BIZMANDU
www.bizmandu.com

अर्बपति विनोद चौधरीकी जेठी बुहारी आश्रयताको ‘बिजनेस भेन्चर’, फ्याब इन्डिया विस्तार हुँदै

२०७६ कात्तिक १८

अर्बपति विनोद चौधरीकी जेठी बुहारी आश्रयताको ‘बिजनेस भेन्चर’,  फ्याब इन्डिया विस्तार हुँदै
अर्बपति विनोद चौधरीकी जेठी बुहारी आश्रयताको ‘बिजनेस भेन्चर’, फ्याब इन्डिया विस्तार हुँदै


काठमाडौं। भारतको चर्चित ब्राण्ड फ्याब इन्डियाको दोस्रो आउटलेट उद्घाटन चौधरी ग्रुपकी निर्देशक सारिका चौधरीले गरिन्।

Tata
GBIME
Nepal Life

त्यसो त अर्बपति व्यापारी विनोद चौधरीकी श्रीमती सारिका विरलै सार्वजनिक कार्यक्रममा उपस्थित हुन्छिन्।

तर आइतबार भने दरबारमार्गमा रहेको फ्याब इन्डियाको आउटलेट उद्घाटनमा  पुगिन्। उनी उद्घाटनका लागि आफैँ पुग्नुको कारण थियो, यो आउटलेट उनकै जेठी बुहारी आश्रयता कार्की चौधरीले खोलेकी हुन्।

आश्रयता ९ वर्ष अघिनै  व्यावसायिक जीवनमा प्रवेश गरिसकेकी थिईन्। सन् २००९ मा लण्डन स्कुल अफ इकोनोमिक्सबाट मास्टर्स सकेर नेपाल आएको एक वर्षपछि नै उने भारतको चर्चित ब्राण्ड फ्याब इन्डियाको फ्रेन्चाइजी नेपाल ल्याएर काम थालिन् ।

व्यावसायिक घरानाकी बुहारी बन्नुभन्दा धेरै अघिदेखि नै उनलाई ब्यापारले तान्यो। पढाइ सक्नेबित्तिकै उनले भाई श्रेयान्ससँग मिलेर खोलेको रेयांश रिटेलले हाल क्लोथिङ लाइन, पाङ्ग्रा एक्सप्रेस रेष्टुरेन्ट र अन्य भेन्चरहरुमा काम गरिरहेको छ। उनले आफ्नै कम्पनीमार्फत सन् २०१० मा फ्याब इन्डियाको फ्रेन्चाइजी नेपाल भित्र्याएकी हुन्।

हाल उनी फ्याब इन्डियाको आउटलेटसँगै अरु व्यवसाय विस्तारमा पनि लाग्दैछिन्।

'खासमा म अलि रिजर्भ नेचरको छु। तर यो भेन्चर नेपाल भित्र्याउनु मेरो र भाईको कन्सेप्ट थियो । यसलाई नेपाल ल्याउनुमा हाम्रो स्कुल पढ्दाताकादेखि नै यस ब्राण्डप्रतिको लगाव र केही घटनाहरुले काम गरेको छ। मेरो विवाह हुनु अघि नै हामीले मैले यो भेन्चर सुरु गरिसकेका थियौं। त्यसैले यो बिजनेससँग मेरो भावनात्मक सम्बन्ध जोडिएको छ।'- पहिलोपटक आश्रयताले फ्याब इन्डियाको सुरुवातबारे खुलेर कुरा गरिन्।   

भारतमा परम्परागत ह्याण्डीक्राफ्ट र अर्गानिक कटनका लागि चर्चित ब्राण्ड फ्याब इन्डियाको भारतभर २५० वटा स्टोरहरु छन्। विशेष गरी परम्परागत प्रविधि र हातले बनाएका सामानहरु यसले उत्पादन गर्ने गर्छ ।

भारतका जुन स्थानमा जे विशेष छ त्यही सामाग्रीहरुलाई स्थानीय स्तरमै उत्पादन गर्न लगाएर बजारमा ल्याउने फ्याब इन्डियाले  गार्मेन्ट, एसेसोरिज, फर्निचर,  अर्गानिक चिया, तथा पर्सनल केयरका सामाग्रीहरुको व्यापार गर्दै आएको छ। यही सामाग्रीहरु नेपालका दुई स्टोरबाट रेयांश रिटेलले वितरण गर्ने गर्छ।

यसका उत्पादनहरु अर्गानिक, स्वास्थ्यलाई हानी नगर्ने तथा केमिकलरहित हुने गरेको कम्पनीका प्रवन्ध निर्देशक श्रेयांश कार्कीले बताए।  अर्गानिक कटन अर्थात शुद्ध सुती, प्राकृतिक रंगहरुले डाइ गरिएका कपडाहरु तथा हातले बुनेका सामाग्रीहरु उपभोक्ताको रोजाइमा पर्ने गरेको उनको भनाई छ।

हाँसैहाँसोमा नेपाल भित्रिएको फ्याब इन्डिया

सन् २००९, दिदीभाई मुम्बईबाट नेपाल फर्कदैं थिए। नेपाल फिर्ता हुने बेलुकी ५ बजेको फ्लाइट थियो। उनीहरु दिउँसो २ बजेतिर मुम्बईस्थित फ्याब इन्डियाको आउटलेटमा सपिङकालागि पसे।

उनीहरु सपिङमा यति तल्लिन भएछन् कि बेलुकी ५ बजेको नेपाल आउने फ्लाइट नै मिस भयो।  मुम्बईबाट दिल्लीको अर्को फ्लाइट लिएर नेपाल आइपुग्दासम्म  दिदी भाई हाँसेको हाँस्यै भए।

लुगाफाटा किन्दा किन्दै फ्लाइट मिस भएको घटना एक वर्षसम्म साथीभाई र घरपरिवारमाझ पनि रमाइलो किस्सा बन्यो ।  तर त्यही एक वर्षकै अन्तरालमा उनीहरुले  फ्याब इन्डियाको फ्रेन्चाइजी आफ्नो पोल्टामा पारिसकेका थिए।

सन् २०१० मा उनीहरुले जाउलाखेलमा फ्याब इन्डियाको पहिलो आउटलेट खोले। त्यसको पाँच वर्षपछि  उनी चौधरी ग्रुपकी प्रबन्ध निर्देशक निर्वाणसँग विवाह गरेर चौधरी परिवारको ठूलो व्यापारिक माहौलमा भित्रिइन्।  व्यापारसँगै ३ वर्षकी छोरी र ५ महिनाको छोरा हुर्काइरहेकी आश्रयताको फ्याब इन्डियासँगको कनेक्सन भने स्कुले जीवनदेखि कै थियो। पढाई सक्नेबित्तिकै केही गर्ने हुटहुटीले  दिदी भाईले खोलेको  कम्पनीको विस्तारमा  बिहेपछि पनि आश्रयता तल्लिन रहिन्। यसकालागि उनले घरपरिवार, बच्चा र ब्यापारको लागि समयको तालमेल मिलाउनुपर्छ। तर उनलाई सघाउन सँगै उभिएका छन् भाई श्रेयांश।

आश्रयताले ५ कक्षासम्म सेन्टमेरिज पढिन्। त्यसपछिको थप पढाई भारतको मेयो स्कुलमा भयो। स्कुलमा सँधै कुर्ता सुरुवाल लगाउनुपर्ने। युनिफर्म नै कुर्ता। आइतबार मात्र आफ्नो रोजाइको लुगा लगाउन पाइने थियो। त्यो पनि कुर्ता नै हुनुपर्थ्यो अरु लुगा लगाउन पाइन्नथ्यो। आश्रयताको सानैदेखि कुर्तासँग साइनो जोडियो। विदाको दिन उनले लगाउनेमध्ये मन परेको कुर्ता फ्याब इन्डियाकै हुन्थ्यो।

भारतमा स्कुल सकेर कलेजका लागि लण्डन पुगेकी आश्रयताले लण्डन स्कुल अफ इकोनोमिक्सबाट ह्युमन रिसोर्स म्यानेजमेन्ट र इन्टरनेशनल इम्प्लोइमेन्टमा डिग्री सकेर २००९ मा नेपाल फर्किइन्।

त्यसको एक वर्षपछि नै दिदी भाईको संयुक्त भेन्चर अन्तर्गत फ्याब इन्डिया नेपाल भित्रिएको हो। फ्याब इन्डिया नेपालमा आएका बखत पुरुषहरुले कुर्ता र नेहरु कोट लगाउने खासै चलन थिएन। तर ९ वर्षमा समयले फड्को मारिसकेको छ । अहिले पाका पुरुषहरु मात्र नभई युवाहरु पनि कुर्ता र नेहरु कोट लगाउँछन्।

'हामीले रिस्क लिएर पुरुषहरुकालागि उच्च गुणस्तरका कुर्ता, जुत्ती र नेहरु कोट भित्र्यायौं। धेरैले मसँग व्यक्तिगत रुपमै भन्नुपनि भएको छ फ्याब इन्डिया आयो अनि हामीले यस्तो क्वालिटीका सामान लगाउन पायौं भनेर। वास्तवमा युवाहरु पनि नेहरु कोट र कुर्तामा सजिन थालेको देख्न हामीले पूरा ९ वर्ष कुर्नुपर्यो। अहिले त यो युवाहरुको वार्डरोबमा अपरिहार्य लुगा भैसक्यो। यो परिवर्तन ल्याएको फ्याब इन्डिया ले नै हो'-आश्रयताले  दावी गरिन्।

हाल उनीहरुले फ्याब इन्डियासँगै साझेदारसँग मिलेर पाङ्ग्रा एक्सप्रेस  रेष्टुरेन्ट पनि चलाइरहेका छन्। यसैगरी भारतकै चर्चित पानको 'हाइ-इन्ड' ब्राण्डलाई पनि एक महिनाभित्रै नेपालमा लञ्च गर्न लागेका छन्। एक महिनापछि लबिम मलमा खुल्ने पानको भब्य शोरुमको लन्चिङको तयारीमा पनि उनीहरु जुटिसकेका छन्।

भारतकै ब्राण्डलाई मात्र नभई भविष्यमा नेपालकै परम्परागत र हातले बनाइएका विशेष गार्मेन्ट र ह्याण्डीक्राफ्टहरुको ब्राण्ड पनि खोल्न सक्ने संभावना तर्फ उनीहरुले औंल्याए। 'भविष्यमा नेपालकै एथनिक र अर्गानिक उत्पादन पनि हामीले आफ्नो ब्राण्डमा ल्याउन सक्छौं। यहाँ संभावना नभएको होइन। ढाकाको कपडा छ। अर्गानिक चिया कफी छन्। त्यतापनि हामी जान सक्छौं। तर हाल भने हामी फ्याब इन्डियाकै आउटलेट काठमाडौं बाहिर लैजाने बारे अध्ययन गरिरहेका छौं।'- श्रेयांशले भने।

उनले भर्खरै बिराटनगर र पोखरामा अध्ययन गरेर फर्किएको बताउँदै सन् २०२० मा ति दुई शहरमा पनि फ्याब इन्डियाको आउटलेट खोल्ने जानकारी दिए।

फ्याब इन्डियाको शोरुममा उनीहरुले नेपालमै उत्पादन गरिएका कास्मिरी सलहरु पनि राखेका छन्। दुबई र अमेरिका जाने गरेको प्लस क्यासमिर ब्राण्डका सलहरु यस शो रुममा पाइने श्रेयान्सले बताए।  

शोरुममा मध्यम र उच्च मध्यम बर्गकालागि लक्षित सामाग्रीहरु राखिएको उनले जानकारी दिए। सुती र खादीका सामाग्रीहरुकासाथै जाडोका लागि उनीका पहिरनहरु पनि शोरुममा पाइन्छन्।

१० वर्षपछि अर्को शाखा

जाउलाखेलमा सन् २०१०मा खुलेको फ्याब इन्डियाको अर्को शाखा खोल्न आश्रयता र श्रेयांशलाई झण्डै दश वर्ष नै कुर्न पर्यो। उनीहरुले बीचमा नै शाखा खोल्ने प्रयास नगरेका पनि होइनन्।

बीचमा केही समयकालागि नक्सालको भाटभटेनी नजिकै शोरुम खोले। तर सडक बिस्तारको काम सुरु भएपछि उक्त शोरुमको एरिया खुम्चियो। 'त्यहाँको स्पेस हामीलाई सुट नभएको फिल भयो त्यसैले केही समयमै त्यहाँको स्टोर बन्द भयो। जहिले दरबारमार्गमा ठाउँ पाइन्छ त्यही समय मात्र खोल्ने भन्ने सोचेर हामी चुप लाग्यौं।'- श्रेयांशले नयाँ शाखा खोल्न यतिका वर्ष कुर्न परेको कारणबारे बताए।

फ्याब इन्डियामा क्लोथिङ लाइन, पस्मिना, अर्गानिक चिया,  पर्सन केयरका सामाग्री,  जुत्ती, बेड एण्ड बाथ लिनेन, बच्चाको लुगा सबै पाइन्छन्। दरबारमार्गस्थित शोरुममा बच्चाको लागि भने हाल लुगा राखिएको छैन। आगामी मार्चदेखि बच्चाहरुको लुगा पनि उपलब्ध हुने उनले बताए।

काठमाडौंमै फ्याब इन्डियाको फर्निचर र घरभित्र प्रयोग हुने सामाग्रीहरुको आउटलेट पनि खोल्ने योजनामाथि उनीहरु काम गरिरहेका छन्। यसकालागि कतिसम्म कुर्नुपर्ला त?

दिदीभाईले उत्साहित हुँदै भने – 'भ्यालीभित्र अब खुल्ने फ्याब इन्डियाको ठूलो स्टोर पूर्णतया घर लक्षित नै हुनेछ। त्यहाँ गार्मेन्ट हुने छैन। बरु घरकालागि आवश्यक सम्पूर्ण फर्निचर र ह्याण्डी क्राफ्ट र विशेष सामाग्रीहरुको ठूलो कलेक्सन हुनेछ।'