BIZMANDU
www.bizmandu.com

घाटाको व्यवसाय भन्दै बीमा कम्पनीहरु व्यक्तिको स्वास्थ्य बीमा गर्न हच्किँदै

२०७६ असोज २२

घाटाको व्यवसाय भन्दै बीमा कम्पनीहरु व्यक्तिको स्वास्थ्य बीमा गर्न हच्किँदै
घाटाको व्यवसाय भन्दै बीमा कम्पनीहरु व्यक्तिको स्वास्थ्य बीमा गर्न हच्किँदै

काठमाडौं। स्वास्थ्य बीमा गर्दा धेरै दावी पर्न थाले पछि बीमा कम्पनीहरु सामुहिक स्वास्थ्य बीमामा मात्रै केन्द्रित हुन थालेका छन्। 

Tata
GBIME
Nepal Life

अस्पताल तथा स्वास्थ्य चौकीले बीमा गरेका विरामी र बीमा नगरेका विरामीलाई गर्ने व्यवहार नै फरक देखिने गरेको बीमा कम्पनीहरु बताउछन्।

नाम चलेका अस्पताल तथा एमबिबिएस गरेका डाक्टरलेनै फर्जी बिल बनाउदा नेपालमा स्वास्थ्य बीमाको पोर्टफेलियो घाटामा देखिएको बीमा कम्पनीहरु बताउछन्। व्यक्तिगत रुपमा बीमा गर्दा प्रशासनिक खर्च धेरै हुने दावी भुक्तानी पनि धेरै जाने हुँदा बीमा कम्पनीहरुले संस्थागत रुपमा बीमा गराउने संस्थाहरुलाई मात्रै आवद्ध गर्ने गरेका छन्।

थोरै बीमा शुल्क लिएर धेरै ठूलो भार बोक्नुपर्ने भएपछि कम्पनीहले सर्वसाधारणलाई पोलिसी बिक्री नगरेका हुन्। तर केहि कम्पनीहरुका अनुसार पछिल्लो समय कर्मचारीहरुले स्वास्थ्य बीमाको पोलिसी खरिद गर्ने गरेका छन्। संस्थागत रुपमा बीमा गर्दा एउटै संस्थाको एक सय भन्दा बढी व्यक्तिको एकैपटक बीमा गर्दा केहि भए पनि बीमा शुल्क उठ्ने कम्पनीहरु बताउँछन्। 

दावी भुक्तानीको चरणमा पनि सम्बन्धित कम्पनीले सहयोग गर्ने भएकोले दावी गर्न सजिलो हुन्छ। स्वास्थ्य बीमाको पोलिसीमा यदि कोहि बीमित अस्पतालमा गएर चेक जाच गरायो तर डाक्टरले तपाई स्वस्थ हुनुहुन्छ भन्यो भने दाबी भुक्तानी गर्नु पर्दैन। तर डाक्टरले बिरामी आउने वित्तीकै बीमा गरेको र बीमा नगरेको विरामीलाई फरक व्यवहार गर्ने गरेको कम्पनीहरु बताउछन्। डाक्टरले रिपोर्ट बनाउँदा केहि नभए टाउको पेट दुखेको भन्दै कम्पनीहरुलाई रिपोर्ट दिने गरेका छन्। 

बिरामीनै नभइ डाक्टरहरुले रिपोर्ट बनाउन सक्ने अवस्थालाई बीमा कम्पनीहरुले केहि पनि गर्न नसक्ने बीमकहरु बताउँछन्।  
कम्पनीले व्यक्तिगत रुपमा बीमा गर्न आउने र सामुहिक रुपमा बीमा गर्न आउनेलाई फरक फरक बीमा शुल्क लिने गरेका छन्। कतिपय कम्पनीहरुले व्यक्तीगत रुपमा बीमा गर्न आउनेलाई यो सेवा दिने गरेका छैनन्।

स्वास्थ्य बीमाको मात्रै पोलिसी बिक्री गर्दा घाटा भए पछि कम्पनीहरुले अन्य बीमा पोलिसी खरिद गरेका कम्पनी तथा संस्थाका कर्मचारीहरुका लागि मात्रै यस्तो पोलिसी जारी गर्न थालेका हुन्। 

प्रिमियर इन्स्योरेन्स कम्पनी 
प्रिमियर इन्स्योरेन्स कम्पनीले स्वस्थ्य बीमाको लागि दुई वटा पोलिसी जारी गरेको छ। कम्पनीले मेडिकल इन्स्योरेन्स र मेडिसिटी हस्पिटल सँग टाइअप गरेर हस्पिटलाइजेन्सको सुविधा सहितको बीमा पोलिसी जारी गरेको छ। 

कम्पनीले व्यक्तीगत र संस्थागत रुपमा बीमा गर्नेहरुको लागि फरक फरक बीमा शुल्क तोकेको छ। यदि एक लाख रुपैयाँ बराबरको बीमाङ्क रकममा बीमा गर्दा बीमितले छ हजार पाँच सय २० रुपैयाँ भुक्तानी गर्नु पर्छ। त्यस्तै संस्थागत रुपमा बीमा गर्दा महिलाको लागि तीन हजार पाँच सय र पुरुषको लागि चार हजार पाँच रुपैयाँ बीमा शुल्क भुक्तानी गर्नु पर्ने कम्पनीले जनाएको छ। 

साधारण स्वास्थ्य बीमा गर्दा बीमितले औषधि, डाक्टर फि र अन्य चेक जाँच गरेको पैसा बीमा कम्पनीबाट प्राप्त गर्न सक्छन्। 

आइएमई जनरल इन्स्योरेन्स कम्पनी 
आइएमई जनरलले केहि अस्पताल सँग टाइअप गरेर क्यासलेस दाबी भुक्तानी हुने व्यवस्था गरेको छ। कम्पनीले सम्झौता गरेका अस्पतालमा बीमितले उपचार लिएमा सिधै भुक्तानी गर्ने व्यवस्था मिलाएको छ। त्यस्तै सम्झौता नगरेका अस्पतालमा उपचार गराएमा बीमित आफैले भुक्तानी लिनु पर्ने हुन्छ। 

बीमितको उपचार खर्च बीमाङ्क भन्दा धेरै लागेमा बीमित आफैले भुक्तानी गर्नु पर्छ। सेवा लिएको आधारमा बीमितले फरक फरक बीमा शुल्क भुक्तानी गर्नु पर्ने हुन्छ। यसका साथै स्वास्थ्य सँग सम्बन्धित सम्पुर्ण सेवा सुविधा लिने गरि पनि बीमा गर्न सकिन्छ। 

यदि बीमितले एक लाख रुपैयाँको बीमाङ्क रकम तोकेर बीमा गर्यो भने दुई हजार एक सय ५० रुपैयाँ बीमा शुल्क भुक्तानी गर्नु पर्छ। यदि अन्य परिवारको सदस्यको जोखिमलाई पनि कभरेज गर्नु परेमा उक्त शुल्कमा ५० प्रतिशत थप गर्नु पर्छ।  

एनएलजी इन्स्योरेन्स कम्पनी
एनएलजी इन्स्योरेन्स कम्पनीले स्वतन्त्र व्यक्तीको बीमा गराउदैन। कुनै कम्पनी वा संस्थाहरुले आफ्ना कर्मचारीहरुको एकमुष्ट स्वास्थ्य बीमा गर्नु परेमा मात्रै यो सेवा प्रदान गर्छ।

कम्पनीले ग्राहक र बीमा कम्पनीको आपसी सहमतिमा बीमा शुल्क निर्धारण गर्ने गरेको छ। कम्पनीले एक लाख रुपैयाँ बीमाङ्क रकमको लागि न्युनतम एक हजार तीन सय रुपैयाँदेखि पाँच हजार रुपैयाँसम्म बीमा शुल्क लिने गरेको छ।
सिद्धार्थ इन्स्योरेन्स कम्पनी 

सिद्धार्थ इन्स्योरेन्स कम्पनीमा यदि एक लाख रुपैयाँको बीमाङ्क रकमको पोलिसी खरिद गर्योर भने न्युनतम एक हजार पाँच सय ५० रुपैयाँदेखि अधिकतम चार हजार रुपैयाँसम्म प्रिमियम भुक्तानी गर्नु पर्छ। कम्पनीले व्यक्तिग रुपमा आउने र संस्थागत रुपमा आउने दुबैलाई पोलिसी बिक्री गर्दै आएको छ। कम्पनीले ३६ वटा अस्पताल सँग टाइअप गरेर क्यासलेस भुक्तानी सेवा प्रदान गर्दै आएको छ। 

शिखर इन्स्योरेन्स कम्पनी
शिखर इन्स्योरेन्स कम्पनीले संञ्चालन गरेको स्वास्थ्य बीमाको पोलिसी एक लाख रुपैयाँको बीमाङ्कमा न्युनतम दुई हजार रुपैयाँदेखि माथि प्रिमियम पर्न आउछ। बीमितको उमेरका आधारमा प्रिमियम रकम फरक फरक हुन्छ।

कम्पनीले व्यक्तिगत संस्थागत रुपमा बीमा गराउदा अझ सस्तो प्रिमियममा बीमा गराउछ। कम्पनीले २९ वटा अस्पताल सँग टाइअप गरेर क्यासलेस दाबी भुक्तानीको व्यवस्था गरेको छ। 

 

नेको इन्स्योरेन्स कम्पनी

नेको इन्स्योरेन्स कम्पनीमा स्वास्थ्य बीमा गर्दा एक लाख रुपैयाँको बीमा गरेमा दुई हजार पाँच सय रुपैयाँ प्रिमियम भुक्तानी गर्नु पर्छ। बीमाङ्क रकम, उमेरका आधारमा प्रिमियम फरक फरक पर्न जान्छ। कम्पनीले व्यक्तिगत र संस्थागत दुबै तर्फको बीमा गराउदै आएको छ।

  
युनाइटेड इन्स्योरेन्स कम्पनी 
युनाइटेडले व्यक्तिगत रुपमा स्वास्थ्य बीमा गराउने गरेको छैन। कुनै पनि संस्था तथा कम्पनीका कर्मचारीहरुको एकमुष्ठ रुपमा मात्रै बीमा पोलिसी बिक्री गर्ने गरेको छ।

युनाइटेडमा बीमा गर्दा सामुहिक दर्घटना बीमा अनिवार्य रुपमा गराउनु पर्छ। त्यस पछि मात्रै स्वास्थ्य बीम हुन्छ। यदि एक लाख रुपैयाँ बराबरको बीमाङ्क रकमको बीम गरियो भने प्रतिव्यक्ति तीन हजार पाँच सय रुपैयाँसम्म प्रिमियम भुक्तानी गर्नु पर्छ। बीमितले सामान्य ज्वोरोदेखि हस्पिटलाइजेन्सनसम्मको सुविधा पाउछन्। 

सगरमाथा इन्स्योरेन्स कम्पनी
सगरमाथाले न्युनतम दुई लाख रुपैयाँको बीमाङ्क रकमदेखि १० लाख रुपैयाँसम्मको बीमा गराउने गरेको छ। यदि २० वर्ष भन्दा मुनिको मानिसले दुई लाख रुपैयाँको बीमा गरायो भने वार्षिक दुई हजार छ सय ७० रुपैयाँको बीमा शुल्क भुक्तानी गर्नु पर्छ। उमेर समुह अनुसार प्रिमियम रकम फरक फरक पर्न आउछ। 

कम्पनीले सामुहक रुपमा स्वास्थ्य बीमा लिनेहरुको लागि थप सस्तोमा सुविधा दिने जनाएको छ। समुहिक रुपमा बीमा गराउन सम्बन्धित व्यक्तीको परिवारका अन्य सदश्यहरुको पनि जोखिम कभरेज हुन्छ। यसका लागि थप प्रिमियम भुक्तानी गर्नु पर्छ। 

एभरेष्ट इन्स्योरेन्स कम्पनी 
एभरेष्ट इन्स्योरेन्स कम्पनीमा स्वास्थ्य बीमा गर्दा न्युनतम एक लाख रुपैयाँको बीमाङ्क रकममा न्युनतम एक हजार छ सय रुपैयाँ पर्न आउछ। उमेर अनुसार प्रिमियम रकम फरक फरक पर्न आउछ। यदि परिवार सहितको बीमा गरेमा यस्तो शुल्क १३ हजार रुपैयाँ भन्दा माथि पर्न आउछ। 

अजोड इन्स्योरेन्स कम्पनी 
अजोड इन्स्योरेन्स कम्पनीमा एक लाख रुपैयाँको स्वास्थ्य बीमा गर्यो भने न्युनतम दुई हजार पाँच सय रुपैयाँ पर्न आउछ। बीमितको उमेर अनुसार प्रिमियम रकम फरक फरक पर्न आउछ। यदि परिवार सहितको बीमा गर्यो भने उक्त बीमाङ्क रकमको बीमा शुल्क चार हजार पाँच सय रुपैयाँ पर्न आउछ। कम्पनीले व्यक्तिगत र सामुहिक दुबै तर्फको बीमा गराउने गरेको छ। 

कम्पनीले दाबी परेको एक साताभित्रै दाबी भुक्तानी गर्ने व्यवस्था मिलाएको छ। आवस्यक काजगपत्र पुगेको खण्डमा एक साता भन्दा धेरै समय नलाग्ने कम्पनीले जनाएको छ। 

जनरल इन्स्योरेन्स कम्पनी 
जनरल इन्स्योरेन्स कम्पनीमा एक लाख रुपैयाँ बीमाङ्कको बीमा गर्यो भने न्युनतम एक हजार पाँच सय रुपैयाँ पर्न आउछ। यसमा हस्पिटलाइजेसन हुँदा मात्रै दाबी गर्न पाइन्छ।

त्यस्तै संस्थागत रुपमा बीमा गरियो भने सोही बीमाङ्क रकममा प्रतिव्यक्ति दुई हजार रुपैयाँ पर्न आउछ। यसमा साधारण चेक जाचको पनि दाबी लिन पाइन्छ। कम्पनीले अधिकतम तीन लाख रुपैयाँसम्मको बीमाङ्कमा मात्रै बीमा गर्ने गरेको छ। 

सानिमा जनरल इन्स्योरेन्सले व्यक्तिगत रुपमा स्वस्थ्य बीमा गर्दैन। कम्पनीले सामुहिक रुपमा ‍संस्थागत स्वास्थ्य बीमा बिक्री गर्दै आएको छ। 

अधिकांस कम्पनीको ध्यान व्यक्तिगत रुपमा स्वास्थ्य बीमा गराउनु भन्दा होलसेलमा कर्मचारीहरुको मात्रै बीमा गर्नतिर केन्द्रित भएको छ। निर्जीवन बीमा व्यवसायमा बीमितले समयमा दाबी नपाउँदा सर्वसाधारणहरु आकर्षित देखिदैनन्। कतिपय कम्पनीहरुले दावी भुक्तानीलाई प्राथमिकता दिएर बिजनेस लिइरहेको पाइन्छ।