BIZMANDU
www.bizmandu.com

विराटनगरको एकीकृत जाँचविन्दु संचालनका तयार, केही दिनमै उद्घाटन गर्ने तयारी

२०७६ कात्तिक २२

विराटनगरको एकीकृत जाँचविन्दु संचालनका तयार, केही दिनमै उद्घाटन गर्ने तयारी
विराटनगरको एकीकृत जाँचविन्दु संचालनका तयार, केही दिनमै उद्घाटन गर्ने तयारी

Tata
GBIME
Nepal Life

काठमाडौं। विराटनगरको बुधनगर भेडियारीमा भारतीय सहयोगमा निर्मित एकीकृत जाँचविन्दु(आइसिपी) कुनैपनि बेला उद्घाटन भएर सञ्चालनमा आउने सरकारी अधिकारीले बताएका छन्।

आइसिपीको सरोकारवाला निकाय संघिय आयोजना कार्यान्वयन एकाइका इन्जिनियर राजु शर्माले आइसिपी उद्घाटनका लागि तयार अवस्थामा रहेको जानकारी दिएका हुन्।‘नेपालको इन्टरमोडल कार्यालय र भारतीय ठेकेदारको टोलीले आइसिपीको पटक–पटक भ्रमण गरिसकेको छ र संयुक्त टोलीले काम पूरा भइसकेको प्रतिवेदन पनि बुझाइसकेको छ’, इन्जिनियर शर्माले भने, ‘दशैँतिहार सकिने बित्तिकै यसको उद्घाटन गरिने कुरा थियो। सम्भवतः दुई मुलुकबीचको कुरा भएकाले आवश्यक प्रक्रियामा होला।’

नेपाल तर्फको आइसिपी १ सय २९ बिघा क्षेत्रफलमानिर्माण गरिएको छ। भारतीय ठेकेदारद्वारा भारु १ सय करोडको लगानीमा कुल २ वर्ष ६ महिनाको समयमा यसको निर्माण गरिएको हो। भारततर्फको आइसिपी ३ वर्ष अगाडि नै सञ्चालनमा आइसकेको छ। नेपालमा जमिनको मुआब्जा विवादमा समय धेरै लागेकाले जमिन बेलामा हस्तान्तरण हुननसकेर आइसिपीको निर्माण लम्बिएको हो।

आइसिपीभित्र मुख्य भवन, डिस्पेन्सरी, इलेक्ट्रिकल सबस्टेसन, कस्टम्स बिल्डिङ, सशस्त्र प्रहरीको सुरक्षा ब्यारेक, मालवाहक सवारीका चालक र सहचालकका लागि डोरमेटरी र क्वारेन्टाइनका छुट्टाछुट्टै ८ वटा भवन छन्।यसबाहेक ४ वटा वाच टावर, २ वटा वेयर हाउस, २ वटा इम्पोर्ट एक्स्पोर्ट प्रोसेसिङ सेड र ८० टन क्षमताका २ वटा धर्मकाँटा छन्।

आइसिपीको क्षेत्रभित्र कालोपत्रे सडकमात्र ९ किलोमिटर बनाइएको छ। आइसिपी र धरान–विराटनगर सडक जोड्न साढे ४ किलोमिटरको छुट्टै सडक (लिङ्क रोड) पनिभारतीय सहयोगमा निर्माण गरिएको छ। नेपाल सरकारले यसकालागि ४० बिघा जमिन अधिग्रहण गरेको थियो। आइसिपीको सञ्चालनपछि आयातनिर्यातमा धेरै सहजीकरण हुने विश्वास गरिएको छ।