BIZMANDU
www.bizmandu.com

दशैंतिहारमा १० अर्बको सुनको कारोबार, माग बढेपछि वाणिज्य बैंकले आयात गर्न थाले सुन

२०७६ कात्तिक १४

दशैंतिहारमा १० अर्बको सुनको कारोबार, माग बढेपछि वाणिज्य बैंकले आयात गर्न थाले सुन
दशैंतिहारमा १० अर्बको सुनको कारोबार, माग बढेपछि वाणिज्य बैंकले आयात गर्न थाले सुन

Tata
GBIME
Nepal Life

काठमाडौँ। असारपछि मन्दी छाएको सुनको कारोबार दशैंतिहारमा बहार आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार दशैंतिहारमा मात्रै १० अर्बको सुनचाँदीको कारोबार भएको छ।

'दशैं/तिहारको अवधिमा १० अर्ब रुपैयाँ सुनचाँदीको कारोबार भएको छ' महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बिजमाण्डूसँग भने, ’५० करोड रुपैयाँ बराबरको चाँदीको कारोबार भएको छ। अरु सबै सुनको कारोबार भएको हो।'

देशभर २२ हजार सुनचाँदी पसल छन्। महासंघका अनुसार धनतेरसका दिन सबैभन्दा बढी सुनचाँदीको कारोबार भएको छ। कारोबार बढेपछि सुन आयात समेत सुरु भएको छ। सुनको भाउ बढेपछि कारोबारमा मन्दी आएको थियो। मन्दी आएपछि वाणिज्य बैंकले साउनदेखि आयात रोकेका थिए।

नेपाल बैंकर्स संघका प्रमुख कार्यकारी अधिकृत अनिल अधिकारीका अनुसार कात्तिकमा दुई सय किलो सुन आयात भएको छ। तिहार अघि चार वाणिज्य बैकले ५० किलोको दरले दुई सय केजी सुन आयात गरेको उनले बताए।

६० हजार रुपैयाँको हाराहारीमा रहेको सुनको मूल्य बढेर ७० हजार रुपैयाँ भन्दा माथि उक्लिएपछि सुनको कारोबारमा मन्दी आएको थियो।चालु आर्थिक वर्षको प्रारम्भ देखिनै सुनको कारोबारमा मन्दी देखिएको थियो। दशैपछि सुनको कारोबार बढेपछि व्यवसायी उत्साहित भएका छन्।

सुनको मूल्य घट्यो

बिहीबार सुनको मूल्य घटेको छ। तिहार बिदापछि खुलेको बजारमा प्रति तोला सुनको मूल्य पाँच सय रुपैयाँले घटेर ७० हजार पाँच सय कायम भएको छ। तिहार अघि प्रति तोला सुनको मूल्य ७१ हजार रुपैयाँ थियो।

६ कारोबार दिन पछि महासंघले स्थानीय बजारमा सुनको मूल्य तय गरेको हो। अन्तर्राष्ट्रिय बजारमा बिहिबार प्रति औस सुनको मूल्य १४ सय ९८ डलर पुगेको छ। बुधवार सुनको मूल्य १४८९ डलर रहेको थियो।