BIZMANDU
www.bizmandu.com

सामान खरीदमा भ्याट फिर्ता: मोबाइल वालेटबाट भूक्तानी गर्दा मात्रै पाइने, कार्डबाट किन्दा नपाइने

२०७६ कात्तिक २८

सामान खरीदमा भ्याट फिर्ता: मोबाइल वालेटबाट भूक्तानी गर्दा मात्रै पाइने, कार्डबाट किन्दा नपाइने
सामान खरीदमा भ्याट फिर्ता: मोबाइल वालेटबाट भूक्तानी गर्दा मात्रै पाइने, कार्डबाट किन्दा नपाइने

Tata
GBIME
Nepal Life

काठमाडौं। आन्तरिक राजस्व विभागले इलेक्ट्रोनिक पेमेन्टमा मात्रै उपभोक्ताले गरेको खरीदमा कुल भ्याट रकमको १० प्रतिशत फिर्ता दिन सकिने निष्कर्षसहित प्रतिवेदन तयार पारेको छ।

चालु आर्थिक वर्षको बजेटमा उपभोक्ताले आफ्नो खरीदको भूक्तानी बैंक कार्डबाट गरे कुल भ्याटको १० प्रतिशत फिर्ता दिने व्यवस्था गरेको थियो। यो व्यवस्था कार्यान्वयनका लागि विभागले बनाएको अध्ययन कार्यदलले बैंकको डेविट र क्रेडिट कार्डबाट भूक्तानी गर्दा रकम फिर्ता गर्न कठिन हुने भन्दै तत्कालका लागि ई-सेवा, आइएमई पे, प्रभु पे, खल्ती लगायतका मोबाइल वालेटमार्फत मात्रै कार्यान्वयनमा ल्याउन सकिने निष्कर्षसहित प्रतिवेदन तयार पारेको हो। विभागले अध्ययन प्रतिवेदन अर्थमन्त्रालयमा बुझाइसकेको छ।

विभागका महानिर्देशक विनोद कुँवरले तत्कालका लागि डेविट र क्रेडिट कार्डबाट हुने भूक्तानीमा १० प्रतिशत रकम फिर्ता गर्न नसकिने देखिएको बताए। उनले भने-‘अध्ययन समितिले प्रतिवेदन तयार भएर मन्त्रालय पेश भइसकेको छ। मन्त्रालयबाट स्वीकृत भएपछि तत्कालका लागि राष्ट्र बैंकबाट मान्यता प्राप्त इ- पेमेन्टबाट गरिएको भूक्तानीमा मात्र रकम फिर्ता गर्न सकिने देखिएको छ।‘

विभागको महानिर्देशकको नेतृत्वमा राष्ट्र बैंक, अर्थ मन्त्रालय, महालेखा नियन्त्रक, बैंकर्स संघका प्रतिनिधि सदस्य छन्। समितिले विज्ञसँग छलफल र अध्ययन गरि प्रतिवेदन तयार गरेको हो। 

प्राविधिक तयारी पूरा नभएकोले तत्काल डेविट र क्रेडिट कार्डबाट गरिएको गरिएको भूक्तानीमा रकम फिर्ता दिन नसकिने भएको हो।

बैंक कार्डबाट किन मिलेन?

नेपाली बैंकहरुले प्रयोग गर्ने डेबिट र क्रेडिट कार्ड विदेशी कम्पनीहरुले निर्माण गरेका हुन्। यी कार्डहरुबाट गरिने खरिदको बिल ट्रयाकिङ गर्न सकिदैंन। सो प्रकृतिको क्षमता हाल सञ्चालित भिसा कार्ड, मास्टर कार्डमा नरहेको विभागका एक प्राविधिकले बताए।

भ्याट फिर्ता प्रणाली तत्कालै (रियल टाइम) फिर्ता दिनुपर्ने प्रणाली हो।विभागले गरेको अध्ययनमा मोबाइल बैंकिङ र इ-पेमेन्टबाट गरिने भूक्तानीमा फिर्ता दिन सजिलो हुने देखिएको छ।

राष्ट्र बैंकबाट मान्यता प्राप्त विद्युतिय भुक्तानी कम्पनीबाट भूक्तानी गर्दा तत्कालै फिर्ता गर्न सकिने देखिएको हो। अहिले पनि विभिन्न कम्पनीले युटिलिटी पेमेन्ट गर्दा तत्कालै क्यासब्याक दिने गर्छन्। नेपाली बैंकहरुले सञ्चालनमा ल्याएको डेबिट र क्रेडिट कार्डहरुबाट गरिने खरिदमा भ्याट फिर्ता दिन राष्ट्र बैंकले नै प्रणाली विकास गर्नुपर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ।    

यसरी हुन्छ पैसा फिर्ता

यो प्रणाली कार्यान्वयनमा आएपछि कुनै व्यक्तिले आफूले खरिद गरेको सामानको  भुक्तानी कार्डबाट गरे कुल भ्याटको १० प्रतिशत रकम सो व्यक्तिको खातामा फिर्ता हुनेछ।

यो तत्कालै (रियल टाइम) फिर्ता हुने प्रणाली हो। उदाहरणका लागि कुनै एक ग्राहकले डिपार्टमेन्टल स्टोरबाट १ हजारको सामान खरिद गर्दा १३० रुपैंयाँ भ्याट तिर्नुपर्छ। भ्याटसमेत जोडिएर आउने बिलको भुक्तानी कार्डबाट भए उसको खातामा कूल भ्याटको १० प्रतिशत अर्थात १३ रुपैंयाँ सो व्यक्तिको बैंक खातामा फिर्ता हुनेछ।

यो व्यवस्था कार्यान्वयनमा आएसँगै उपभोक्ताको लागत १.३ प्रतिशतले सस्तो हुन्छ। यो व्यवस्थाबाट बिल लिने बानी विकास भएर भ्याटमा कम्प्लाएन्स बढाउन सहयोग गर्ने विश्वास सरकारको छ।