BIZMANDU
www.bizmandu.com

राजनीतिक कनेक्सनबाट ठेक्का पार्ने पप्पुको ओरालो यात्रा, तीनकुने आर्क ब्रिजको ठेक्का तोडियो

२०७६ कात्तिक २७

राजनीतिक कनेक्सनबाट ठेक्का पार्ने पप्पुको ओरालो यात्रा, तीनकुने आर्क ब्रिजको ठेक्का तोडियो
राजनीतिक कनेक्सनबाट ठेक्का पार्ने पप्पुको ओरालो यात्रा, तीनकुने आर्क ब्रिजको ठेक्का तोडियो


Tata
GBIME
Nepal Life

काठमाडौं। तीनकुनेको नेटवर्क आर्क ब्रिज निर्माण गर्न नसकेको भन्दै पप्पु कन्स्ट्रक्सनसँग काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले ठेक्का तोडेको छ। पुल निर्माण गुणस्तरहीन भन्दाभन्दै काम नरोकेपछि आयोजनाले ठेक्का तोडेको हो।

आयोजनाका एक अधिकारीका अनुसार पप्पु कन्स्ट्रक्सनले निर्माणको जिम्मा लिएर गुणस्तरहीन काम गरेपछि निर्माण रोक्न आयोजनाले मौखिक निर्देशन दिएको थियो। तर पप्पुले आयोजनाको निर्देशन लत्याउँदै निर्माण कार्य अघि बढायो। फर्मा बाँधेर पुलको ढलान गर्ने तयारी गरेपछि आयोजनाले तत्कालै काम रोक्न लिखित निर्देशन दिएको थियो। लिखित निर्देशन पाएपछि पप्पुले काम रोकेको थियो।

निर्माणाधीन उक्त पुलमा जमिनमुनी २९ मिटर गहिराईका १६ वटा पाईल निर्माण गरिएको छ। ती पाईलहरु आयोजनाले टेष्ट गरेर हेर्दा एउटा पाईल १६ मिटर गहिरोसम्म मात्रै भेटिएको आयोजनाका सिनियर डिभिजनल इन्जिनियर विश्व विजयलाल श्रेष्ठले जानकारी दिए। उनका अनुसार पाईलमा समस्या भेटिएपछि गुणस्तर र अन्य पक्षको परीक्षणका लागि पुल्चोक इन्जिनियर कलेजलाई जिम्मा दिईएको थियो। स्वतन्त्र रुपमा अध्ययन हुने भन्दै तेस्रो पक्षलाई जिम्मा  दिईएको हो।

पुल्चोकले उक्त प्रतिवेदन तयार पारेर आयोजनालाई बुझाईसकेको छ। प्रतिवेदनमा पनि एउटा पाईल १६ मिटर मात्रै रहेको उल्लेख गरेको छ। कम गहिराई भेटिएको पाईलको छेउमा अरु दुईवटा पाईल निर्माण गरेर बाँकी काम गर्न सकिने उल्लेख गरिएको छ। तर त्यसरी दुईवटा पाईल राख्दा जग बलियो हुँदैन। सोही कुरालाई मध्यनजर गर्दै आयोजनाले तत्कालै भत्काएर काम सुरु गर्न निर्देशन दिएपनि अटेर गरेपछि ठेक्का तोडिएको आयोजनाका एक अधिकारीले जानकारी  दिए ।

'यसरी अलपत्र पुल कति दिन हेरेर बस्ने।' ती अधिकारीले भने 'विगारेको काम त आफैले जिम्मेवारी लिएर गर्नुपर्यो। कुनै अप्सन नरहेपछि ठेक्का तोडेका हौ।' बारम्बार ताकेता गर्दा पनि काम सुरु गर्नुको साटो आर्विटेसनमा जाने, अदालत जाने, राजनीतिक शक्ति धाएर काम अघि बढाउन खोजेपछि आयोजनाले ठेक्का तोडेको हो।

आयोजनाका अनुसार ठेक्का तोडेर सडक विभागलाई स्वीकृतिका लागि पठाईएको छ। एक अधिकारीका अनुसार केही दिनमै ठेक्का तोड्ने निर्णय स्वीकृत भएर आउने छ। त्यसपछि नयाँ ठेक्का मार्फत काम पुन: सुरु गराउने ती अधिकारीले बताए। योसंगै ठेक्का लगाईएको विजुलीको बजारको एउटा पुल निर्माण भएर संचालनमा आईसकेको छ। भने अर्को पुल छिट्टै तयार हुने अवस्थामा पुगेको छ।

तर तीनुकने र बानेश्वरलाई जोड्ने विद्यमान पुलको दायाँ र बायाँ दुई वटा पुल निर्माणको जिम्मा पप्पुले पाएको थियो। बायाँपट्टिको पुलको बल्लतल्ल २५ प्रतिशत काम भएपनि अहिले रोकिएको छ।

दायाँतिर पाईल टेष्ट भएको थियो। पप्पुलाई यो पुल निर्माणको जिम्मा २०७१ असारमा दिएको थियो। डिजाईन एण्ड विल्ड प्रक्रियाबाट गर्ने गरि २०७५ असार मसान्तसम्ममा निर्माण पूरा गर्नुपर्ने सम्झौंतामा थियो। डिजाईन एण्ड विल्ड प्रकृया निर्माण गर्दा ठेकेदार कम्पनी आफैले डिजाईन ड्रईङ गर्नुपर्छ। उक्त डिजाईन सम्वन्धित ठेक्का लगाउने कार्यालयबाट स्वीकृत गराएर निर्माण अघि बढाउनुपर्छ।

बैंक ग्यारेन्टी जफत

यो पुलमा राखेको बैंक ग्यारेन्टी समेत जफत भएको छ।आयोजनाले बैक ग्यारेण्टी जफत गर्न बैकलाई पत्राचार गरेपछि पप्पुले रोकी पाँउ भन्दै सर्वोच्च अदालतमा मुद्दा हालेको थियो।

सर्वोच्चले आयोजनाको पक्षमा फैसला गरेपछि बैक ग्यारेण्टी जफत गरेको थियो। एउटा बैकबाट १ करोड ७५ लाख र अर्कोबाट ९२ लाख रुपैयाँ गरि २ करोड ६७ लाख रुपैयाँ जफत गरिएको आयोजनाका अधिकारीले जानकारी दिए । आयोजनाले करिव २१ करोड रुपैयाँ लागतमा निर्माण गर्न लागेको यो पुलको ६ करोड कम्पनीलाई भूक्तानी समेत दिईसकेको जनाएको छ।