BIZMANDU
www.bizmandu.com

दशैंपछि खुलेको कारोबारले लय समात्दै, मंगलबार शेयर सूचक र कारोबार दुबैमा सुधार

२०७६ असोज २८

दशैंपछि खुलेको कारोबारले लय समात्दै, मंगलबार शेयर सूचक र कारोबार दुबैमा सुधार
दशैंपछि खुलेको कारोबारले लय समात्दै, मंगलबार शेयर सूचक र कारोबार दुबैमा सुधार

Tata
GBIME
Nepal Life

काठमाडौं। दशैपछि खुलेको शेयर बजारले बिस्तारै लय समात्न थालेको छ। मंगलबार  भएको शेयर कारोबारमा सूचक र कारोबार रकम दुबैमा सुधार देखिएपछि बजारले लय समाएको हो।

मंगलबार नेपाल स्टक एक्सचेन्जको कारोबार मापक सूचक ५.०८ अंकले बढेर १२४२.०४ अंकमा उक्लिएको छ। पछिल्लो दुई कारोबार दिन बजार घटेको थियो। दुई कारोबार दिनमा सूचकले १२.४४ अकले गुमाएको थियो।

नेप्से सूचक सँगै कारोबार रकममा समेत सुधार देखिएको छ। मंगलबार १५० कम्पनीको ६ लाख ८९ हजार कित्ता शेयर करिब २२ करोड २४ लाख रुपैयाँमा किनबेच भयो। दसैँ पछि खुलेको शेयर बजारमा गत बिहीबार ६ करोड रुपैयाँको मात्रै कारोबार भएको थियो। सोमबार कारोबार रकम बढेर २१ करोड ८६ लाख पुग्यो। लगानीकर्ता फेस्टिभ मुडमै रहेका कारण पछिल्लो समय कारोबारले गति लिन सकेको थिएन।

तर विस्तारै बजारमा लगानीकर्ताको चहल पहल बढ्दै गएका कारण कारोबारमा पनि सुधार आएको हो। बजारमा सामान्यतया ५० करोड हाराहारीको कारोबारलाई औसत कारोबारको रूपमा लिने गरिन्छ। घट्दो बजारको अवस्था, त्रैमासिक व्याजको दबाब र लगानीकर्ताको मनोबल कमजोर भएका कारण बजारमा कारोबार कम भएको लगानीकर्ताहरू बताउँछन्।

मंगलबार सबैभन्दा बढी सिद्धार्थ बैकको शेयर कारोबार भयो। बैंकको चार करोड सात लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो।कारोबार रकमकै आधारमा एसियन लाइफ इन्स्योरेन्स कम्पनी दोस्रो भएको छ। एसियनको तीन करोड ६९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो। एक करोड ६० लाख रुपैयाँको शेयर कारोबार गर्दै प्रभु बैक तेस्रो भएको छ। 

मंगलबार कारोबार भएका सबै समूह सकारात्मक देखिएका छन्। उत्पादनमूलक बाहेक सबै सूचक बढेका छन्। मंगलबार १२ समूहको शेयर कारोबार भयो। सबैभन्दा बढी होटेल समूहमा ०.९७ प्रतिशतको वृद्धि देखिएको छ। ट्रेडिङ् र सामूहिक लगानी कोषमा कुनै परिवर्तन भएन।