BIZMANDU
www.bizmandu.com

शेयर बजारमा लगानीकर्ता बढाउन बर्षेनी करौडौ रुपैयाँ खर्च, ‘घुमघाम र मोजमस्तिमा बजेट खर्च’ 

२०७६ कात्तिक २६

शेयर बजारमा लगानीकर्ता बढाउन बर्षेनी करौडौ रुपैयाँ खर्च, ‘घुमघाम र मोजमस्तिमा बजेट खर्च’ 
शेयर बजारमा लगानीकर्ता बढाउन बर्षेनी करौडौ रुपैयाँ खर्च, ‘घुमघाम र मोजमस्तिमा बजेट खर्च’ 

Tata
GBIME
Nepal Life

काठमाडौँ। शेयर बजारमा लगानीकर्ता बढाउन बर्षेनी करौडौं रुपैयाँ खर्च गरिए पनि त्यो 'वालुवामा पानी' जस्तो देखिएको छ। 

लगानीकर्ता बढाउन गरिएको खर्च प्रभावकारी नहुँदा लगानी खेर गएजस्तो भएको हो। लगानीकर्ता बढाउन केन्द्रदेखि स्थानीय तहसम्म  प्रशिक्षण कार्यक्रमहरु आयोजना गरिँदै आएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले प्रकाशित गरेको लगानीकर्ताको तथ्याङ्क हेर्दा नतिजा ल्याउनभन्दा पनि 'खर्चका लागि खर्च' गर्दा लगानीकर्ता नथपिएको देखिन्छ।
 
शेयर बजारमा नयाँ लगानीकर्ता मात्रै नथपिएका होइनन्, पुराना लगानीकर्ताले समेत कारोबारको लागि ग्राहक पहिचान विवरण (केवाइसी) अध्यावधिक गरेका छैनन्। 

गत वर्षको साउन अघिसम्म नेप्सेमा कारोबारको लागि करिब साढे १२ लाख लगानीकर्ता आबद्ध थिए। नेपाल धितोपत्र बोर्डले त्यसपछि केवाइसी अध्यावधिक गरेर मात्रै कारोबार गराउन निर्देशन दिएको थियो। त्यसयता वर्ष दिन बितिसकेको छ, तर नेप्सेमा पहिले नै आबद्ध भएका लगानीकर्ताले समेत केवाइसी अद्यावधिक गरेका छैनन्। 

हाल नेप्सेमा कारोबारका लगि करिब तीन लाख मात्रै लगानीकर्ता आबद्ध छन्। साउ अघि करिब साढे १२ लाख लगानीकर्ता कारोबारका लागि आबद्ध रहेका थिए। 

गत वर्षको साउनअघि धेरैजसो लगानीकर्ता दोहोरिएकाले लगानीकर्ता कम भएको नेप्सेका अधिकारीहरू बताउँछन्। उनीहरु नै फेरि ७५ प्रतिशत लगानीकर्ता छाँटिनुलाई शंकाका रुपमा पनि हेर्छन्।

'दोहोरिएका लगानीकर्ता केवाईसी अध्यबधिक गर्दा छनौटमा परेकै हुन् तर ७५ प्रतिशत लगानीकर्ता नछाँटिनु पर्ने हो?' ती अधिकारीले भने। 

पछिल्लो समय बजार घट्ने क्रम सुरु हुनु र बजार घट्दै जाँदा लगानीकर्ताको बजारप्रति निराशा बढ्दै जानुले उनीहरू कारोबारमा नफर्किएको ती अधिकारीको भनाई छ। 

'बिस्तारै लगानीकर्ता फर्किरहेका पनि छन्। किनकी दैनिक केवाइसी अध्यावधिक गर्ने पनि छन्, ती अधिकारीले भने। उनले पुराना लगानीकर्ता कारोबारमा फर्किरहेको दाबी गरिरहँदा ७५ प्रतिशत लगानीकर्ता कारोबारबाट हराएको नेप्सेकै तथ्याङ्कमा देखिन्छ।

लगानीकर्ता बढाउन नेप्सेले ब्रोकर कम्पनीको शाखा बिस्तारलाई गत वर्ष प्राथमिकतामा राखेको थियो। राजधानी र बाहिर गरेर सातै प्रदेशमा ९९ ब्रोकर कार्यालयबाट सर्वसाधारणले दोस्रो बजारमा शेयर कारोबार गर्न सक्छन्। 

लगानीकर्ता बढाउन ब्रोकर कार्यालयको शाखा बिस्तार गरिएपनि मोफसलमा (आउट अफ स्टेसन) खोलेका कार्यालयमा लगानीकर्ताको उपस्थिति कम हुँदा उनीहरूको शाखा नै घाटामा रहेको आर्यतारा सेक्युरुटिजका निर्देशक रामचन्द्र भट्टराईले बताए। 

उनका अनुसार, केन्द्रकै कारोबारले शाखा धान्नु पर्ने स्थिति रहेको छ। आर्य ताराको बुटवल र दाङमा रहेका शाखाको खर्च यतिबेला केन्द्रले नै धान्नु परिरहेको भट्टराईले बताए। 

पूँजी बजार निरन्तर घटेको र प्रचारप्रसार कम भएकै कारण लगानीकर्ता आकर्षित हुन नसकेका हुन्। दाङ शाखाबाट दैनिक एक लाख रुपैयाँको समेत कारोबार हुन हम्मे हम्मे पर्ने गरेको छ। दाङ शाखामा कुनै दिन एउटै लगानीकर्ता पनि कारोबारको लागि नआउने गरेको उनलेब ताए। 

'मोफसलमा रहेका ब्रोकरका कुनै पनि शाखा नाफामा छैनन्' उनी भन्छन् 'हामिले त प्रचार गर्नै पाइन्न। नेपाल धितोपत्र बोर्ड र नेप्से लगायतले गरेको प्रचारप्रसार प्रभावकारी देखिएन।' 

नेप्सेले लगानीकर्ता बढाउन र कारोबारको लागि सहजीकरण गर्न भन्दै गत वर्षबाट पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली लागु गरेको छ। तर तुलनात्मक रुपमा यो प्रणालीले पनि लगानीकर्ता बढाउन सकेको देखिँदैन। 

उपत्यकामै केन्द्रित कारोबारलाई मोफसलमा बिस्तार गर्ने गतिलो माध्यमका रूपमा लिएको अनलाइन प्रणालीको प्रचारप्रसार नगर्दा लगानीकर्ता आकर्षित नभएको नेपाल इन्भेष्टर फोरमका उपाध्यक्ष तुलसीराम ढकालले बताए। वर्षमा एक दिन गएर झारा टार्ने प्रवृत्तिको कार्यक्रम र प्रचारप्रसारले कुनै अर्थ नराख्ने उनको तर्क छ। 

'स्थानीय सञ्चार माध्यम, जन प्रतिनिधि र प्रदेशस्तरमा शाखा नै खोलेर प्रभावकारी ढङ्गले प्रचार प्रसार नगरेसम्म लगानीकर्ता बढ्दैनन्,' उनले भने। 

अनलाइन प्रणालीको ९० प्रतिशतभन्दा बढी प्रयोगकर्ता केन्द्रमै रहेका छन्। नेप्सेको विवरण अनुसार मोफसलमा अनलाइन प्रयोगकर्ता १० प्रतिशत पनि छैनन्। एक वर्षको अबधिमा अनलाइन प्रयोगकर्ता जम्मा १६ हजार २३४ पुगेका छन्। जसमा ९० प्रतिशतभन्दा बढी प्रयोगकर्ता उपत्यकामै छन्।

ब्रेकर कम्पनीले नै उपत्यका र मोफसलमा अनलाइन प्रयोगकर्ता बढाउन नसकेको उल्टो आरोप नेप्सेका अधिकारी लगाउँछन्। 'हामीले विश्वस्तरको प्रणाली दिएका छौ। प्रयोगकर्ता बढाउने जिम्मेवारी ब्रोकर कम्पनीको हो। जसमा उनीहरूले प्रभावकारी ढङ्गले काम गर्न सकिरहेका छैनन्' ती अधिकारीले भने। 

दोस्रो बजारमा लगानीकर्ता बढाउन नियामक निकाय धितोपत्र बोर्ड, नेप्से, केन्द्रीय निक्षेप प्रणाली र बेलाबेलमा ब्रेकर कम्पनीहरूले समेत लगानीकर्ता प्रशिक्षण कार्यक्रम गर्दै आएका छन्। 

नेप्सेले मात्रै कर्मचारी र लगानीकर्तालाई तालिम दिन वार्षिक ५० लाखभन्दा बढी खर्च गर्ने गरेको उसको वार्षिक प्रतिवेदनमा देखिन्छ। गुणस्तर र कारोबार वृद्धि गर्नको लागि भन्दै कर्मचारीलाई स्वदेश तथा विदेशको भ्रमण गराएको खर्च जोड्ने हो भने नेप्सेको मात्रै वार्षिक खर्च एक करोडभन्दा माथि पुग्छ। उता बोर्ड, सिडिएससी र ब्रेकर कम्पनीले गर्ने प्रचारप्रसार, तालिम र भ्रमणमा छुट्टै खर्च गर्ने गर्ने गरेका छन्। 

उनीहरूले गर्ने तालिम र प्रचारप्रसार झारा टार्ने प्रवृत्तिको हुने गरेकोले प्रभावकारिता नदेखिएको लगानीकर्ताहरूले बताउने गरेका छन्। वास्तविक रूपमा लगानीकर्ता बढाउनै भनेर उनीहरूले कार्यक्रम नगर्ने गरेका आरोप लगानीकर्ताको छ। घुमघाम गर्न र बजेट सिध्याउनका लागि कार्यक्रम गर्ने गरेको आरोप लाग्ने गरेको छ।