BIZMANDU
www.bizmandu.com

असनका रैथानेले आज मात्रै लगाए दशैँको टीका, ६ महिनाका बोधी तुलाधरले गरे ‘पाया’को नेतृत्व


काठमाडौं। नेपालीहरुले विजया दशमीका दिन मंगलवार मान्यजनका हातबाट टीका र जमरा ग्रहण गरे।  यो क्रम आउन पूर्णिमासम्म चल्नेछ। तर, सारा देश टीकाको रौनकमा रमेपनि अपवादका रुपमा परापूर्वकालदेखि असनमा बसोबास गर्दै आएका नेवार समुदायले भने मंगलवारका दिन टीका लगाएनन्।

Tata
GBIME
Nepal Life

विशेषगरी असनकै रैथाने तुलाधर, शाक्य र बज्राचार्यहरुले विजया दशमीका दिन टीका नलगाएका हुन्। उनीहरुले विजयादशमीमा नभइ आज अर्थात एकादशीका दिन टीका लगाएका छन्। आजको दिनलाई उनीहरुले 'असं चालं' का रुपमा मनाउने गर्छन्। बाहिरबाट असनमा आएर त्यतै बसोबास गर्ने तुलाधर, शाक्य बज्राचार्यका साथै नेवार समुदायका अरु मानिसहरुले भने दशमीका दिन नै टीका लगाएका थिए।

असनका स्थानीय पूर्णमान डंगोलका अनुसार अन्नपूर्ण मन्दिरका पा:ला:, असं बहालका शाक्य, तक्ष बहालका ब्रजाचार्य र असनकै तुलाधरहरुले दशमीका दिन नभई एकादशीका दिन टीका लगाउने गर्छन्।

टीकाका दिन तुलाधरहरुले असनमा व्यापार गर्दै व्यस्त हुने भएकाले दशमीको भोलिपल्ट टीका लगाउने मान्यता रहेको स्थानीय बताउँछन्। अन्नपूर्ण जात्रा एकादशीमा मनाउने भएकाले पनि टीका पनि त्यही दिन लगाउने गरिएको जनविश्वास रहेको छ।

नयाँ थकाली

असं चालंकै अवसरमा असनकै रैथाने तुलाधरहरुले आज पाया निकाले। प्रायजसो टीकाका दिन काठमाडौं उपत्यकाका विभिन्न स्थानमा पाया निकाल्ने गरिन्छ। तर असनमा भने तुलाधरहरुले टीका लगाउने दिन अर्थात एकादशीका दिन मात्र पाया निकाल्ने गर्छन्। विजया दशमीका दिन ठूलाबडाहरुले खड्ग (हतियार)सहित पाया बनेर निस्कन्छन् भने असनमा असन गुठीमा रहेका तुलाधरहरु मध्य कान्छो बालकले खड्ग जात्राको सुरुवात गर्छन्।

यसवर्ष ६ महिनाका बोधी तुलाधरले थकालीका रुपमा असं पायाको नेतत्व गरे। यसअघि तीन वर्ष सायोन अराहन्त तुलाधरले पायाको नेतृत्व गरेका थिए।

असन गुठी अन्तर्गत १३ परिवारका पासनी सकाएका कान्छा सदस्यले हरेक वर्ष पायाको नेतृत्व गर्ने गर्छन्।

एकादशीका दिन असन चोकस्थति अन्नपूर्ण मन्दिरको पछाडी रहेको बाकुननी:को आगम घरबाट असं पाया निकालिन्छ। खड्ग समाएका व्यक्तिहरुले असनका भित्री भाग परिक्रमा गरि फेरी आगम घर पुगी त्यहाँ रहेको दानव आकृति बनाइएको भुइँफर्सी (कुभिन्डो) लाई खड्गले मार हान्ने गर्छन्।

एकादशीका दिन मात्र टीका किन?

असनका लाभरत्न तुलाधरका अनुसार असं चालंका बारे बुझ्न असनको नामका बारे बुझ्न जरुरी छ।

धाल्छिक बहालमा रहेको पुरानो शिलालेखमा यस स्थानको नाम 'अशोकमण्डप' उल्लेख थियो। अशोकले भारत वर्षमा शासन गरिरहेका बेला उनी स्वनिगः अर्थात् काठमाडौं उपत्यकामा आए। उनका चेलाहरुले विभिन्न स्थानमा चिबहाः र चैत्यहरु बनाए। अशोकले यस स्थानमा ती चिबहाः र चैत्यहरु बनाएका कारण यस स्थानको नाम 'अशोकमण्डप' बन्न गएको लाभरत्नले बताए।

नेपाली समाजमा ठूलो अक्षरलाई सानो बनाउने प्रचलन रहेको हुँदा अशोकमण्डपको नाम असन रहन गएको उनको भनाइ छ।

अशोकले यसलाई आफ्नो राज्य विस्तार गर्ने रणनीतिका रुपमा कदम चालेका थिए। तर जब उनले निग्रोथ भन्ने एक भिक्षुको शब्दहरु सुने, आफूले गल्ति गरिरहेकोमा पश्चताप गरे। राज्य विस्तारबाट मानिसहरुको मन मस्तिष्कमा बस्न सकिन्न भनेर उनले अशोकमण्डपमा विजया दशमीमा शस्त्र त्याग गरेको कथन रहेको लाभरत्नले बताए।

कालान्तरमा शक्तिको उपासना गर्ने एक समुदायको वर्चश्व कायम हुँदै गर्दा उनीहरुले शक्ति प्राप्तिका लागि भारतमा दुर्गा र यहाँ तलेजु भवानीको उपासना गर्न बाध्य बनाए। उपासना गर्दा पञ्चमकार (मद्य, मांस, मत्स्य, मुद्रा र मैथुन )को आवश्यकता हुन्थ्यो। त्यस अनुसार वध गर्नु पर्थ्यो।

तर जब उनीहरुले विजया दशमीमा असनमा पनि वध गर्नुपर्ने बताए, तब अशोकका विचार मान्दै आएकाहरुले उनीहरुलाई रोके। अशोकले अस्त्र त्याग गरेको स्थानमा बलि दिन नहुने अडान लिए। सारा देशले गरेको, असनमा मात्र नमनाउने कुरा पनि त भएन। त्यसैले दुई पक्षबीच दशमीको भोलिपल्ट बलि दिने सहमति भयो। यसैसँगै असनमा टीका दशमीको भोली पल्ट असं चालंका रुपमा मनाउने गरिएको उनी बताउँछन्।

नवमीका दिन यसैसँग सम्बन्धित असनको अन्नपूर्ण मन्दिरको दक्षिणमा रहेको यिता चपा ( दुई तल्ले डबली) मा गुठी संस्थानले बाँसमा झुण्डाएको भैरव ध्वज परिवर्तन गरेको थियो। बलि दिने भएपछि भैरवको साधना गरेर त्यसको क्षमा माग्दै भैरव ध्वज राख्ने प्रचलन रहेको छ। त्यस क्रममा त्यहाँ बोकाको बली दिने गरिन्छ। त्यस डबलीमा पहिला पहिला कुमार प्याखं हुने गरेको भए पनि धेरै वर्षदेखि सो प्याखं प्रदर्शन हुन सकेको छैन।