BIZMANDU
www.bizmandu.com

चार वर्षपछि पाँच तारे एभरेष्ट होटल आइतबारदेखि खुल्यो, अहिले ८० रुम मात्रै संचालनमा

२०७६ असोज १३

चार वर्षपछि पाँच  तारे एभरेष्ट होटल आइतबारदेखि खुल्यो, अहिले ८० रुम मात्रै संचालनमा
चार वर्षपछि पाँच तारे एभरेष्ट होटल आइतबारदेखि खुल्यो, अहिले ८० रुम मात्रै संचालनमा


Tata
GBIME
Nepal Life

काठमाडौं। भूकम्पका कारण बन्द भएको पाँच तारे एभरेष्ट होटल आइतबारदेखि संचालनमा आएको छ। सफ्ट ओपनिङ भएको होटलमा अहिले ८० कोठा मात्रै संचालनमा ल्याएको छ।

होटलमा १ सय ६० रुमको क्षमता छ। पूर्ण रुपमा संचालनमा आउन थप तीन महिना लाग्ने होटलका एक उच्च कर्मचारीले बिजमाण्डूलाई बताए।पारिवारिक मुद्दामामिला अदालतमा प्रवेश गरेपछि सञ्चालनमा अप्ठेरो परिरहेका बेला भूकम्प गएपछि होटल बन्द भएको थियो। गत असोज २४ मा सर्वोच्चले मुद्दा टुङ्गो लगाइदिएपछि होटल पुन: सञ्चालन गर्न निर्माण थालिएको थियो।

भूकम्पका कारण होटलको पाँच वटा पिलरमा समस्या देखिएको थियो। जापानको प्रख्यात विशेषज्ञ मियामोटोले होटलको सम्पूर्ण संरचनागत काम गरेको थियो। होटलका पाँच वटा पिलर 'रेट्रोफिटिङ' गरिएको छ।

होटल पुनर्निर्माण तथा सञ्चालनका लागि जनता बैंकले ऋण लगानी गरेको छ। बैंकले ७५ करोड रुपैयाँ ऋण दिएको छ । होटल स्रोतका अनुसार, १२ करोड रुपैयाँ निर्माणका लागि प्रयोग भएको छ भने ८ करोड रुपैयाँ ब्याज पूँजीकरण भएको छ। ५० करोड रुपैयाँ पुराना ऋणहरु भूक्तानीका लागि प्रयोग हुने छ।

निर्माणका सबै काम सकिएपछि होटललाई पाँच करोड चालु पूँजी आवश्यक पर्छ। होटलले लिएको ऋण प्रति कोठा ५२ डलरमा मात्रै बिक्री गर्न सके पनि भूक्तानी हुन्छ। अहिले पाँचतारे होटलको न्यूनतम कोठको दर १०० डलर छ।

होटलमा सञ्चालकहरुको जनता बैंकमा ७५ करोडवाहेक लुम्बिनी विकास बैंकलगायत केही वित्तीय संस्थाहरुमा अरु पाँच करोड गरी कुल ८० करोड रुपैयाँ ऋण छ। होटल पुनर्निर्माण गर्न लगानीकर्तालै आफ्नो केही स्वपूँजी पनि प्रयोग गरेका छन्।

भारतीय नागरिक नज्मा लारी र मस्कुर लारीको प्रमुख लगानी रहेको होटलको बानेश्वरवाहेक अन्य ठाउँमा पनि स्थिर सम्पति छ। बानेश्वरको सम्पति धितो राखेर जनता बैंकले ऋण प्रवाह गरेको छ।

होटल ३२ रोपनीमा फैलिएको छ। २०२७ सालमा उद्योग विभागबाट सञ्चालन स्वीकृति लिएको होटललमा सुरुको लगानी मकबुल अहमद लारीको थियो। अहिले भने मकबुलका भतिजा मस्कुर र भतिजी बुहारी नज्माको लगानी छ। यसबाहेक छोरा मुजब्फर अहमद लारीको पनि थोरै शेयर हिस्सा छ।

२०६१ जेठ ४ मा होटलका मुली मकबुलको निधन भएपछि उनका छोरा मुजब्फरले बुबाको शेयर आफ्नो नाममा हस्तान्तरण गर्न मस्कुर र नज्मालाई भनेका थिए। उनीहरुले काकाले पहिले नै त्यो शेयर आफूलाई बेचेको भन्दै नामसारी गरिदिएनन्। त्यसपछि मुद्दा अदालतमा प्रवेश गरेको थियो।