BIZMANDU
www.bizmandu.com

चीन जोड्ने नाका धमाधम स्तरोन्नती हुँदै, सुरुङमार्ग बने तीन घण्टामै काठमाडौंबाट केरुङ पुगिने

२०७६ असोज १६

चीन जोड्ने नाका धमाधम स्तरोन्नती हुँदै, सुरुङमार्ग बने तीन घण्टामै काठमाडौंबाट केरुङ पुगिने
चीन जोड्ने नाका धमाधम स्तरोन्नती हुँदै, सुरुङमार्ग बने तीन घण्टामै काठमाडौंबाट केरुङ पुगिने

Tata
GBIME
Nepal Life

रसुवा। चीनसँग जोडिने रसुवागढी नाकासम्म पुग्ने सडक एसियाली मापदण्डको बन्ने भएको छ।

रसुवागढीको मितेरी पुलसम्म पुग्ने सडक आगामी तीन बर्षमा पुरा गर्ने गरि डेडिकेटेड डबल लेनमा विस्तार थालिएको गल्छी -रसुवागढी सडक आयोजना प्रमुख नारायणदत्त भण्डारीले जानकारी दिए।

उनका अनुसार गल्छी – मैलुङ  ४६ (किमी),मैलुङ – स्याफ्रुवेशी (१९ किमी) र स्याफ्रुवेशीदेखि रसुवागढी (१७ किमी)गरि तीन खण्डमा काम अघि बढाईएको छ। तीनमध्ये दुईटा खण्डको ठेक्का लागेर काम नै सुरु भइसकेको छ भने एउटा खण्डको ठेक्का निकाल्ने तयारी भैरहेको आयोजनाले जनाएको छ।

पहिलो खण्ड गल्छीदेखि मैलुङसम्म आर्थिक बर्ष २०७२/७३ मा ठेक्का लागेर काम भइरहेको छ। यो खण्डको ५० प्रतिशत काम पूरा भैसकेको आयोजनाले जनाएको छ। यो सडक खण्डको ठेक्का कोभेक तुन्दी रसुवा कन्स्ट्रक्सनले पाएको छ। २० किमीभन्दा बढी कालोपत्रे भइसकेको यो खण्ड २०७७/७८ मा सक्ने लक्ष्य राखिएको छ।

मैलुङ देखि स्याफ्रुवेशी खण्डको ठेक्का निकाल्ने अन्तिम तयारीमा आयोजना रहेको छ। विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) भैसकेको छ। अर्थमन्त्रालयले समेत स्वीकृत दिईसकेकाले जतिसक्दो छिटो ठेक्का निकाल्ने तयारी भैरहेको आयोजना प्रमुख भण्डारीले जानकारी दिए। यो सडकको ट्रयाक नेपाली सेनाले खोलेको हो। गत वैशाखमा ट्रयाक खोलेर सडक विभागलाई हस्तान्तरण गरिएको हो।

सेनाले हजार किलोमिटरभन्दा बढी सडकको ट्रयाक खोलिसकेको छ। भौगौलिक रुपले अप्ठ्यारा र विष्फोटक पदार्थ प्रयोग गर्नुपर्ने भुगोलहरुमा ट्रयाक खोल्ने जिम्मा सेनालाई दिईन्छ। सामान्य ग्रेड र इन्जिनियरिङ मापदण्ड नमिलाएको भन्दै इन्जिनियरहरुले सेनाले आलोचना गर्ने गरेका छन्। तर मैलुङ स्याफ्रवेशीको हकमा भने आयोजना प्रमुख भण्डारीले नै सेनाले प्रशंसा गरे। 'यो सडकमा ग्रेड पनि मिलेको छ। इन्जिनियरिङ मापदण्ड पुरा गर्दै चट्टान काटिएको छ,’ उनले भने।

यो सडक निर्माण थालेको ३० महिना सक्ने गरि टेण्डर निकाल्न लागिएको छ। वैशाखमा मात्रै ट्रयाक खोलिएकाले अहिले सडक हिलाम्मे र ठाउ ठाउँमा पहिरो जान्छ। तर लोडर राखेर बर्खामा पनि सडक भने संचालन भइरहेको। यो सडकको ट्रयाक खोलिएसँगै धुन्चे पुगेर झर्नुपर्ने बाध्यता हटेको छ। यो ट्रयाक खोलेपछि २६ किलोमिटर सडक छोट्याएको छ।

तेस्रो अर्थात रसुवागढीसम्म जोडिने अन्तिम खण्ड चिनियाँनै बनाईदिन लागेको छ। स्याफ्रुवेशीदेखि रसुवाढीसम्म पुग्ने सडक चिनियाँ पक्षले काम सुरु गरिसकेको छ। शनिवार चिनियाँ पक्षहरुले 'ग्राउण्ड ब्रेकिङ सेरोमोनी' गरेर काम सुरु भैसकेको जानकारी दिएको छ। अक्टोबर ८ बाट साईटमा कन्स्ट्रक्सनको काम सुरु गर्ने तयारी गरेको छ।

यो समयसम्म साईटमा क्याम्प राख्ने,इक्विपमेन्टहरु ल्याउने,कामदार तयार गर्ने लगाएतका कामहरु हुनेछ भने नेपाली पक्षबाट साईट क्लियर र सहजीकरण हुने आयोजना प्रमुख भण्डारीले जानकारी दिए। करिव साढे चार अर्ब रुपैयाँ खर्चेर नेपालतर्फको सडक बनाईदिन लागेको हो।

चिनियाँ अधिकारीहरुले यो सडक दुई देश जोड्ने प्राथमिकता राखेको बताएका छन् । उनीहरुले मितेरी पुलदेखि केरुङसम्म कालोपत्रे सडक निर्माण गरिसकेका  छन्।अहिले रसुवागढीमा एक लेनको सडक छ।  एउटा सवारीसाधन विग्रिए घण्टौसम्म जाम हुन्छ।

दुईटा सुरुङमार्ग बनाउने योजना

रसुवागढीसम्म पुग्ने सडकमा दुईवटा टनेल र नयाँ एलाईन्टमेन्टबाट ३२ किलोमिटर सडक कालोपत्रे गर्ने योजना समेत अघि सारिएको छ। योजना पुरा भए काठमाडौंबाट तीनघण्टामा सहजै केरुङ पुग्न सकिन्छ।

टोखा छहरे र स्याफ्रुवेशी – वेत्रावती सुरुङमार्ग निर्माण गर्न लागिएको हो। यसका लागि चिनियाँ पक्षलाई बनाईदिन आग्रह गरिने भएको छ। चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका क्रममा प्रस्ताव गर्न मन्त्रालयको निर्देशनमा फाईल तयार पारिएको विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख  अर्जुनजंग थापाले जानकारी दिए।

उनका अनुसार टोखा -छहरे सुरुङमार्ग करिव ७ किलोमिटर हुनेछ।सुरुङमार्गसंगै जोडेर वेत्रावतीसम्म पुग्ने करिव ३२ किमी सडक डबलमा निर्माण गर्ने योजना रहेको छ। अध्ययन देखि निर्माणसम्म गरिदिन प्रस्ताव गर्न लागिएको हो। करिव ३० अर्ब रुपैया लाग्ने प्रारम्भिक अनुमान छ।

वेत्रावती- स्याफ्रुवेशी सुरुङमार्गसँगै पहिरो गैरहने स्थानमा स्लोव स्टेवलाईजेसन, रक सेट लगायतका प्रस्ताव समेत समेटिएको छ। यो सुरुङमार्ग अहिले चिनियाँ पक्षले निर्माण गरिरहेको स्याफ्रुवेशीसम्मको सडकसँग जोडिनेछ।