BIZMANDU
www.bizmandu.com

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि सरकारले लियो विश्व बैंकसँग १३ अर्ब ६२ करोड ऋण

२०७६ कात्तिक २१

Tata
GBIME
Nepal Life

काठमाडौं। सरकारले युवा रोजगारी प्रवर्दन गर्ने उद्देश्यसहितको रूपान्तरण पहल परियोजनाका लागि विश्व बैंकबाट प्रस्ताव भएको करिब १३ अर्ब ६२ करोड (१२० मिलियन अमेरिकी डलर) बराबरको सहुलियतपूर्ण ऋण सहायता लिने निर्णय गरेको छ।

मन्त्रिपरिषद्को हालै बसेको बैठकले ऋण स्वीकार गर्ने निर्णय गरेको हो। सरकारले सहुलियतमा लिने भनिएको यो ऋण कार्यकर्ता पोसेको आरोप लागेको प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि लिइएको हो।

 चार वर्षको अवधिमा खर्च गर्नेगरि यो ऋण लिइएको हो। प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत झारपात उखेल्न, सडक सफा लगायतको काम गरेर कार्यकर्तालाई पैसा बाँडिएको थियो।

दीर्घकालिन परियोजनाका लागि अन्तर्राष्ट्रिय दाताबाट ऋण लिने गरिएपनि अहिले भने कार्यकर्ता पोस्ने हिसाबले ल्याइएको रोजगार कार्यक्रमका लागि ऋण लिइएको हो। प्रधानमन्त्री रोजगार कार्यक्रमको उदेश्य वैदेशिक रोजगारीमा जानेलाई निरुत्साहित गर्न ल्याइएको भनिएपनि यो कार्यक्रमले त्यस्ता वर्गलाई छुन सकेको छैन।

अहिलेसम्म पनि यो कार्यक्रमको कार्यविधि समेत बनाइएको छैन। यो कार्यक्रमको अहिलेसम्म मापदण्ड बनेको छैन। कुनै मापदण्ड नबनाई आफूखुशी जस्तोसुकै श्रम गरेर पैसा बाँड्न छुट दिइएको छ। बजेटमा चालु आर्थिक वर्ष ५ अर्ब १ करोड रुपैयाँ विनियोजन गरिएको थियो।