BIZMANDU
www.bizmandu.com

एफएनसीसीआईको राजनीतिमा भाष्करको ‘इन्ट्री,’ उपाध्यक्षहरुको पत्रकार सम्मेलन कसले के भने?

२०७६ असोज १५

एफएनसीसीआईको राजनीतिमा भाष्करको ‘इन्ट्री,’ उपाध्यक्षहरुको पत्रकार सम्मेलन कसले के भने?
एफएनसीसीआईको राजनीतिमा भाष्करको ‘इन्ट्री,’ उपाध्यक्षहरुको पत्रकार सम्मेलन कसले के भने?

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका वहालवाला तीन उपाध्यक्ष र महासंघबाट वाहिरिएका पूर्व वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकारसहितले विधान संशोधन गरेर अध्यक्षका लागि चुनाव गर्ने र विशिष्ट सदस्य पद हटाउन नहुनेमा लविङ थालेका छन्।

महासंघका जिल्ला/नगर उपाध्यक्ष किशोरकुमार प्रधान, वस्तुगत उपाध्यक्ष उमेशलाल श्रेष्ठ, एशोसिएट उपाध्यक्ष चन्द्रप्रसाद ढकाल र राजकर्णिकारले संयुक्त पत्रकार सम्मेलन गरेर अध्यक्षमा निर्वाचन हुनेगरि विधान संशोधन हुनुपर्ने धारणा राखेका थिए। कार्यक्रममा प्रधान,श्रेष्ठ र राजकर्णिकारले विधान संशोधनको वर्षबाटै अध्यक्षको निर्वाचन हुनुपर्ने धारणा राखेका थिए भने एशोसिएट उपाध्यक्षले भने वरिष्ठ उपाध्यक्षलाई स्वत: अध्यक्ष हुन दिने वा नदिने बारे विशेष साधारणसभाबाट निर्णय हुने बताएका थिए।

कार्यक्रममा जिल्ला/नगर उपाध्यक्ष प्रधानले सबैको समान अधिकारका लागि विधान संशोधन गर्न लागेको बताए। वस्तुगत उपाध्यक्ष श्रेष्ठले तीन वर्ष अघि भएको विधान संशोधनले राजतन्त्रको जन्म भएको बताए। उनले कात्तिक २९ गते हुने साधारणसभाले राजतन्त्र अन्त्य हुने बताउँदै विधान संशोधन आवश्यक रहेको धारणा राखे।

राजकर्णिकारले अध्यक्षमा निर्वाचन हुने प्रणाली आवश्यक रहेको बताउदै संस्थामा राजकुमार शैली हटाउनुपर्ने बताए। उनले विधान संशोधन गरेर त्यही वर्षबाट अध्यक्षको निर्वाचन हुनुपर्ने बताए। कार्यक्रममा महासंघका विशिष्ठ सदस्य चण्डीराज ढकाल भने मञ्चमा थिएनन्। उनी पत्रकार सम्मेलनमा दर्शकदीर्घमा बसेका थिए।

वरिष्ठ उपाध्यक्ष शेखर गोल्छालाई स्वत: अध्यक्ष हुनबाट रोक्नका लागि यो संशोधनमा लबिङ भएको हो। तीन साता अघि सात जना पूर्व अध्यक्षले चण्डीराज ढकालको हालीमुहाली रोक्दै वरिष्ठ उपाध्यक्ष शेखर गोल्छालाई स्वत: अध्यक्ष बनाउने गरि विधान संशोधनका लागि आग्रह गर्दै महासंघको टेकु कार्यालयमा निवेदन दिएका थिए।

उनीहरुले महासंघबाट विशिष्ट सदस्य हटाउनुपर्ने माग गरेका थिए। विशिष्ट सदस्यमा नियुक्त भएर महासंघको राजनीतिमा दाउपेच लगाउने चण्डीलाई रोक्ने गरिनै पूर्व अध्यक्षहरुले विशिष्ठ पद खारेज गर्नुपर्ने माग गरेका थिए। स्रोतका अनुसार पूर्व अध्यक्षलाई काउन्टर दिनकै लागि पत्रकार सम्मेलन गरिएको हो।

जिल्ला नगरको मतभार ५० प्रतिशत हुने भएकाले यो समूहबाट दुई जना उपाध्यक्ष बनाउन गरिएको विधान संसोधनको प्रस्तावलाई यो समूहले समर्थन गरेको छ। दुई उपाध्यक्ष हुने भए ढकालले चाहेको उम्मेदवारलाई जिताउन र त्यसले विधान संसोधन नै गर्नका लागि सहज हुने उद्देश्यसहित यो संशोधन प्रस्ताव गरिएको हो।

योवाहेक पनि वस्तुगत संघ महासंघको विशिष्ठ समूह भएकाले मतभार २५ प्रतिशत बनाउने गरि संशोधन हुनुपर्ने पक्षमा यो समूह छ। अहिले वस्तुगतको मतभार २० प्रतिशत मात्रै छ।

वस्तुगतको मतभार बढाउँदा त्यसको फाइदा पनि ढकालले चाहेका उम्मेदवारलाई हुने अपेक्षा उक्त समूहको छ। एशोसिएटमा बलिया रहेका शेखरलाई कमजोर बनाउनकै लागि त्यहाँको पाँच प्रतिशत मतभार वस्तुगततर्फ लैजान खोजिएको हो।