BIZMANDU
www.bizmandu.com

चार ब्रुअरीले पाए क्षमता बढाउने स्वीकृति, क्षमता विस्तारका लागि अर्बौ लगानी गर्दै

२०७६ कात्तिक २१

चार ब्रुअरीले पाए क्षमता बढाउने स्वीकृति, क्षमता विस्तारका लागि अर्बौ लगानी गर्दै
चार ब्रुअरीले पाए क्षमता बढाउने स्वीकृति, क्षमता विस्तारका लागि अर्बौ लगानी गर्दै

Tata
GBIME
Nepal Life

काठमाडौं। बजार हिस्सा बढेपछि चार वटा ब्रुअरीले उत्पादन क्षमता बढाउने भएका छन्। ती उद्योगको क्षमता विस्तारका लागि सरकारले प्रारम्भिक स्वीकृति दिएको छ।

उद्योग मन्त्रालय अन्तर्गत औद्योगिक तथा लगानी प्रवर्द्धन बोर्डले ती ब्रुअरीहरुलाई उत्पादन क्षमता वृद्धि गर्न स्वीकृति दिएको हो।बोर्डको कार्तिक १६ गते बसेको बैठकले कम्पनीहरुलाई क्षमता वृद्धि गर्न स्वीकृति दिएको मन्त्रालयले जनाएको छ। बोर्डले सिजी ब्रुअरी प्राली, यति ब्रुअरी प्राली, हिमालयन ब्रुअरी प्राली र टाइगर ब्रुअरी प्रालीलाई क्षमता वृद्धिको अनुमति दिएको जनाएको छ।

यी सबै उद्योगले बजार हिस्सा बढाउन आक्रामक योजना समेत ल्याएका छन्। पछिल्लो समयमा वियर बजार पनि बढेकोले क्षमता विस्तारमा उद्योगहरु लागेका हुन्। क्षमता विस्तारका लागि चारवटै उद्योगले पूर्वाधार थप गरिसकेका छन्। राम्रो बजार बढाएका कम्पनीले भने ठूलै लगानी समेत गरेका छन्।

क्षमता वृद्धिको अनुमति पाएका कम्पनीहरुलाई अब उद्योग विभागको टोलीले अनुगमन गर्नेछ। चारै कम्पनीले गरेको प्रस्तावको प्रारम्भिक स्वीकृति पाएको हो। सबै कम्पनीको स्थलगत अध्ययन गरी प्राविधिक प्रतिवेदन तयार हुनेछ।

प्रतिवेदनका आधारमा अन्तिम स्वीकृति दिने विभागले जनाएको छ। यसका लागि करिब ४ महिना लाग्ने विभागका निर्देशक प्रेम लुइटेलले जानकारी दिए। अहिले यी कम्पनीहरुले मागेको पुँजी वृद्धि अनुमति प्रारम्भिक चरणमा स्वीकृति भएको पनि उनले बताए।

'अब कम्पनीहरुले पेश गरेको प्रस्ताव अध्ययन गरी कतिसम्म स्वीकृति दिने भन्ने निर्णय गर्नेछौं',- लुइटेलले भने।

क्षमता थपको अनुमति पाएपछि हिमालयन ब्रुअरीको क्षमता ८० हजार हेक्टोलिटर बाट बढेर १ सय ५० हजार हेक्टोलिटर पुग्नेछ। यो कम्पनीबाट आइसवर्ग, काठमाण्डू र कमाण्डो बियर उत्पादन हुँदै आएको छ। यो उद्योग अरुण चौधरीको सिजी होल्डिङले केही समयअघि किनेको हो। यो समूहले किनेपछि आक्रामक बजार विस्तार अघि बढाइरहेको छ। अहिले यो ब्रुअरीको बजार हिस्सा दुई प्रतिशत छ।

अब कम्पनीले उद्योगमा प्राविधिक विस्तारसँगै वातावरणीय प्रभाव मूल्याङ्कनको काम अघि बढाउने कम्पनीले जनाएको छ। यस्तै थाइल्याण्डको टाइगर बियर र भारतको किङसिफर बियर र पछिल्लो समय अर्ना बियर उत्पादन गरिरहेको यति ब्रुअरी प्रालीले पनि क्षमता विस्तार प्रक्रिया सुरु गरेको छ।

सो उद्योगको हाल १ लाख हेक्टोलिटर क्षमता रहेकोमा अब वार्षिक १० लाख हेक्टोलिटरसम्म उत्पादन गर्न सक्नेछ। २०७१ असोजमा चितवनको खैरेनीमा उद्योग स्थापना गरी उत्पादन गरिरहेको छ। यो कम्पनीमा सुरुवाती लगानी १ अर्ब २१ करोड रुपैयाँ रहेको थियो। क्षमता थपसँगै उद्योगमा पनि लगानी थप भएको कम्पनीले जनाएको छ।

यसैगरी सिजी ब्रुअरीले हाल मासिक २ लाख ५० हजार कार्टुन बियर उत्पादन गरिरहेकोमा अब मासिक ७ लाख ५० हजार कार्टुन बियर उत्पादन गर्न सक्नेछ। चौधरी समूहको सिजीले झण्डै दुई अर्ब लगानी गरेर ब्रुअरीको क्षमता विस्तार गरेको छ। चौधरीग्राम नवलपरासीमा रहेको उद्योगमा अत्याधुनिक प्लान्ट लगाएको छ। यो कम्पनीले नेपाल आइस नामक बियर उत्पादन गर्दै आएको छ। सिजीको १८ प्रतिशत बजार हिस्सा छ।

यस्तै टाइगर्स ब्रुअरी इन्ड्रष्ट्रिज प्रालीले पनि ८० हजार हेक्टोलिटर वार्षिक उत्पादनबाट क्षमता वृद्धि गर्ने अनुमति पाएको छ। यो कम्पनी ०६९ असोज १७ गते स्थापना भएको हो ।

यो कम्पनीको चुक्ता पुँजी ४६ करोड रुपैयाँ रहेको थियो। हाल रुपन्देही जिल्लाको सौफसर्टिकरमा उद्योग स्थापना गरी उत्पादन गरिरहेको छ। यो कम्पनीले टेन्सवर्ग र लण्डन आइस नामक बियर उत्पादन गर्दै आएको छ। कम्पनीले बजार विस्तारका लागि दुईवटा वियर किन्दा एउटा फ्रि दिने गरेको छ।