BIZMANDU
www.bizmandu.com

काठमाडौंका साढे पाँच सय हाउजिङ ‘रेडी टु मुभ’ अवस्थामा, नयाँ परियोजना नआउँदा स्टक घट्दै

२०७६ कात्तिक १२

काठमाडौंका साढे पाँच सय हाउजिङ ‘रेडी टु मुभ’ अवस्थामा, नयाँ परियोजना नआउँदा स्टक घट्दै
काठमाडौंका साढे पाँच सय हाउजिङ ‘रेडी टु मुभ’ अवस्थामा, नयाँ परियोजना नआउँदा स्टक घट्दै


काठमाडौं। पछिल्लो चार वर्षयता नयाँ आवास परियोजना आउने क्रम निकै पातलिएपछि व्यवस्थित हाउजिङ तथा अपार्टमेन्ट परियोजनाका स्टक एकाइ घट्दै गएको छ । यसका बाबजुद अझै पनि व्यवस्थित हाउजिङ परियोजनाका एकाइ किनेर घर सर्ने योजनामा रहेका उपभोक्ताहरूका लागि तयारी अवस्थाका थुप्रै आवास उपलब्ध छन् ।

Tata
GBIME
Nepal Life

काठमाडौं उपत्यकाभित्र बनेका हाउजिङ तथा अपार्टमेन्ट परियोजनामा अहिले साढे पाँच सयभन्दा बढी युनिट आवास तयारी अवस्था (रेडी टु मुभ इन) मा रहेका छन् । यीमध्ये १३ वटा ‘स्ट्यान्ड अलोन’ परियोजनाका ८२ एकाइ घर र नौ अपार्टमेन्ट परियोजनामा चार सय ७९ एकाइ अपार्टमेन्ट तयारी अवस्थामा रहेको सम्बन्धित कम्पनीहरूले दिएको जानकारीबाट देखिएको छ । तयारी अवस्थामा रहेका यी ‘स्ट्यान्ड अलोन’ घरहरू छवटा डेभलपर कम्पनीको र अपार्टमेन्ट सात कम्पनीका हुन् ।

नौ परियोजनामा रहेको अपार्टमेन्टहरूमध्ये कतिपय तत्कालै किनेर सर्न मिल्ने अवस्थामा छन् भने अन्य हाउजिङ तथा अपार्टमेन्ट सामान्य फिनिसिङ टच दिएर फर्निसिङ गरी बस्न थाल्न सकिने सम्बन्धित कम्पनीहरूले जानकारी दिएका छन् । केही परियोजनाका आवास एकाइ भने छ महिनाभित्र बसोबासयोग्य हुने गरी बनिरहेका बताइएको छ । 

घर खरिद गर्न चाहने ग्राहकका तल उल्लिखित परियोजनाका घरहरू उपयुक्त हुन सक्छन् ।

सीईका परियोजनामा २७ घर तयार
सीई कन्स्ट्रक्सनले उपत्यकाका विभिन्न स्थानमा विकास गरेका चार हाउजिङ परियोजनामा कुल २७ घरहरू लगभग तयारी अवस्थामा रहेको कम्पनीले जानकारी दिएको छ । सीईका काठमाडौं र ललितपुरमा रहेका दुई÷दुई हाउजिङ परियोजनामा ‘रेडी टू मुभ’ आवास एकाइ उपलब्ध रहेको बताइएको छ । 

सीईको चोभार (काठमाडौं) स्थित कृति कोलोनीमा सात तयारी अवस्थामा रहेको कम्पनीकी बिक्री प्रतिनिधि सञ्जिता डंगोलले जानकारी दिइन् । चारदेखि १३ आनाको प्लटमा बनेका यस परियोजनामा उपलब्ध घरको मूल्य एक करोड ५६ लाखदेखि तीन करोड ७६ लाख रुपैयाँ रहेको उनले बताइन् । यी घरको बिल्ट अप एरिया एक हजार चार सय ६४ वर्गफीटदेखि दुई हजार सात सय वर्गफीटसम्म छ ।

कम्पनीका अनुसार, यसको ‘सानोभ¥याङ हाउजिङ’ मा पनि सात घर तयारी अवस्थामा छन् । चारदेखि आठ आनाको प्लटमा बनेका यी घरहरूको बिल्ट अप एरिया दुई हजार तीन सयदेखि तीन हजार वर्गफीटसम्म रहेको डंगोलले बताइन् । यसमा उपलब्ध घरहरूको मूल्य दुई करोड ५५ लाखदेखि चार करोड ५५ लाख रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

सीईको सिनिक हाउजिङ (ठैब) मा १३ घर ‘रेडी टु मुभ’ रहेको कम्पनीले जनाएको छ । २.३ देखि ३.३ आना जग्गामा बनेका यी घरको मूल्य एक करोड ४१ लाखदेखि एक करोड ७६ लाख रुपैयाँसम्म पर्ने बताइएको छ । तयारी घरको बिल्ट अप एरिया एक हजार एक सय ८० देखि एक हजार पाँच सय २० वर्गफीटसम्म रहेको छ । 

पद्म कोलोनीमा तत्कालै सर्न मिल्ने घर
पद्म कोलोनीले काठमाडौको रामकोटमा विकास गरेको आफ्नो फेज ३ परियोजनामा २० वटा घर तत्कालै सर्न मिल्ने अवस्थामा रहेको कम्पनीले जानकारी दिएको छ । अझ यीमध्येका १० घरमा आजकै दिन सर्न मिल्ने कम्पनीका महाप्रबन्धक गोपाल बजगाईंले बताए । 

फर्निसिङ भइसकेकाले बाँकी १० घर पनि बढीमा १५ देखि ३० दिनभित्र बस्न थाल्ने गरी सर्न सकिने उनले बताए । यी घरहरू करीब पाँच आनामा बनेका छन् भने बिल्ट अप एरिया दुई हजार १० वर्गफीट छ । 

घरको मूल्य साढे दुई करोडदेखि दुई करोड ९० लाख रुपैयाँसम्म राखिएको छ । ग्रीनहिलका घर दुई महिनाभित्र सर्न मिल्ने ग्रीनहिल सिटी प्रालिले उपत्यकाका विभिन्न स्थानमा अहिले तीन हाउजिङ परियोजना निर्माण गरिरहेको छ । यीमध्ये दुई परियोजनामा मात्रै तयारी अवस्थाका घरहरू रहेको कम्पनीले जनाएको छ । 

ललितपुरको इमाडोलमा रहेको परियोजनामा पाँच एकाइ तयारी अवस्थामा रहेको कम्पनीका मार्केटिङ म्यानेजर सौरभ तिमल्सिनाले जानकारी दिए । पाँच आनाको प्लटमा बनेका दुई हजार पाँच सय वर्गफीटका यी घरको मूल्य तीन करोड रुपैयाँ रहेको उनले बताए । 

यस्तै, कम्पनीले मूलपानीमा बनाइरहेको आवास परियोजनामा अहिले १५ घर रेडी टु मुभ अवस्थामा रहेको बताइएको छ । कम्तीमा साढे चारदेखि १३ आनासम्मको जमीनमा बनेका ती घरको मूल्य कम्पनीले साढे दुई करोडदेखि चार करोड रुपैयाँसम्म तोकेको छ । 

यी दुवै परियोजनाका एकाइ अहिले खरिद गर्ने उपभोक्ताले अबको डेढदेखि दुई महिनाभित्रै घर सर्न सक्ने अवस्थामा रहेको तिमल्सिनाले बताए । 

सिभिल होम्स्का पनि पाँच घर सकिँदै
सिभिल होम्स्का दुई हाउजिङ परियोजनामा पाँचवटा रेडी टु मुभ अवस्थाका घरहरू रहेको कम्पनीकी मार्केटिङ प्रतिनिधि कामना थापाले जानकारी दिइन् । यसको फेज ७ (सीतपाइला) मा दुई र फेज नौ (गोदावरी) परियोजनामा तीनवटा घर तयारी अवस्थामा रहेको उनले बताइन् ।

सीतापाइला परियोजनामा चार आनाको प्लटमा एक हजार पाँच सय वर्गफीट बिल्ट अप एरिया भएका घर छन्, जसको मूल्य दुई करोड २० लाख रुपैयाँ तोकिएको छ । यस्तै, गोदावरी परियोजनामा साढे तीन आना जग्गामा बनेको एक हजार तीन सय ६० वर्गफीटका तयारी घरको मूल्य एक करोड ८० लाख रुपैयाँ तोकिएको थापाले जानकारी दिइन् । 

निर्माणको अन्तिममा पुगेर फिनिसिङको चरणमा रहेका यी घरमा सर्न भने ग्राहकले बढीमा अबको तीन महिना कुर्नुपर्ने बताइएको छ ।

बृहत्का घर ६ महिनामा तयार
बृहत् ग्रूपले ‘बृहत् कम्युनिटी लिभिङ’ नाम दिएर काठमाडौंको रामकोट, बल्खु र ललितपुरको भैंसीपाटीमा निर्माण गरिरहेका तीनवटा आवास परियोजना लगभग पूरा  हुने अवस्था पुगेका छन् । यी तीनवटै आवास परियोजनामा बनाउन बाँकीमध्येका दुईदेखि तीनवटा घरको संरचना निर्माणको काम अहिले सकिएको कम्पनीले जनाएको छ । 

न्यूनतम चार आनादेखि ८.७ आनासम्मको प्लटमा रहेका यी घरहरूको बिल्ट अप एरिया एक हजार पाँच सय ८५ देखि दुई हजार चार सय ८० वर्गफीटसम्म रहेको बताइएको छ । अहिले खरिद गर्ने ग्राहकले बढीमा सात महिनाभित्र सर्न सक्ने निर्माणाधीन यी घरको मूल्य दुई करोडदेखि तीन करोड ७८ लाख रुपैयाँसम्म रहेको कम्पनीले जानकारी दिएको छ ।

ग्रीनऊड भिल्लाज्मा दुई घर तयार
हाउजिङ एन्ड डेभलपमेन्ट प्रालिले काठमाडौंको कलंकीमा निर्माण गरेको ग्रीनऊड भिल्लाज्मा पनि दुई घर एक महिनाको हाराहारीमा सर्न मिल्ने गरी तयार अवस्थामा रहेको कम्पनीले जानकारी दिएको छ । छ आनाको प्लटमा बनेका दुई हजारदेखि दुई हजार पाँच सय २२ वर्गफीटसम्मका उक्त घरको मूल्य तीन करोड ८५ लाख रुपैयाँ राखिएको छ । 

सात कम्पनीका ४७९ अपार्टमेन्ट तयारी अवस्थामा 
उपत्यकाका विभिन्न स्थानमा रहेका निर्माण सम्पन्न वा निर्माण पूरा हुने क्रममा रहेका गरी नौ अपार्टमेन्ट परियोजनामा कुल ४७९ आवास एकाइ छन् जो बस्ने गरी सर्नका लागि लगभग तयारी अवस्थामा पुगेका छन् । 

ललितपुरको धापाखेलस्थित डाउनटाउन अपार्टमेन्टमा ५५ वटा अपार्टमेन्ट एकाइ तयार अवस्थाका रहेको कम्पनीले जानकारी दिएको छ । यस परियोजनामा चार पेन्टहाउस पनि रहेका छन् । सात सय ३३ देखि दुई हजार छ सय वर्गफीटसम्म बिल्ट अप एरिया रहेका यी अपार्टमेन्टको मूल्य ७७ लाखदेखि दुई करोड ७५ लाख रुपैयाँ रहेको रहेको कम्पनीले बताएको छ ।

यस्तै, धापासीमा रहेको ग्रान्डी टावर्समा एक सय २५ एकाइ बढीमा एक महिनाभित्र सर्न सक्ने गरी तयार अवस्थामा छन् । छ सय ३३ देखि चार हजार आठ सय ८२ वर्गफीटसम्म फराकिलो रहेका यस परियोजनाका अपार्टमेन्टको मूल्य ७० लाखदेखि छ करोड रुपैयाँसम्म रहेको डेभलपर कम्पनी सीई ग्रूपले जानकारी दिएको छ । 

सीईको बिजेश्वरी (काठमाडौं) स्थित रिट्रिट अपार्टमेन्टमा पनि ११ अपार्टमेन्ट एकाइ तयार रहेको बताइएको छ । एक हजारदेखि एक हजार एक सय वर्गफीटसम्मका यी दुई बेडरूम अपार्टमेन्ट रिट्रिटको पहिलोदेखि छैटौं तलामा उपलब्ध भएको कम्पनीले जनाएको छ । यी अपार्टमेन्टको मूल्य एक करोड ५३ लाखदेखि एक करोड ६५ लाख रुपैयाँसम्म राखिएको छ । 

एमएस ग्रूपले विकास गरेको सनराइज सिटी होम्स् (विजुलीबजार) मा आठ र नख्खुको सनराइज अपार्टमेन्ट (नख्खु) मा ३६ एकाइ रेडी टु मुभ अवस्थामा रहेको कम्पनीले जानकारी दिएको छ । 

बिजुलीबजारमा एक हजार एक सय ६४ वर्गफीटदेखि दुई हजार एक सय वर्गफीटसम्मका अपार्टमेन्टहरू रहेका छन् जसको मूल्य एक करोड ६१ लाखदेखि दुई करोड २९ लाख रुपैयाँ राखिएको छ । यस्तै, नख्खुस्थित सनराइज अपार्टमेन्टमा रहेका चार सय ७० देखि एक हजार पाँच सय वर्र्गफीटका एकाइको मूल्य ६५ लाखदेखि एक करोड ५० लाख रुपैयाँसम्म पर्ने कम्पनीकी मार्केटिङ म्यानेजर दिलासा जीसीले जानकारी दिइन् । 

त्यसैगरी, ललितपुरको हात्तीवनस्थित क्लासिक टावरमा अब १५ अपार्टमेन्ट मात्र बिक्री हुन बाँकी छन् । यी सबै एकाइ किनेकै दिन तुरुन्तै सर्न मिल्ने अवस्थामा रहेको कम्पनीकी मार्केटिङ म्यानेजर मिबिका शाक्यले बताइन् । 

आठ सय ८७ देखि नौ सय ५० वर्गफीटसम्मका दुई र तीन बेडरूममा उपलब्ध यी अपार्टमेन्टको मूल्य एक करोड छ लाखदेखि साढे एक करोड रुपैयाँसम्म पर्ने कम्पनीले जनाएको छ ।

हात्तीवनमै रहेको मेरो सिटी अपार्टमेन्टमा यतिबेला २९ अपार्टमेन्ट रेडी टु मुभ अवस्थामा रहेका छन् । यसमा चार सय १० वर्गफीटका स्टुडियो अपार्टमेन्टदेखि एक हजार दुई सय वर्गफीटका दुई बेडरूम अपार्टमेन्ट भएको कम्पनीले जानकारी दिएको छ । यी अपार्टमेन्टको मूल्य ४० लाखदेखि एक करोड १३ लाख रुपैयाँसम्म पर्ने बताइएको छ । 

बालकुमारी (ललितपुर) स्थित वेस्टार रेसिडेन्सीमा पनि अहिले तयारी अवस्थाका ५० एकाइ अपार्टमेन्ट रहेको कम्पनीले जानकारी दिएको छ । नौ सयदेखि दुई हजार नौ सय वर्गफीटसम्मका उक्त अपार्टमेन्टको मूल्य प्रतिवर्गफीट १२ हजार रुपैयाँ तोकिएको छ । 

त्यसैगरी, प्लाटिनम डेभलपर्सले रविभवनमा निर्माण गरेको सोल्टी सिटी अपार्टमेन्टमा डेढ सयभन्दा बढी अपार्टमेन्ट एकाइ अहिले तयारी अवस्थामा रहेको कम्पनीले जानकारी दिएको छ । चार सयदेखि एक हजार दुई सय वर्गफीटसम्मका उक्त अपार्टमेन्टको मूल्य ५० लाखदेखि दुई करोड रुपैयाँसम्म रहेको कम्पनीले जनाएको छ । 

अपार्टमेन्ट खरिद गरेको एकदेखि तीन महिनाभित्रमा उपभोक्ताहरू सर्न सक्ने बताइएको छ ।

फेस्टिभ स्किमबिहिन हाउजिङ !
घर जोड्न वा लिभिङ अपग्रेड गर्न दशैं–तिहार जस्ता ठूला चाडबाडलाई उपयुक्त मौकाका रूपमा उपयोग गर्न चाहने र यो बेला नयाँ घरमा उत्सव मनाउन चाहने नेपाली परिवार प्रशस्तै हुन्छन् । यसकारण पनि दशैं–तिहार नजिकिन थालेपछि नै हाउजिङको माग पनि बढ्ने गरेको रियल इस्टेट कम्पनीहरूको भनाइ छ । 

चाडपर्वकाे बेला हाउजिङ डेभलपरहरूले पनि ग्राहक लक्षित विभिन्न फेस्टिभ स्कीम ल्याउने भएकाले उपभोक्ता पनि त्यसको पर्खाइमा हुन्छन् । यसकारण पनि डेभलपरहरूले दशैं–तिहारलक्षित गर्दै प्रायः हरेक वर्ष विभिन्न फेस्टिभ अफर ल्याउने गरेका हुन्छन् जुन छठसम्म नै कायम रहन्छ । 

तर, यस वर्ष भने अधिकांश रियल इस्टेट कम्पनीले नयाँ परियोजना नभएकाले पनि चाडपर्वलक्षित फेस्टिभ अफर ल्याएनन् । केही वर्षअघिसम्म हाउजिङ एकाइ खरिद गर्ने ग्राहकलाई रियल इस्टेट कम्पनीले विभिन्न देशको भ्रमण गराउनेदेखि गाडी दिनेसम्मका उपहार योजना ल्याएको बाक्लै देखिन्थ्यो । तर, पछिल्लो आधा दशकयता चाडबाडलक्षित यस्ता फेन्सी उपहार योजना विभिन्न होम अप्लायन्स, केही नगद छुट वा मोडुलर किचेन निःशुल्क इत्यादिमा सीमित देखिन्छन् ।

– प्राेपर्टी म्यागेजिनबाट