BIZMANDU
www.bizmandu.com

उपत्यका वाहिर जाने गाडीको ‘फिटनेश टेष्ट’, चार वटालाई चलाउन रोक, सुरक्षित यात्रा अभियान

२०७६ असोज १२

उपत्यका वाहिर जाने गाडीको ‘फिटनेश टेष्ट’, चार वटालाई चलाउन रोक, सुरक्षित यात्रा अभियान
उपत्यका वाहिर जाने गाडीको ‘फिटनेश टेष्ट’, चार वटालाई चलाउन रोक, सुरक्षित यात्रा अभियान


Tata
GBIME
Nepal Life

काठमाडौं। दशैंको एक साताअघि नयाँ बसपार्कबाट दैनिक साढे चार सय गाडी उपत्यका वाहिर जान्छन्। 

लामो दूरीमा जाने बसको ‘फिटनेश चेक’ नहुँदा धेरै यात्रु बाटोमै अलपत्र पर्ने समस्या सँधै दोहोरिन्छ। गाडीको फिटनेश चेक नहुँदा बिग्रिएर अलपत्र पर्ने मात्रै होइन दुर्घटनाको घट्ना पनि अरु बेलामा भन्दा बढीनै हुने गर्थ्यो। 

दशैंमा सुरक्षित यात्राका लागि यातायात व्यवस्था विभाग, टाटा गाडीको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र नयाँ बसपार्क व्यवस्थापनको जिम्मा पाएको लोत्से बहुउदेश्यीय सहकारी संस्थाबीच छलफल भयो। 

छलफलले नयाँ बसपार्कबाट उपत्यका बाहिर जाने सबै गाडीको ‘फिटनेश टेस्ट’ गर्ने निर्णय भयो। यो निर्णय अनुसार शनिबारदेखि लामो यात्रा गर्ने सबै गाडीको चेकजाँच गरेर मात्रै वाहिर पठाउने गरिएको छ। 

गाडी परिक्षणका लागि सिप्रदीको सुविधा सम्पन्न वर्कशप नयाँबस पार्क भित्रै छ। सिप्रदीले वर्कशपमा ११ वटा ‘वे’ र वाहिर पाँच वटा ‘वे’ मार्फत प्रत्येक गाडीको चेकजाँच गर्दै आएको छ। 

सिप्रदीका दक्ष प्राविधिकले गाडीको चेकजाँच गर्ने र गाडीमा ठूलै खराबी आएमा यातायात व्यवस्था विभागलाई जानकारी गराउँछ। 

‘उपत्यका वाहिर दशैं मनाउन जाने प्रत्येक नेपाली सुरक्षित रुपमा घरसम्म पुर्याउने अभियान अनुसार हामीले गाडीको चेकजाँच सुरु गरेका हौं। गाडीमा प्राविधिक समस्या आएर कुनै समस्या नहोस् भन्ने हाम्रो चाहना हो’ सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले बिजमाण्डूसँग भने,’गाडीमा समस्या आएर यात्रु बाटोमै अलपत्र पर्ने अवस्था आउनु हुँदैन भन्ने हाम्रो मान्यता हो।’ 

उनका अनुसार पहाडमा वर्कशप लगायतका मर्मत गर्ने ठाउँ पनि नहुने भएकाले त्यसतर्फ जाने गाडीलाई अझै चनाखो भएर चेकजाँच भइरहेको छ। 

सिप्रदीले भेहिकल टेस्टको चेकलिस्ट बनाएको छ। कम्पनीले ब्रेक, एक्सिलेटर, ब्रेक आयल लगायतको चेक गर्दै आएको छ। चेकजाँच गर्दा ठूलै समस्या आएमा वर्कशपमा मर्मत समेत हुन्छ भने त्यस्ता गाडीलाई रोक लगाउन विभागलाई जानकारी गराउँछ। ट्राफिक प्रहरीका अनुसार चेकजाँचका क्रममा ठूलै समस्या देखिएका चार वटा गाडीलाई चलाउन रोक लगाइएको छ।

‘यान्त्रिक रूपमा ठिक नभएका गाडीलाई हामी यात्रामा पठाउँदैनौँ। बाटोमा सवारी बिग्रिएर यात्रुले दुख नपाउन भन्ने उदेश्यसहित चेकजाँच गरिएको हो,’ ट्राफिक महाशाखाका एसएसपी भीम ढकालले बिजमाण्डूसँग भने,’ हामीले अहिलेसम्म ४ वटा गाडीलाई यान्त्रिक चेक गर्दा गडबडी पाएकोले रोक लगाइसकेका छौं।‘ 

उनका अनुसार नागढुंगा- नौविसे सडकखण्ड जाम हुनुमा सवारी साधन विग्रिनु प्रमुख कारण रहेको पाइएको छ। ढकालले  असोज ५ गतेदेखि ११ गतेसम्म ६८ वटा सवारी साधन यही खण्डमा विग्रिदा १२ घण्टा भन्दा बढी जाममा यात्रुहरु बस्नुपरेको थियो भने जामकै कारण एक विरामीको मृत्यु समेत भएको थियो।

 सिप्रदीका सिईओ श्रेष्ठका अनुसार एउटा गाडी चेकजाँचका लागि १५ मिनेट लाग्छ। आठ घण्टामा ५ सय ४४ वटा गाडी चेकजाँच गर्न सकिने कम्पनीले जनाएको छ। यो चेकजाँच असोज १७ गतेसम्म हुने कम्पनीले जनाएको छ।

देशैभरि २३ वटा मोबाइल भ्यान
सिप्रदीले राजमार्गमा गाडी विग्रिएर यात्रु अलपत्र नपरुन भनेर देशैभरि २३ वटा मोबाइल भ्यान संचालनमा ल्याउने भएको छ। यो मोबाइल भ्यानले राजमार्गमा कुनै समस्या आउनेवित्तिकै मर्मतका लागि पुग्नेछन्।

‘हामीसँग २३ वटा मोबाइल भ्यान छ। ५३ वटा आफ्नै वर्कशप छ। ९० वटा सानो मर्मत गर्नसक्ने वर्कशप छ’, कम्पनीका प्रमुख संचालन अधिकृत राजेश गिरीले बिजमाण्डूसँग भने,’हाम्रो मोबाइल भ्यान २४ घण्टा मर्मतका लागि तयार छन्।’ 

उनका अनुसार कम्पनीको टोल फ्रि नम्बरमार्फत गाडी मर्मतका लागि जानकारी गराउन सकिन्छ। ‘हाम्रो टोल फ्रि नम्बर ९८०१५७५७७७,१६६००१५५७७७ मा फोन गरेर गाडी विग्रिएको जानकारी दिएपछि मोबाइल भ्यान बनाउन आइपुगिहाल्छ,’ गिरीले भने,’गाडी के भएको हो? कहाँ विग्रिएको हो? लगायतका सूचना भने राम्रोसँग दिनुपर्छ।’