BIZMANDU
www.bizmandu.com

भ्रमण वर्षको पूर्वसन्ध्यामा पाँच विदेशी वायुसेवा कम्पनी नेपालमा उडान गर्न ईच्छुक


भ्रमण वर्षको पूर्वसन्ध्यामा पाँच विदेशी वायुसेवा कम्पनी नेपालमा उडान गर्न ईच्छुक
भ्रमण वर्षको पूर्वसन्ध्यामा पाँच विदेशी वायुसेवा कम्पनी नेपालमा उडान गर्न ईच्छुक

Tata
GBIME
Nepal Life

काठमाडौं। भ्रमण वर्षको पूर्वसन्ध्यामा पाँच वटा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले नेपालमा उडान गर्न चासो देखाएका छन्।

पर्यटन मन्त्रालयका अनुसार थाइ एयर एसिया, जजिरा, भिस्तारा, स्पाइस जेट, फिन एयरले उडान गर्न चासो देखाएका हुन्। मन्त्रालय स्रोतका अनुसार कतिपयले उडान अनुमति माग्दै मन्त्रालयमा आवेदन दिइसकेका छन्। आवेदन दिएका केही कम्पनीको मन्त्रालयले अध्ययन गरिरहेको छ।

मन्त्रालय स्रोतका अनुसार थाइ एयर एसिया हाल अध्ययनमै रहेको छ। यसअघि एयर एसियाले मलेसिया-काठमाडौं उडान गरेको थियो। एयर एसियाले यात्रु अभाव भएपछि मलेसिया-काठमाडौं उडान भने बन्द गरेको छ। वैदेशिक रोजगारीमा जाने कामदारलाई लक्षित गर्दै संचालनमा ल्याएको वजेट एयरलाइन्स मलेसिया रोजगारी बन्द भएपछि उडान रोकेको थियो।

यस्तै फिनल्याण्ड-नेपालबीच दुई पक्षीय हवाई सम्झौता नभएको कारण फिनल्याण्डको ध्वजावाहक कम्पनी फिन एयरले तत्कालै उडान गर्न सक्दैन्। 'फिन एयरले नेपाल उडानका लागि चासो देखाएको छ। तर दुईपक्षीय हवाई सम्झौंता भएको छैन। त्यसैले तत्कालै उडान गर्न पाउँदैन्,' मन्त्रालय स्रोतले भन्यो।      

कुवेतको जजिरा एयरलाइन्सले नेपाली आकाशमा उडान गर्न चासो देखाएको छ। सन् २००४मा स्थापना भएको यो निजी वायुसेवा कम्पनीले खाडी क्षेत्रमा उडान गर्दै आएको छ। हाल यो वायुसेवा कम्पनीले अहमदावाद, वहराईन, काइरो, दिल्ली, दोहा, इस्तानबुल, रियाद  लगायत विभिन्न ३५ वटा गतब्यमा उडान गर्दै आएको छ।

यो वायुसेवा कम्पनीले एयरबस ३२० र एयरबस ३२० नियो प्रकारका जहाजमार्फत उडान गर्दै आएको छ। कम्पनीले सन् २०१७मा मिडल इस्ट लो कस्ट एयरलाइनको अवार्ड हासिल गरेको जनाएको छ।

जेट एयरवेज बन्द भएपछि काठमाडौं-भारत उडान बजार हिस्सा ओगट्नका लागि दुईवटा वायुसेवा कम्पनीले नेपाल उडानमा चासो देखाएका छन्। भिस्तारा र स्पाइस जेटले चासो देखाएका हुन। नेपाल उडान गर्न चाहने भिस्तारा नयाँ कम्पनी हो भने स्पाइस जेटले तीन वर्ष अगाडि उडान गरिसकेको छ। 

टाटा सन्स र सिंगापुर एयरलाइन्सको संयुक्त लगानीमा सन् २०१३ मा यो कम्पनी स्थापना भएको हो। यो कम्पनीमा टाटाको ५१ प्रतिशत शेयर छ भने सिंगापुर एयरलाइन्सको ४९ प्रतिशत शेयर छ। सन् २०१५ मा दिल्ली-मुम्वई उडान सुरु गरेको यो कम्पनीले २३ वटा एयरबस ३२० र नौ वटा बोइङ ७३७ मार्फत साताको १२ सय वटा उडान गर्दै आएको छ। कम्पनीले हाल दिल्ली, मुम्वई, राँची, अमृतसार, बैंगलोर, हैदरावाद लगायत भारतका विभिन्न २७ गन्तब्यमा उडान गर्दै आएको छ।

भारतीय वायुसेवा कम्पनी स्पाइस जेटले तीनवर्ष पछि पुनः नेपाल उडान गर्दैछ। कम्पनीले नोभेम्बरदेखि मुम्वई-काठमाडौं-दिल्ली र दिल्ली-काठमाडौं-मुम्वई नियमित उडान गर्ने जनरल सेल्स एजेन्ट जेनिथ ट्राभलले जनाएको छ।

'स्पाइस जेटले यसअघिनै नेपाल उडान गरिसकेको छ। लामो समय उडान रोकिएको कारण प्राधिकरणले यो कम्पनीको पुनः अध्ययन गर्दैछ।' मन्त्रालय स्रोतले भन्यो। पाँच वटा अन्तर्राष्ट्रिय उडानले भ्रमण वर्षलाई सघाउने मन्त्रालयको दाबी छ।