BIZMANDU
www.bizmandu.com

हिमालय ब्रुअरी र त्रिशक्ती डिष्ट्रिलरीमा सिजी होल्डिङको लगानी विस्तार, डेढ अर्बको मूल्याङ्कन

२०७६ असोज १४

हिमालय ब्रुअरी र त्रिशक्ती डिष्ट्रिलरीमा सिजी होल्डिङको लगानी विस्तार, डेढ अर्बको मूल्याङ्कन
हिमालय ब्रुअरी र त्रिशक्ती डिष्ट्रिलरीमा सिजी होल्डिङको लगानी विस्तार, डेढ अर्बको मूल्याङ्कन

Tata
GBIME
Nepal Life

काठमाडौं। अटोमोबाइल, हाउजिङ र हस्पिटालिटीमा लगानी गरिरहेको सिजी होल्डिङले मदिरा उद्योगमा पनि लगानी विस्तार गरेको छ। अरुण चौधरीको नेतृत्वमा रहेको यो समूहले ललितपुरमा रहेको हिमालय ब्रुअरी र त्रिशक्ती डिस्टिलरीको सेयर स्वामित्व खरिद गरेको हो।

आर्थिक संकटमा परेपछि सविनभक्त जोशी र अरविन्ददाश जोशीको लगानीमा रहेको हिमालय ब्रुअरी र त्रिशक्ती डिष्ट्रलरी लामो समयदेखि बन्द थिए। कागजातअनुसार बन्द रहेका यी दुई उद्योगमा सिजी होल्डिङ्ले ४९ प्रतिशत शेयर लगानी गरेको छ। दुवै कम्पनीमा ५१ प्रतिशत स्वामित्व भने पूरानै लगानीकर्तासँग छ।

अरविन्द र सविनभक्त दुवै चार्टर्ड एकाउन्टेन्ट हुन्। उनीहरुले पुतली सडकमा जोशी एण्ड भण्डारी एसोसिएट्स नामक चार्टर्ड एकाउन्टेन्सि फर्म चलाउँछन्। सविनभक्त हिमालयन ब्रुअरीका अडिटर थिए। सुरुका लगानीकर्ता गोपालबहादुर शाहीले ब्रुअरी बिक्री गर्ने जानकारी पाएपछि जोशीले २०६७ सालमा उद्योग किनेका हुन्। उनीहरु दुवै जना असन इन्द्रचोकका पूराना वासिन्दा हुन्। उनीहरुको पुतली सडकमा हार्डवेयर पसल पनि छ।

अरुण चौधरी पनि मदिरा उद्योगमा प्रवेश गरेसँगै चौधरी समूहका तीन भाई नै मदिरा उद्योगमा आएका छन्। जेठा विनोद चौधरीको सिजी ब्रुअरी छ भने माइला वसन्त चौधरीले गतवर्ष मात्रै खुकुरी रम उत्पादन गर्ने नेपाल डिष्ट्रलरीमा शरद टिवडेवालसँग साझेदारीमार्फत लगानी विस्तार गरेका थिए।

यो डिलमा संलग्न एक अधिकारीका अनुसार पुराना लगानीकर्ताले हिमालय ब्रुअरीको मूल्यांकन एक अर्ब ७४ करोड रुपैयाँ र डिष्ट्रलरीको मूल्याङ्कन ४५ करोड रुपैयाँ गरी दुई अर्ब २० करोड गरेका थिए। गोदावरीमा ब्रुअरीसँग ४६ रोपनी र डिष्ट्रलरीसँग १७ रोपनी गरी ६३ रोपनी जग्गा छ। छलफल पछि दुवै कम्पनीको गरी मूल्याङ्कन एक अर्ब ५० करोड रुपैयाँ हाराहारी गरिएको थियो।

मूल्यांकनअनुसार साउनमा नै शेयर स्वामित्व हस्तान्तरण भैसकेको छ भने भदौदेखि सिजीबाटै व्यवस्थापन हेर्ने गरि संजय ठाकुरलाई पठाइएको छ।

सुरुमा साउनमै सिजीले व्यवस्थापन लिने भनिए पनि शेयर हस्तान्तरण ढिला हुँदा भदौ पुगेको स्रोतले बतायो। चेकमा हस्ताक्षर लगायतका सबै व्यवस्थापकीय अधिकार ठाकुरलाइ नै दिइएको छ। उद्योगको ब्राण्ड हेडमा राजेन्द्र गुरुङलाई ल्याइएको छ।

स्रोतका अनुसार उद्योगको संचालकमा सिजी होल्डिङका तर्फबाट अध्यक्ष अरुण चौधरी, उनकी श्रीमती शिला चौधरी र व्यवस्थापन हेर्ने गरी संजय पुगेका छन् भने पूरानो समूहबाट अरविन्द र सविनभक्त संचालक छन्।

सन् १९८० मा स्थापना भएको हिमालयन ब्रुअरीसँग ललितपुरको गोदावरीमा ६३ रोपनी जग्गा छ। पायोनियर इन्डियन ब्रुअर मोहन मेक्किनसँगको संयुक्त लगानी तथा प्राविधिक सम्झौता पछि सन् १९८३ फेब्रुअरीदेखि यो उद्योगले वियर उत्पादन थालेको थियो।

यो कम्पनीबाट उत्पादित आइसबर्ग वियर लोकप्रिय थियो। उद्योगबाट आइसबर्गवाहेक काठमाण्डू र कमान्डो वियर समेत उत्पादन हुन्छ। सन् २०१० मा नेपाली समूहले चलाउन थालेपछि उद्योगका उत्पादन प्रतिस्पर्धामा कमजोर सावित भएका थिए। गत वर्ष १० करोड भ्याट तिर्न नसकेपछि तीन महिना उद्योगनै बन्द भएको थियो। स्रोतका अनुसार भ्याट वापतको १० करोड रुपैयाँ पूरानै लगानीकर्ताले तिरेका थिए।

स्रोतका अनुसार सिजी समूहले लिनु अघि यो उद्योग बन्दजस्तै थियो। ‘उद्योग चलाउन आवश्यक नगद प्रवाह नै थिएन। त्यस कारण उद्योग केही महिना चल्ने र बन्द हुने गरेको थियो’, स्रोतले भन्यो, 'सिजीले किनेपछि अहिले पूर्ण रुपमा उद्योग चलेको छ।’ गत वर्षसम्म हिमालयन ब्रुअरीको बजार हिस्सा दुई प्रतिशतभन्दा कम थियो। उद्योगबाट १५ हजार हेक्टोलिटर वियर उत्पादन हुने गरेको थियो।

यही कम्पनी अन्तर्गत रहेको त्रिशक्ती डिस्टिलरीको समेत बजार हिस्सा अत्यन्तै न्यून छ। यो उद्योगबाट कन्ट्री क्लब भोड्का, भिग्रा ह्विस्की, त्रिशक्ती डायमण्ड जिन लगायत उत्पादन हुँदै आएका छन्।