BIZMANDU
www.bizmandu.com

बिक्री चाप बढेपनि सुध्रिएन बजार, झण्डै २६ करोडको शेयर कारोबार हुँदा एनएमबि र नेपाल बैंकले उछिने

२०७६ मंसिर ३


काठमाडौं। शेयर लगानीकर्ताले राम्रो लाभांश दिएका कम्पनीको शेयर खरिद बिक्री चाप बढाएपनि शेयर बजार भने उकासिन सकेको छैन। मंगलबारको कारोबारमा समेत शेयर सूचक झिनो अङ्कले घटेर बन्द भएको छ भने सेन्सेटिभ सूचक हरियो देखिएको छ ।

Tata
GBIME
Nepal Life

मंगलबारको कारोबारमा नेपाल स्टक एक्सचेन्जको कारोबार मापक सूचक १.१४ अङ्कले घटेर ११२९.९९ अंकमा ओर्लिएको छ । सेन्सेटिभ सूचक ०.३१ अकले बढेर २४८.९१ अंकमा उक्लिएको छ । सोमबार सूचक ०.२३ अङ्कले घटेको थियो ।  

मंगलबारको कारोबारमा  राम्रो प्रतिफल दिने कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ । कारोबार गर्ने उच्च कम्पनीको सूचीमा एनएमबि बैंक र नेपाल बैंक लगानीकर्ताको आकर्षण बने । एनएमबि बैंक उच्च कारोबार गर्ने कम्पनीको सूचीमा अग्रस्थानमा छ भने नेपाल बैंक दोस्रो उच्च कारोबार गर्ने कम्पनी बनेको छ ।

एनएमबि बैंकको तीन करोड २० लाख रुपैयाँको कारोबार भयो भने नेपाल बैंकको १ करोड ८७ लाख रुपैयाँको कारोबार भयो । एनएमबि बैंकले ३५ प्रतिशत र नेपाल बैंकले २५ प्रतिशत लाभांश घोषणा गरेका छन् । सोही कारण यी बैंकको शेयरमा लगानीकर्ताको आकर्षण बढी देखिएको हो ।

तर दुवै बैंकको बढी कारोबार भएपनि प्रतिकित्ता शेयर मूल्य भने दुवैको घटेको छ । मंगलबार दुवै कम्पनीको शेयर मूल्य प्रति कित्ता दुई रुपैयाँले घटेको छ ।

मंगलबार १६३ कम्पनीको शेयर २५ करोड ९३ लाख रुपैयाँमा कारोबार भयो । कारोबार रकमकै आधारमा एनएमबि बैंकले अग्रता लिएको छ । मंगलबार कारोबार रकम बढाउन संस्थापक शेयरले बढी टेवा दिएको छ । एनएमबि बैंक र मुक्तिनाथ बैंकको संस्थापक शेयरको धेरै कारोबार भयो। 

एनएमबि बैंकको दुई करोड र मुक्तिनाथ बैकको डेढ करोड रुपैयाँभन्दा बढीको संस्थापक शेयर कारोबार भएका हुन् । मंगलबार १२ समूहको शेयर कारोबार भयो । ६ समूहको उप सूचक घटेका छन् भने ६ समूहकै उप सूचक बढेका छन् ।