BIZMANDU
www.bizmandu.com

पोखरामा पर्यटनको अन्तर्कथा: सस्ता पर्यटक आउँदा पोखरामा पर्यटन ओरालो, बैंकको किस्ता तिर्नै कठिन

२०७६ कात्तिक २१

पोखरामा पर्यटनको अन्तर्कथा: सस्ता पर्यटक आउँदा पोखरामा पर्यटन ओरालो, बैंकको किस्ता तिर्नै कठिन
पोखरामा पर्यटनको अन्तर्कथा: सस्ता पर्यटक आउँदा पोखरामा पर्यटन ओरालो, बैंकको किस्ता तिर्नै कठिन

Tata
GBIME
Nepal Life

पोखरा। २ वर्ष पहिला पोखरामा सबैभन्दा चलेको उखान थियो ‘आज रोप अर्को वर्ष दोब्बर लगानी उठाऊ’ अझ जग्गा कारोबारमा त यो उखान ठयाक्कै मेल खाने।  

बैंकहरु पनि सामान्य व्यवसायमा करोडौं लगानी गरेर रातारात उच्च नाफा कमाउने मुडमा देखिएका थिए। एकाएक सरकारले लगानीमा नियन्त्रण अझ विशेषगरी जग्गामा हुने लगानीलाई कडाई गर्न थालेपछि यसको प्रत्यक्ष असर पोखरामा देखिएको छ। 

सिजनमा पर्यटक आउलान् र व्याज भएपनि राम्रोसँग तिरेर बैंकहरुलाई थामथुम पारौंला भन्दै लाखौं ऋण लिएका पोखराका व्यवसायीहरुलाई बैंकको ब्याज तिर्नै समस्या परेको छ। किस्ता उठाउन नसक्दा बैंकमात्रै तनावमा छैनन् बैंकको दवावलाई थेग्न नसकेका पर्यटन व्यवसायीहरु पनि तनावमै छन्।

बैंकको ब्याज तिर्न सहकारीबाट महँगो दरमा ऋण लिन भएको पोखरा पर्यटन परिषदका पूर्व अध्यक्ष सुर्य भुजेलले बताए । उनले भने –‘बैंकको १२ प्रतिसतको व्याज तिर्न हामीले सहकारीबाट २४ प्रतिशतमा पुन लोन लिएका छौं , यो अवस्था अबको छ महिना रहने हो भने अर्को वर्ष २० भन्दा बढी ठूला व्यवसायीहरु पलायन हुन्छन्।‘

पश्चिमाञ्चल होटल संघका पूर्व अध्यक्ष हरि शर्माका अनुसार प्रतिस्पर्धी बजारका कारण लगानी बढ्ने तर अस्वस्थ्य प्रतिस्पर्धाकै कारणले सस्तोमा कोठा लगायत खाना वेच्नु पर्ने कारणले व्यवसायीहरु आन्तरिक रुपमा समस्यामा परेका छन्।

उनले भने–‘बैंक, सरकार र हामीबीचको असमझदारीका कारण एक दर्जन भन्दाबढी व्यवसायीहरुले ऋण तिर्न नसकेका कारण व्यवसायबाट पलायन भएका छन्।‘

होटल संघका वर्तमान अध्यक्ष बिकल तुलाचनको धारणा पनि उस्तै छ। उनी भन्छन्–‘पोखराको लेकसाईडका अधिकांश व्यवसायीहरु बैंकबाट ऋण झिकेर संचालनमा आएका हुन् तर पर्यटकीय गतिविधी नबढेका कारण किस्ता तिर्न अप्ठेरो पर्न थालेको छ।‘

पर्यटनकै क्षेत्रमा डेढ अर्बभन्दा बढी लगानी गरेको एनआईसी एशियाका गण्डकी प्रदेश प्रमुख दिपेन्द्र शर्माका अनुसार पछिल्लो त्रैमासिकमा व्यवसायीहरुलाई किस्ता र व्याजमा केहि समस्या परेको छ। 

उनले भने–‘पछिल्लो दुई महिनासम्ममा व्यवसायीहरुलाई व्याजमात्रै तिर्न पनि निकै समस्या परेको जस्तो देखिन्छ तर हामीले व्यवसायमा कुनै कमी आएको जस्तो देखेका पनि छैनौं।‘

 उनका अनुसार व्यवसायीहरुले बढी नाफा कमाउने सोचले वैंकले गरेको लगानीलाई अन्यत्र स्थानान्तरण गरेको हो कि जस्तो भान परेको छ। उनले अप्रत्यक्ष रुपमा व्यवसायीहरुले बढी नाफा कमाउन जग्गामा लगानी गरे तर जग्गामा आएको मन्दीले गर्दा व्याज पनि तिर्न नसकेको बताए। 

सांग्रिला बैंकका रिजनल प्रमुख दिपेन्द्र सुवेदीले पनि व्यवसायीले बैंकवाट लिएको ऋणलाई अन्यत्र लगानी गरेको अवस्था देखिएको बताउँछन्। उनले भने–‘व्यवसायीले लगानी गर्दा लगानी र आम्दानीको अनुपातको अनुमान नगरी हामफाल्दा समस्या आएको हुन सक्छ।‘

पर्यटन व्यवसायी गोपाल भुषालका अनुसार बैंकहरुले ऋण दिँदा कम व्याज र त्यसपछिका प्रत्येक दिन जसो आन्तरिक रुपमा बढाउने व्याजलाई थेग्न नसकेका कारण पनि व्यवसायीहरु समस्यामा पर्न थालेका छन्।

उनले भने–‘सुरुमा ऋण लिँदा १० देखि ११ प्रतिशत हुन्छ तर अर्को वर्ष ऋण नविकरण गर्न जाँदा  व्याज बढेर १६ प्रतिशतसम्म पुग्छ अनि कसरी हुन्छ ?” हामीलाई थाहै नदिई व्याज बढाउँछन्।‘

व्यवसायी हरि शर्माले भने –‘आय घट्ने  व्याज बढ्ने अनि बैंकहरु व्याजको व्यापार गर्ने त्यसपछि व्यवसायीहरु पलान नभए के हुने त ?’ कस्तो अचम्म मैले तिर्ने व्याजको दर कति छ मलाई नै जानकारी नदिई बैंकहरुले बढाउने गरेका छन्। उनले भने–‘पूर्ण क्षमतामा व्यवसाय संचालन हुँदा १५ प्रतिशतभन्दा बढी नाफा हुँदैन तर बैंकहरुको व्याजनै १६ प्रतिशत हुन्छ अनि कसरी हामीले बैंकको व्याजमा व्यवसाय गर्न सक्छौं?’

यहि अवस्था निरन्तर रह्यो भने व्यवसायीहरु पलायन हुनुपर्ने अवस्था आउने पर्यटन व्यवसायी सुर्य भुजेल बताउँछन्। उनी भन्छन् –‘लगानीको कुरा जटिल छ व्यवसायीहरुलाई बैंकिङ सिस्टम राम्रो छैन बैंकको व्याज चर्को छ।‘  सरकार केन्द्र, प्रदेश, स्थानिय निकाय अनि अस्वाभाविक वैंकको व्याजलाई व्यवस्थापन नगर्ने हो भने ६ महिना भित्र नाम चलेका धेरै व्यवसायीहरु पलायन हुने पनि उनले दावी गरे।

कतिपय व्यवसायीहरुले नियमित व्याज र ऋण तिर्न नसक्दा जग्गा बेचेर ऋण तिरेको पनि एनआईसी एशियाका प्रदेश प्रमुख शर्माले  जानकारी दिए। गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द ढकालका अनुसार आन्तरिक पर्यटक घटेका कारण केही समस्या भएको देखिन्छ। तर आफ्नो बैंकमा भने त्यस्तो समस्या नभएको उनको भनाई थियो। 

पोखराका पर्यटकीय होटलमा लगानी गर्ने बैंकहरुको व्याजदर अधिकतम १६ प्रतिशत सम्म छ। यसकारण व्यवसायीले ब्याज तिर्न नसकेको तुलाचनको भनाई छ। तुलाचनले माग गरे-‘प्रदेश सरकार र स्थानीय सरकारले हामीलाई सहज हुने गरी बैकिङ नियम बनाइ दिनुपर्यो। नत्र हामी धेरै समय यहाँ टिक्न सक्दैनौँ। बैंकले पर्यटन आएनन् अलि समय कुर्नुपर्यो भनेर मान्दैनन्।‘

लेकसाइडमा अहिले दैनिक २० डलर भन्दा कम खर्च गर्ने पर्यटन व्यवसायी गणेश थापा बताउँछन्। महँगा पर्यटकहरुलाई पोखरा भित्र्याउन नसक्ने हो भने समस्याले विकराल रुप लिने व्यवसायीहरु दावी गर्छन्।