BIZMANDU
www.bizmandu.com

अर्थमन्त्रीबाट खतिवडा हट्ने ‘हल्ला’ ले शेयर बजारको चमक फर्कियो, आधा अर्बभन्दा बढिको किनबेच 

२०७६ कात्तिक २५

अर्थमन्त्रीबाट खतिवडा हट्ने ‘हल्ला’ ले शेयर बजारको चमक फर्कियो, आधा अर्बभन्दा बढिको किनबेच 
अर्थमन्त्रीबाट खतिवडा हट्ने ‘हल्ला’ ले शेयर बजारको चमक फर्कियो, आधा अर्बभन्दा बढिको किनबेच 



काठमाडौं। अर्थमन्त्रीबाट डा. युवराज खतिवडा हट्ने हल्लाले शेयर बजारमा हरियाली छाएको छ। निरन्तर कारोबार र सुचक घट्दै आएको बजारमा सोमबार आगोसरी फैलिएको खतिवडा हट्ने हल्लाले सुचक उक्लिएको छ।

Tata
GBIME
Nepal Life

प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार आफ्नो सचिवालयका सम्पुर्ण सल्लाहकार तथा सहयोगीलाई राजिनामा दिन निर्देशन दिएका थिए। त्यसपछि आइतबार साँझबाट खतिवडासहित अन्य मन्त्रीहरु हट्ने हल्ला फैलिएको छ। 

राष्ट्र बैकको गभर्नर हुँदादेखि खतिवडा शेयर बजारप्रति अनुदार रहेको लगानीकर्ताहरुको टिप्पणी छ। अर्थमन्त्री भएपछि शेयर बजारप्रति नकारात्मक धारणा राखेको आरोप पनि उनीहरुले लगाउने गरेका छन्। राष्ट्र बैंकको छवीका कारण उनी अर्थमन्त्री हुँदा बजारमा असर देखिएको थियो। खतिवडा मन्त्री हुनुअघिबाटै बजार घटिरहेको थियो। तर उनी मन्त्री भएपछि बजार घट्ने क्रमले झन् तीब्रता पाउन थाल्यो। त्यसैले पनि लगानीकर्ता उनलाई अनुदार ठान्छन्।

'खतिवडाका कारणले बजार घटेको होइन। तर मनोविज्ञान यस्तो बन्यो कि खतिवडा हुन्जेल बढ्दै बढ्दैन भन्ने' एक लगानीकर्ताले सुनाए, 'त्यही भएर अर्थमन्त्रीबाट हट्ने हल्ला चल्दा पनि शेयर बजारमा उत्साह देखिएको छ।'
 
बजारमा सँधै पैसाले मात्रै काम नगर्ने तर्क दिँदै एक विश्लेषकले भने- बजारमा ‘लगानीकर्ताको मानसिकता र कन्फिडेन्सले पनि काम गर्छ।’ अहिलेको अवस्थामा बजार घट्नु पर्ने कुनै पनि कारण छैन तर अर्थमन्त्री खतिवडाप्रति लगानीकर्ताको अविश्वासकार कारण बढ्न सकेको छैन। 

बजार विश्लेषक सुरज अधिकारीका अनुसार, अर्थमन्त्रीले प्रत्यक्ष रुपमा बजार प्रति कुनै पनि नकारात्मक काम गरेका छैनन् तर पनि उनको वहिर्गमनले शेयर बजारलाई थप एक/दुई सयको टेवा पुग्ने छ।
सोमबारको शेयर बजार सुधारका लागि केहि हदसम्म एनएमबी बैंकको शेयरले पनि टेवा पुर्याएको छ। बैंकको बम्पर लाभांस घोषणा गरेपछि मूल्य र कारोबार रकम दुबै बढेको छ। बजारमा बैंकिङ तरलताको अभाव हुँदा शेयर मूल्य बढ्न नसकेको विश्लेषण हुँदै गर्दा एनएमबी बैंकको लाभांस र पूँजीगत लाभ पाउन लगानीकर्ताले करोडौ रुपैयाँ जुटाउन सकिरहेका छन्। 

तीन दिनमा एनएमबीको मात्रै २७ करोड रुपैयाँको कारोबार भैसकेको छ। 'लगानीकर्ताहरुसँग पैसा नभएर कारोबार नभएको होइन। बजारमा लगानी गरेपछि नाफा सुनिश्चित नहुने आशङ्काले कारोबार नभएको हो,' अधिकारी भन्छन्। 

सोमबार अन्यको सूचक बाहेक सम्पुर्ण सूचक तथा उपसूचक सुधार देखिएका छन्। बाणिज्य बैंकको सूचक बढ्दा समग्र नेप्सेकै सूचकमा सुधार आएको हो। बाणिज्य बैंकहरुको सूचक १.१८ प्रतिशतले बढेको छ। 

नेप्से सूचक १३.७७ अंकले सुधार हुँदा ११४५.५७ अंकमा रोकिएको छ। एनएमबी बैंकको मात्रै १३ करोड ९२ लाख रुपैयाँको कारोबार हुँदा कुल कारोबार ५४ करोड ९९ लाख रुपैयाँ नाघेको छ। 

बजारमा उछाल आउँदा ५ वटा कम्पनीमा सर्किट लागेको छ। हिमालयन डिस्ट्रिलरी, सबैको लघुवित्त, रिडी हाइड्रोपावर, आखु खोला हाइड्रोपावर र राधी विद्युत कम्पनीको शेयर मूल्य बढ्ने क्रममा सर्किट लागेको हो।