वीरगंज। निम्बस होल्डिङ प्रालिको सक्रियतामा आधा दर्जन भन्दा बढि व्यापारिक घारानाको १ अर्ब ३४ करोड रुपैयाको संयुक्त लगानीमा तराईका तीन ठाउँमा आधुनिक अन्न भण्डारन कक्ष बन्ने भएको छ।
अबको डेढ वर्ष भित्रै ति स्थानहरुमा अन्न भण्डारण कक्ष सञ्चालनमा आइसक्ने बताइएको छ।
निम्बस होल्डिङको नेतृत्वमा शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड, प्रोबायोटेक इण्डष्ट्रिज प्रालि, श्रीनगर एग्रो फर्मस प्रालि, टिएनए इन्भेष्टमेन्ट र एनएमबी बैंकलगायतको साझेदारीमा दर्ता भएको नेपाल वेयर हाउसिङ्ग कम्पनी लिमिटेडले तीनवटा कोल्ड स्टोर निर्माण गर्न लागेको हो।
सुनसरीको गढी गाउँपालिका वडा नं २ औराबनी, पर्साको पर्सागढी नगरपालिका र कपिलवस्तुको चन्द्रौटामा क्रमशः १५,२५ र १५ हजार गरी ५५ हजार मेट्रिक टन क्षमताको आधुनिक विधिबाट सञ्चालन हुने अन्न भण्डारण कक्ष निर्माण हुने नेपाल वेयर हाउजिङ्ग कम्पनी लिमिटेडका प्रबन्ध निर्देशक आनन्दकुमार अग्रवाल बगडियाले जानकारी दिए ।
तीनै ठाउँमा ४–४ विघा क्षेत्रफलमा अन्न भण्डारण युनिट निर्माण शुरु भइरहेको पनि जानकारी गराए ।
‘घटस्थापनाको दिन सुनसरीको गढि गाउँपालिका वडा नं २ मा कम्पनीको पहिलो शाखाको शिलान्यास गरेका छौ,’उनले भने,‘शिलान्यासको ६ महिना भित्र भण्डारण कक्षा परिक्षण गरी सञ्चालन गरिनेछ ।’ पर्सा र कपिलवस्तुमा पनि तिहारपछि निर्माण कार्य शुरु गरिने उनले जानकारी गराए ।
उनले अबको डेढ वर्ष भित्रै तिनै जिल्लाको अन्न भण्डारण शाखा सञ्चालन गर्ने कम्पनीको लक्ष्य रहेको स्पष्ट पारे ।
अन्न भण्डार राम्रोसंग गर्न नसकेर सयौ टन अन्न नष्ट भएर कम मूल्यमा समय अगावै बेच्नु पर्ने बाध्यता छ ।
अर्को तिर अन्न खरिदबिक्रीमा बिचौलियको प्रभाव हावी रहेको हुदाँ यस्तो अन्न भण्डारणले ती सबै किसानको समस्यालाई हल गर्दै सुविधा दिनुको साथै किसानको आय आर्जनमा सहयोग गर्ने उदेश्य राखिएको छ ।
किसानले ल्याएको अन्नलाई कम्पनीले सफाई गरी उचित तापक्रममा चिस्याएर राख्नुको साथै आर्थिक कारोबार गराउने पनि काम गर्ने नेपाल वेयर हाउजिङ्ग कम्पनी लिमिटेडका परियोजना संयोजक निश्चित अर्यालले बताए ।
उनले भने,‘किसानले ल्याएकै दिन कम्पनीले मूल्याकंन गरी एउटा रसिद दिन्छ,सो रसिदको सहयोगमा कम्पनीभित्रै रहेको विभिन्न बैंकको शाखाबाट किसानले कुल मूल्याकनको ७० प्रतिशत सम्म कर्जा लिन सक्छ भने भोलि अन्नको भाउ उच्च भएको बेला बेचेर कर्जा चूक्ता गरी आर्थिक लाभ लिन सक्छ ।’
किसानको अन्न सड्ने,गल्ने,नष्ट हुने सस्या अब हल हुने भए,किसान पनि ढुक्कका साथ,बाली भित्रियाई अन्न भण्डारण गरी अर्को बाली लगाउन तर्फ अग्रसर हुने उनको भनाई छ ।
यो अवधारणा अनुसार,विचौलियाको प्रभावलाई न्यूनिकरण गर्ने, माइक्रो बैंकिङको सेवा प्रदान गर्ने,किसानको वितिय क्षेत्रको सेवाहरुमा पहुँच बढ्ने, अन्न बजारको क्षमता बढ्ने, सरकारी निकायबाट अनुगमन नियमन सहज र सरल हुने, शाखा सञ्चालनमा आएको जिल्ला वा छिमेकी जिल्लामा कृषि केन्द्रीत औद्यौगिक क्षेत्रको रुपमा विकासमा मद्दत पु¥याउने र सोही अनुरुप सरकारले कृषक माझ कृषिका कार्यक्रम सञ्चालन गर्न सक्ने परियोजनाको विशेषता रहेको छ ।