BIZMANDU
www.bizmandu.com

उपहारसहित छुटमा फेस्टिभ किनमेल, एकै छानामुनि सबै सपिङ, कुन मलमा के छ किनेमेल स्किम? 

२०७६ कात्तिक १०

उपहारसहित छुटमा फेस्टिभ किनमेल, एकै छानामुनि सबै सपिङ, कुन मलमा के छ किनेमेल स्किम? 
उपहारसहित छुटमा फेस्टिभ किनमेल, एकै छानामुनि सबै सपिङ, कुन मलमा के छ किनेमेल स्किम? 

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपालीहरूको किनमेल शैली बदलिँदै गएको छ। खासगरी शहरी क्षेत्रका ठाउँठाउँमा खुलेका कम्प्लेक्स, मल र डिपार्टमेन्ट स्टोरहरूका कारण उपभोक्ताको ‘सपिङ ह्याबिट’ खुद्रा पसलहरूबाट यस्ता व्यापारिक केन्द्रतर्फ सर्दै गएको छ। एकै स्थानमा आफूले खोजेका धेरैजसो सामान पाइने भएकाले पनि ‘सिंगल भेन्यु सपिङ’ को अवधारणामा खुलेका यस्ता ठूला किनमेल केन्द्रले उपभोक्ताको ध्यान खिचेको हो।

एकै छानामुनि सबै घरायसी समानहरू सुविधायुक्त सपिङ गर्न सकिने र बच्चाहरूलाई पनि मनोरञ्जनका विविध प्लेइङ स्टेशनहरू राखिने भएकाले व्यापारिक मल तथा सपिङ सेन्टर ‘फेमिली सपिङ डेस्टिनेशन’ बन्दै गएका छन्। चाडपर्वको समयमा अन्य बेलाभन्दा अझ धेरै किनमेल गरिन्छ। सामग्रीका प्रकार, परिमाण, मूल्य इत्यादि सबै दृष्टिले ठूलो आकारमा सपिङ हुने भएकाले दशैंदेखि शुरू भएर छठसम्म चल्ने कम्तीमा एक महिना लामो फेस्टिभ सिजनलाई लक्षित गरेर काठमाडौं उपत्यकाका विभिन्न व्यापारिक कम्प्लेक्स, मल र डिपार्टमेन्ट स्टोरले ग्राहक आकर्षित गर्न किनमेलमा विशेष स्किमहरू अघि सारेका छन्। यसैले हरेक मलपिच्छै देखिन्छ आकर्षक छुटका पोस्टरहरू राखिएको ।

भाटभटेनी सुपरमार्केट, केएल टावर, सिटी सेन्टर, सिभिल मल, काठमाडौं मल, विशाल बजार, आरबी कम्प्लेक्स, लविम मल, बिजी मल, बुद्ध मल, वल्र्ड ट्रेड सेन्टरलगायतका उपत्यकाका चल्तीका सपिङ केन्द्रहरूले यतिबेला सामानहरू खरिद गर्दा नियमित मूल्यमा ५ देखि ५० प्रतिशतसम्म नगद छुटदेखि लक्की ड्रबाट बाइक, स्कुटर आदिदेखि विदेश घुमफिरसम्मका विभिन्न उपहारका स्किमहरू सञ्चालन गरेका छन् । किनमेलमा यस्ता छुट तथा उपहार योजनाको लाभ उठाउँदै यस फेस्टिभ सिजनमा लत्ताकपडा, ग्रोसरीदेखि होम अप्लायन्ससम्मका आवश्यक विभिन्न सामानहरू जोड्न सकिनेछ । 

प्रायः स्टक सामानहरूमा ५० प्रतिशत तथा विशेषगरी ५ देखि ५० प्रतिशतसम्म सामानहरूमा छुट रहेको सामानहरूको ब्रान्डअनुसार छुट तथा कम्पनीहरूको आफ्नो नियमअनुसारसम्म छुट दिएको महलका सञ्चालकहरूले जानकारी दिए । 

केएल टावर, चाबहिल
काठमाडौंको चाबहिलस्थित केएल टावरमा ‘रमाइलो दशैं–तिहार उपहार योजना’ सञ्चालन गरिएको छ । उपहार योजनाअन्तर्गत यहाँ रहेका पसलहरूले मूल्यमा ५० प्रतिशतसम्म नगद छुट दिइरहेको टावरका इभेन्ट मार्केटिङ अफिसर नीतेश कुँवरले जानकारी दिए । केएल मोबाइल हब, न्यु सन ग्लास तथा वाच, टाइमेक्स घडी इत्यादि आउटलेटले आ–आफ्ना सामानमा ५० प्रतिशत छुट दिएका छन् । श्रेष्ठ टेलरिङले सर्टिङ–सुटिङमा १५ प्रतिशत छुट दिएको छ । 

उनका अनुसार फेस्टिभ अफरअन्तर्गत केएल टावरमा सपिङ गर्ने ग्राहकले दैनिक तथा साप्ताहिक रूपमा एफ क्युब सिनेमाको मुभी टिकटदेखि स्मार्ट फोन, पाँच हजार रुपैयाँसम्मको सपिङ भौचर, इलेक्ट्रिकल केटल, एलईडी टेलिभिजन, रेफ्रिजेरेटर, वासिङ मेसिन, आइरन, हीटर, भ्याकुम क्लीनर, टाइमेक्स घडीलगायतका उपहार पनि जित्न सक्नेछन् । यसका साथै, बम्पर उपहारमा यमाहाको ‘एफजी’ बाइक तथा ‘रे जेड आर’ स्कूटर एक–एकजनालाई र एकजनाले चार रात पाँच दिन बैंकक घुम्ने अवसर पाउनेछन् । 

कात्तिक २५ गतेसम्म लागू हुने यस स्किममा समावेश हुन ग्राहकले केएल टावरका कुनै पनि पसल (मुभी हलसमेत) मा कम्तीमा एक हजार बराबरको खर्च गरेपछि लक्की ड्र कुपन प्राप्त गर्नेछन् । 

यस टावरमा विभिन्न सामग्रीका ५० पसल, ग्रोसरी, फूडकोर्ट, तीन एफ क्युब सिनेमाहल, बालबालिका र युवाका लागि छुट्टाछुट्टै गेमजोन, सामसुङ प्लाजा, फर्निचरलगायतका सञ्चालनमा छन् ।

भाटभटेनी सुपरमार्केट
नेपालका विभिन्न स्थानहरूमा रहेको भाटभटेनी सुपरमार्केटले पनि चाडपर्वलक्षित गरेर सुपथ मूल्य अफर सञ्चालन गरेको छ । भाटभटेनीले ग्रोसरी सामानमा १० देखि १५ प्रतिशतसम्म तथा किचेनवेयर, रेडिमेड गार्मेन्ट इत्यादिमा पाँच प्रतिशतसम्म नगद छुट दिएको छ । यस्तै, विभिन्न ब्रान्डका विद्युतीय होम एपलाइनमा १५ देखि ३० प्रतिशतसम्म छुट प्राप्त गर्न सकिने भाटभटेनीका मार्केटिङ म्यानेजर मोहन गुरुङले जानकारी दिए । फेस्टिभ स्किम अवधिभर सामाग खरिद गर्ने ग्राहकले अन्त्यमा लक्की ड्रमार्फत एक थान स्कूटर प्राप्त गर्ने उनले बताएका छन् । 

भाटभटेनी सुपरमार्केटमा आफ्नो डेबिट÷क्रेडिट कार्डमार्फत सपिङ गर्नेलाई माछापुच्छ«े, एनआईसी एशियालगायतका विभिन्न बैंकले विशेष ५ देखि १५ प्रतिशतसम्म छुट दिने स्किम ल्याएका छन् । असोज ५ बाट लागू भएको बैंकहरूको यो स्किम छठसम्म जारी रहने बताइएको छ ।

राइजिङ मल, दरबारमार्ग
काठमाडौंको दरबारमार्गमा रहेको राइजिङ मलले पनि दशैं–तिहारका लागि सपिङमा उपहार स्किम अघि सारेको छ । जसमा एक हजार रुपैयाँबराबरको सपिङमा उपहार कुपन पाउन सकिन्छ । साथै लक्की ड्रमार्फत प्रथम पुरस्कारस्वरूप दुबई टुर प्याकेज, दोस्रो – रेफ्रिजेरेटर, तेस्रो – ३२ इन्चको एलईडी टीभी, चौथो – भ्याकुम क्लीनर, माइक्रोवेभ ओभन, इलेक्ट्रिक आइरनलगायतका विद्युतीय उपकरण दिइने मार्केटिङ म्यानेजर प्रदीप अधिकारीले जानकारी दिए । यसबाहेक पनि मलका विभिन्न पसलले सामान खरिदमा ‘बाई वान गेट वान फ्री’ देखि ५० प्रतिशतसम्म नगद छुट दिएका छन् । मलमा रहेको ब्लूबर्ड मार्टले पनि ग्रोसरी समानहरूमा ५ देखि १५ प्रतिशतसम्म छुट दिइरहेको जनाएको छ । 

सिटी सेन्टर, कमलपोखरी
काठमाडौंमा चल्तीका सपिङ डेस्टिनेशनमध्येको सिटी सेन्टर, कमलपोखरी पनि एक हो । यसले दशैंदेखि छठसम्मको चाडको अवसरमा उपहार तथा छुटको स्किम लागू गरेको छ । यस मलमा रहेका एक सय ५० पसलमध्ये अधिकांश लुगाका रहेका छन् । ती पसलहरूले ५० प्रतिशतसम्म फेस्टिभ छुट दिएका छन् । 

सिटी सेन्टरमा कुनै सामान नकिन्ने व्यक्तिसमेत उपहार योजनामा सरिक हुन सक्ने ‘फ्री लक्की ड्र’ अफरसमेत सञ्चालन गरिएको छ । १६ कात्तिकसम्म लागू हुने उपहार योजनाको लक्की ड्र छठको अन्तिम दिन हुने सिटी सेन्टरका इभेन्ट एन्ड मार्केटिङ म्यानेजर रोजल शाहीले जानकारी दिए । लक्की ड्रबाट विजेताले अपाची आरटीआर बाइक, स्कूटर तथा होम अप्लायन्सहरूलगायतका पुरस्कार जित्न सक्नेछन् ।

सिभिल मल, सुन्धारा
सिभिल मल (सुन्धारा, काठमाडौं) ले दशैंदेखि छठसम्मका चाडहरूको अवसरमा डेढ महिना लामो स्किम लागू गरेको छ । भदौ २७ देखि शुरू भएर कात्तिक १६ सम्मका लागि चालू यस फेस्टिभ स्किममा ग्राहकलाई कुल २० लाख रुपैयाँबराबरका सपिङ क्यास भौचर वितरण हुने बताइएको छ । उक्त भौचरमार्फत सपिङ सटही गर्न सकिनेछ । 

यस्तै, मलका पसलहरूबाट एक हजार रुपैयाँभन्दा माथिको खरिदमा बम्पर उपहार योजनामा सहभागी हुने कुपन प्राप्त गर्न सकिनेछ । बम्पर उपहारमा यमाहाको एफजेटएस एफभी थ्री बाइक, रे जेटआर स्कूटर, कुनै पनि गन्तव्यका लागि हवाई टिकट, एलजी ब्रान्डका विभिन्न होम अप्लाइन्सहरूलगायतका उपहार प्राप्त गर्न सकिने सिभिल मलका मार्केटिङ म्यानेजर अमीर ठकुरीले बताए । यसबाहेक मलका पसलहरूले पनि सामान खरिदमा २० देखि ५० प्रतिशतसम्मको फेस्टिभ छुट दिइरहेको उनले जानकारी दिए ।

लबिम मल, पुल्चोक
लत्ताकपडा, इलोक्ट्रोनिक्सलगायत एक सयभन्दा बढी पसल रहेको ललितपुरको पुल्चोकस्थित लबिम मलले पनि यो चाडपर्वका लागि लक्की ड्रमार्फत विभिन्न उपहार दिने योजना ल्याएको छ । यस मलमा सपिङ गर्ने ग्राहकले टीभीएसको आरटीआर बाइक तथा जुपिटर स्कूटरका साथै गोयन्का ब्रान्डका टीभी, वासिङ मेसिन, भ्याकुम क्लीनर, आइरनलगायतका होम अप्लायन्सहरू लक्की ड्रबाट जित्न सक्नेछन् । 

उपहार योजनामा सरिक हुने कुपन प्राप्त गर्न ग्राहकले कम्तीमा एक हजार रुपैयाँको सपिङ गर्नुपर्नेछ । यसबाहेक पनि मलमा रहेका पसलहरूले चाडपर्वको अवसरमा आकर्षक छुट दिइरहेको मलका मार्केटिङ म्यानेजर सम्राटनाथ योगीले बताए ।