BIZMANDU
www.bizmandu.com

एनआरएनएको निर्वाचन आज, अध्यक्षमा आचार्य र पन्तको प्रतिस्पर्धा, विभिन्न पदमा ४२ जना चुनिँदै

२०७६ असोज २९

एनआरएनएको निर्वाचन आज, अध्यक्षमा आचार्य र पन्तको प्रतिस्पर्धा, विभिन्न पदमा ४२ जना चुनिँदै
एनआरएनएको निर्वाचन आज, अध्यक्षमा आचार्य र पन्तको प्रतिस्पर्धा, विभिन्न पदमा ४२ जना चुनिँदै

Tata
GBIME
Nepal Life

काठमाडौं। गैरआवासीय नेपाली संघ(एनआरएनए)को नयाँ नेतृत्व चयन बुधवार हुँदैछ। संघको नेतृत्वका लागि बेलायतमा व्यवसाय गरिरहेका कुल आचार्य र जर्मनीमा होटल व्यवसाय गरिरहेका कुमार पन्तबीच प्रतिस्पर्धा हुँदैछ। निर्वाचनको नतिजा बेलुकै आउनेछ।

आचार्य र पन्त दुबै कठिन परिश्रमबाट विदेशमा व्यवसायको साम्राज्य फैलाउन सफल भएका व्यक्ति हुन्। पर्वतका आचार्यले बेलायतमा आफ्नै रेष्टेरेन्ट होली काउ स्थापना गरेका छन्। अहिले यो रेष्टुरेन्ट यूरोपभरि फैलाउने अभियानमा छन्।

गोरखाका पन्तले अध्ययनका सिलसिलामा वेल्जिमय हुँदै जर्मनीमा होटलमा काम गरेका थिए। अहिले जर्मनीमा उनी र गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष जीबा लामिछानेको लगानीमा तीन दर्जन होटल संचालनमा छन्। गैरआवासीय नेपालीको नेतृत्व लिन दुबै पक्षले राजनीतिक जोडघटाउ समेत प्रयोग गरिरहेका छन्। यो पटकको निर्वाचनमा आचार्य नेपाली कांग्रेस र पन्त वामपन्थी समूहको प्रतिस्पर्धाका रुपमा समेत हेरिएको छ।

दुबैको आ-आफ्नो प्यानल

पन्तको प्यानलमा बेलायतका डा हेमराज शर्माले महासचिवमा उम्मेदवारी दिँदै छन्। उनको पक्षमा डा. बद्री केसी (रुस) र सोनाम लामा (अमेरिका) ले उपाध्यक्षमा उम्मेदवारी दिएका छन्।

कुलले प्यानलबाट उपाध्यक्षहरुमा डा केशव पौडेल (अमेरिका), नरेन्द्र भाट (कतार), मन केसी (अस्ट्रेलिया) र रविना थापा (अमेरिका) रहेका छन्। यस्तै महासचिवमा जानकी गुरुङ र कोषाध्यक्षमा सोम सापकोटा रहेका छन्।

विभिन्न पदमा ४२ जना चुनिँदै

एनआरएनए सम्मेलनले विभिन्न १२ पदमा ४२ जना चयन गर्नेछ। अध्यक्ष एक जना, उपाध्यक्ष ५ जना (एक महिलासहित), महासचिव १ जना, सचिव २ जना, कोषाध्यक्ष, सहकोषाध्यक्ष, महिला संयोजक र युवा संयोजकमा १/१ जना निर्वाचित हुनेछन्।

प्रत्येक क्षेत्रीय समितिबाट एक/एक जना गरी ६ जना क्षेत्रीय संयोजकहरु विश्व सम्मेलनबाट निर्वाचित हुनेछन्।क्षेत्रीय उपसंयोजक अन्तर्गत यसपटक युरोप क्षेत्रबाट ३ जना निर्वाचित हुनेछन्। विधान बमोजिम युरोपमा ३ जना क्षेत्रीय उपसंयोजकका लागि निर्वाचन हुनेछ।

एसिया प्रशान्त, अफ्रिका र मध्यपूर्वबाट २/२ जना क्षेत्रीय उपसंयोजक छानिने छन्। उत्तर–दक्षिण अमेरिका र ओसेनियाबाट १/१ जना क्षेत्रीय उपसंयोजकमा निर्वाचित हुनेछन्।

यसैगरी प्रत्येक क्षेत्रबाट १/१ जनाका दरले ६/६ जना क्षेत्रीय महिला संयोजक र क्षेत्रीय युवा संयोजक चुनिने एनआरएनए निर्वाचन समितिले जनाएको छ। सम्मेलनका लागि विश्वभरबाट २५ सय प्रतिनिधि सहभागी हुन एनआरएनए सचिवालयले जनाएको छ।