुल्चोक इन्जिनियर कलेजलाई गुणस्तर अध्ययन गर्ने जिम्मा दिइयो। पुल्चोक इन्जिनियरिङले तयार पारेको रिपोर्टमा एउटा पाइल १६ मिटर मात्रै गहिरो रहेको भन्दै त्यो कमजोर पाइलसँगै दुईवटा अरु पाइल राखेर निर्माण गर्न सकिने उल्लेख गरेको छ। तर यसरी पुल निर्माण गर्दा हुनुपर्ने जति बलियो भने नहुने उल्लेख छ। सोही कारण पुल भत्काएर पुन: बनाउन आयोजनाले निर्देशन दिएपछि पप्पुले काम रोकेको हो।

पप्पु मुद्धा हाल्ने धम्की

आयोजनाले बैक ग्यारेण्टी जफत गर्ने निर्णय गर्दै पत्र लेखेपछि पप्पुका संचालक हरिनारायण रौनियार अन्तरिम आदेशका लागि सर्वोच्च अदालत पुगेको थियो। सर्वोच्च अदालतले अन्तरिम आदेश नदिएपछि आयोजनाले बैक ग्यारेण्टी जफत गरेको हो।

ठेक्का तोड्ने निर्णय भएसँगै आयोजनाको विरुद्ध मुद्धा हाल्ने धम्की दिएको आयोजनाका एक अधिकारीले जानकारी दिए । 'काम गर्दै आर्विटेसन जान्छ। पप्पु आफ्नो पक्षमा फैसला गराउन माहिर छ। पैसा खुवाउनुको साटो काम गरे त हुन्थ्यो नी।' ती अधिकारीले भने।