BIZMANDU
www.bizmandu.com

राष्ट्र बैंकले ल्याएको घर कर्जा स्किमबाट कसरी उठाउने फाइदा? ठग्दैछ भन्ने लागे उजुरी गर्नुस्

२०७६ कात्तिक २०

राष्ट्र बैंकले ल्याएको घर कर्जा स्किमबाट कसरी उठाउने फाइदा? ठग्दैछ भन्ने लागे उजुरी गर्नुस्
राष्ट्र बैंकले ल्याएको घर कर्जा स्किमबाट कसरी उठाउने फाइदा? ठग्दैछ भन्ने लागे उजुरी गर्नुस्



काठमाडौं। नेपाल राष्ट्र बैंकले ‘फर्स्ट होम बायर’ का लागि ठूलै राहत प्याकेज ल्याएको छ। राष्ट्र बैंकले धितो मूल्यांकनको ७० प्रतिशतसम्म ऋण सुविधा पाइने ब्यवस्था गरेको हो।

Tata
GBIME
Nepal Life

यसअघि काठमाडौंभित्र धितोको ५० र बाहिर ६० प्रतिशतसम्म ऋण पाइन्थ्यो। अब भने जहाँसुकै ७० प्रतिशतसम्म ऋण पाइन्छ। यसले काठमाडौंमा घर बनाउन चाहनेका लागि ठूलो राहत दिन्छ।

ऋणको आकार १ करोड ५० लाख रुपैयाँभन्दा बढि हुनु हुँदैन। घर ३ हजार वर्गफिटभन्दा ठूलो हुनु हुँदैन र ऋणी आँफैले प्रयोग गर्नु पर्ने हुन्छ। घरभाडालाई ऋणीले आम्दानीको स्रोतका रुपमा देखाउन पाउँदैन। 

कति ऋण पाइन्छ?
तपाईँलाई घर बनाउन वा किन्न कति पैसा अपुग हुन्छ? त्यो पैसा १ करोड ५० लाख रुपैयाँभन्दा नबढ्ने गरी बैंकले लगानी गरिदिन्छ। जस्तो तपाईँको धितो मूल्यांकन १ करोडको भयो भने ऋण ७० लाख रुपैयाँसम्म पाइन्छ।

धितो घर बनाउन किनिएको जग्गा वा अन्यत्रको सम्पति पनि राख्न सकिन्छ। तर तपाइँले यसअघि घर किन्न ऋण लिएको हुनु भएन। 

ब्याज किस्ता
कर्जाको ब्याज दर बृद्धि भएमा पूर्व निर्धारित मासिक किस्ता बृद्धि नगरी कर्जा भुक्तानी ब्यवस्था मिलाउन राष्ट्र बैंकले भनेको छ। 

मानौं अहिले बैंकको ब्याज दर ११ प्रतिशत छ। तपाईँलाई ७० लाख ऋण चाहियो २० बर्षका लागि। 

यस हिसाबले आजको मासिक किस्ता ७२ हजार २५३ रुपैयाँ तिर्नु पर्छ। अब बैंकले ब्याज बढाएर १२ प्रतिशत पुर्यायो भने तपाइँको मासिक किस्ता ७७ हजार ७६ रुपैयाँ पुग्छ। अर्थात मासिक भार ४ हजार ८२३ रुपैयाँले बढ्छ।

निष्चित आय भएका जागिरेका लागि  ब्याज बृद्धिले समस्या पार्छ। समस्या नपरोस् भनेर राष्ट्र बैंकले पहिले जति मासिक किस्ता लिने गरेको हो त्यति नै लिनु पर्ने ब्यवस्था गरिदिएको छ। 

बढेको ब्याज बैंकहरुले जसरी पनि उठाउँछन्। अब बैंकले २० बर्षको समयलाई बढाएर २९ बर्षको पुर्याइदिने छ। यसो हुँदा ग्राहकलाई मासिक भार कम पर्छ। तर ९ बर्ष समय बढ्ने बित्तिकै ब्याजको दायित्व भने बढेर जान्छ। 

कसरी लिने घर कर्जा?
घर किन्नका लागि सबैभन्दा पहिले चाहिने कागजात भनेको जग्गाको लालपुर्जा हो। लालपुर्जासँगै तिरो तिरेको रसिद (जुन वडा कार्यालयमा पाइन्छ), निर्माण इजाजत, घरको नक्शापास भएको कागजात पनि बैंकले खोज्छ।

यस्तै, बैंकलाई ब्लू प्रिन्ट र ट्रेस म्याप पनि बुझाउनुपर्छ। तयारी घर किन्न लागेको भए निर्माण सम्पन्न प्रमाणपत्र पनि चाहिन्छ। त्यसपछि बैंकले खोज्ने कागजात ऋण लिने र ग्यारेन्टी बसिदिने व्यक्तिको नागरिकताको फोटोकपी हो।

पासपोर्ट साइजका केही फोटो त जेमा पनि लाग्छ अचेल। बैंकले घर बनाउने वा किन्ने कर्जाका लागि त झन् खोज्छ नै। त्यसपछि तपाईंले बुझाउनुपर्छ– आम्दानीको प्रमाणपत्र।

तपाईं कति कमाउनुहुन्छ भन्ने विवरण आफूले कम गर्ने कम्पनी वा संस्थाबाट लैजानुपर्छ। तपाईंले लगेको विवरणमा बैंकले अझै पनि चित्त बुझाउँदैन। उसलाई आश्वस्त पार्न तपाईंको ६ महिनाको बैंक स्टेटमेन्ट पनि चाहिन्छ।

यी पूर्वतयारीपछि बैंकमा जाँदा सजिलै ऋण पाइन्छ। घर किन्दा बैना दिएको कागजपत्र पनि बुझाउनु पर्छ। यी कागजपत्र भएपछि ब्याज दरमा मोलमोलाई गर्न पनि सजिलो हुन्छ। अहिले बैंकहरूले आधार दरमा २ देखि ४ प्रतिशत प्रिमियम थपेर आवास कर्जा दिइरहेका छन्।

सेवा शुल्कमा पनि मोलमोलाई गरेर खर्च घटाउन सकिन्छ। केही बैंकले आकर्षक कर्जा भनेर विज्ञापन गर्ने तर सेवा शुल्क ४ प्रतिशतसम्म लिएर ठगी पनि गरिरहेका छन्। जसको सेवा शुल्क आधादेखि एक प्रतिशतभन्दा बढि पर्दैन। तपाइँलाई बढि सेवा शुल्क लिन खोजेमा राष्ट्र बैंकमा उजुरी गर्न सकिन्छ। 

बैंकले तपाईंले राख्न चाहेको धितोको मूल्याङ्कन गर्छन्। प्रचलित बजार मूल्य र सरकारी मूल्याङ्कनको भारित औसतका आधारमा धितो राख्न खोजेको सम्पत्ति अर्थात घर र जग्गाको फेयर मार्केट भ्यालु निकाल्छ बैंकले। त्यसपछि ७० प्रतिशतसम्म ऋण दिन्छन्। तपार्इंको आम्दानी निश्चित र नियमित छ भने चुक्ता गरिसक्छु भन्ने लागेको मितिभन्दा एक–दुई वर्ष बढी अवधिको ऋण लिँदा पनि हुन्छ। वा नयाँ ब्यवस्थाले तपाइँलाई ब्याज भार नपर्ने गरी बैंकले किस्ता समय आँफै बढाइ दिन्छन्।

बीचमा तपाईंसँग पैसा भइहालेमा कर्जा अवधिभन्दा अगाडि नै बैंकको ऋण तिर्दा हुन्छ। अग्रिम ऋण तिर्दा बैंकले ग्राहकसँग अतिरिक्त शुल्क लिन पाउँदैनन्। यससम्बन्धमा राष्ट्र बैंकले प्रस्ट व्यवस्था गरेको छ। कुनै बैंकले अग्रिम शुल्क लिन खोजेमा त्यसले ठग्न खोजेको भनेर बुझे हुन्छ। सोझै राष्ट्र बैंकमा उजुरी गर्न पाइन्छ।

घर ऋण लिने हो भने आधार दर सस्तो भएका बैंकमा जाँदा उत्तम हुन्छ। केही बैंकले महिला ग्राहकका लागि भनेर सस्तो ब्याजको छुट्टै स्किम पनि ल्याएका छन्। ऋण लिनुअघि दर्नौं बैंकमा गएर ब्याज दर र सेवा शुल्कका बारेमा बुझ्नु होला। यसो गर्दा ब्याज दर तुलना हुन्छ र सस्तो बैंकमा जान सकिन्छ।