BIZMANDU
www.bizmandu.com

बिओकेका पूर्व सिइओ अजय श्रेष्ठ पक्राउ प्रकरण: जुनसुकै बेला जो पनि पक्राउ पर्ने अवस्था


बिओकेका पूर्व सिइओ अजय श्रेष्ठ पक्राउ प्रकरण: जुनसुकै बेला जो पनि पक्राउ पर्ने अवस्था
बिओकेका पूर्व सिइओ अजय श्रेष्ठ पक्राउ प्रकरण: जुनसुकै बेला जो पनि पक्राउ पर्ने अवस्था

Tata
GBIME
Nepal Life

काठमाडौं। २०७१ फागुनमा हेटौंडाका सुरेन्द्र श्रेष्ठले झापाको जग्गा धितो राखेर बैंक अफ काठमाण्डू (बिओके) बाट साढे चार करोड रुपैयाँ ऋण स्वीकृत गराए।

स्वीकृत गराएको केही समयपछि उनले ऋण तिर्न बन्द गरे। बैंकले ताकेता गर्न थाल्यो। उनले ऋण तिर्दिन भनेपछि बैंक ब्यवस्थापनले धितो लिलाम गरेर उठाउने निर्णय गर्यो।

लिलामीको प्रकृया अगाडि बढाउँदा बल्ल थाहा भयो- श्रेष्ठले राखेको धितो खोला रहेको र उनले बुझाएको सबै कागजपत्र नक्कली हुन्।

कागजपत्र नै नक्कली भएको बैंकले एक बर्षअघि मात्रै थाहा पायो। त्यसपछि बैंकले ऋणीलाई सम्झाइबुझाइ ऋण उठाउन पहल गर्यो तर ऋण उठ्ने छाँटकाँट देखिएन। कागजपत्र नक्कली भएकाले बैंकले ऋणीलाई बैंकिङ कसुर अनुसार कारवाही गर्न कार्यान्वयन निकाय प्रहरीमा पठाउनु पर्छ। 

बैंकले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) मा नपठाउँदा बैंक व्यवस्थापन जिम्मेवार हुन्छ। त्यही भएर बैंकले दुई महिनाअघि प्रहरीलाई ऋणीमाथि छानविन गर्न लिखित उजुरी गर्यो।

प्रहरीले उजुरी परेको १० दिन अर्थात साउन २४ गते ऋणी सुरेन्द्र श्रेष्ठलाई पक्राउ गर्यो। उनले बैंकलाई ठगी गर्न उपाय सिकाएका भुपेन्द्र श्रेष्ठको नाम दिए। प्रहरीले भुपेन्द्रलाई पनि पक्राउ गर्यो।

उनीहरुले प्रहरीलाई दिएको बयानका आधारमा बैंकका अन्य कर्मचारी र पूर्व सिइओ अजय श्रेष्ठसहित १९ जना पक्राउ परिसकेका छन्। अजयलाई बैंकले शुक्रबार पक्राउ गर्यो भने बिओकेका कर्मचारीलाई बिहीबार पक्राउ गरेको थियो। प्रहरीले आइतबार अदालतबाट सात दिनको म्याद थपेर अनुसन्धान गरिरहेको छ।

यसरी भयो ठगी
पक्राउ परेका ऋणीहरुले प्रहरीलाई दिएको बयानमा गिरोह नै बनाएर बैंक ठग्दै हिँडेको उल्लेख गरेका छन्। नक्कली कागजपत्र देखाउने, नक्कली धितो तयार पार्ने अनि ऋण स्वीकृत गराएर आफूखुसी प्रयोग गर्ने गरेको बयान उनीहरुले प्रहरीलाई दिएका छन्।

ऋण लिनका लागि सुरेन्द्रले बैंकका पूर्वाञ्चल हेर्ने बिजिनेस हेड गणेश लम्साललाई माध्यम बनाएको देखिन्छ। गणेशसँग पहिलेदेखि नै राम्रो सम्बन्ध बनाएका कारण उनीहरुले ऋण स्वीकृत गराउन सजिलो भएको बताएका छन्।

धितो हेर्नका लागि लम्साल गएका थिए। उनलाई प्रहरीले भदौ १५ गते पक्राउ गरेको थियो। उनी बैंकबाट अवकाश भइसकेका छन्।

धितोको मूल्याङ्कन 'स्वतन्त्र भ्यालुएटर' भेषराज खत्रीले गरेका थिए, उनी अहिले फरार छन्। भ्यालुएटर बैंकको कर्मचारी हुँदैनन्। बैंकले सुचीकृत गरेको स्वतन्त्र ब्यक्ति तथा संस्था मात्र भ्यालुएटर हुन्छन्। 

उनले दिएको मूल्याङ्कन प्रतिवेदनका आधारमा केन्द्रीय कार्यालय काठमाडौंबाट ऋणको फाइल तयार पारिएको छ। ऋणको फाइल तयार पारेको अभियोगमा बैंककी कर्मचारी सुष्मा शाह पक्राउ परिसकेकी छिन्। धितो ठिक छ र ऋणीले तिर्न सक्छ भन्ने विवरणसहित भ्यालुएटरको मूल्याङ्कन प्रतिवेदन आएपछि मात्र ऋणको फाइल तयार हुन्छ। 

ऋणको फाइल विद्यमान ऐन कानुनभित्र बसेर तयार भएको छ/छैन भनेर बैंकको जोखिम तथा अनुपालन विभागले हेर्छ। त्यहाँकी कर्मचारी ऋचा श्रेष्ठले उपलब्ध कागजपत्र हेरेर नियम/कानुन पालना भएको देखिएपछि त्यसलाई प्रमाणित गरेकी छिन्। उनलाई पनि प्रहरीले पक्राउ गरिसकेको छ।

त्यसपछि ऋणको फाइल स्वीकृतिका लागि प्रमुख विजिनेस अफिसर पुष्पराज भण्डारी कहाँ पुग्छ। तलबाट फाइल उठेको, मूल्याङ्कन प्रतिवेदन पनि राम्रो आएको र नियमसंगत हिसाबले फाइल आएको प्रमाणित भएपछि उनले ऋण स्वीकृति गर्छन्। उनी पनि पक्राउ परिसकेका छन्।

तलबाट ऋण दिन योग्य भनेर स्वीकृतिका लागि फाइल तत्कालिन प्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठकोमा पुग्छ। उनले पनि फाइल स्वीकृत गर्छन् अनि ऋणीले पैसा पाउँछ। ऋणीले प्रिन्टिङ काम गर्ने कम्पनी स्वर्णिम एण्ड सिजनका नाममा साढे चार करोड रुपैयाँ पैसा पाउँछन्।

'यहाँनेर ऋणी र धितो मूल्याङ्नकर्ताको गलत मनसाय थियो भन्ने प्रष्ट देखिन्छ' बैंक ब्यवस्थापनले भन्यो, 'धितो हेर्न जाने बैंक कर्मचारीसम्म पनि गलत नियत थियो कि भनेर शंका गर्ने ठाउँ देखिन्छ। तर त्यसमाथि फाइल पुगेपछि उनीहरु कसैलाई पनि केही थाहा हुँदैन। उनीहरुले कागज हेरेर निर्णय गर्ने हुन्।'

शंका गर्ने ठाउँ कसरी बन्यो
ऋणीहरुले प्रहरीलाई दिएको बयानमा उनीहरु सुरुमा ऋण माग्न मेगा बैंक नेपाल गएक थिए। मेगा बैंकले ऋणीलाई नपत्याएपछि उनीहरु बिओके गएका हुन्।

'एउटा बैंकले शंका गरेर ऋण नदिने अनि अर्कोले ऋण दिने भएपछि यहाँ चलखेल भएको त त्यसै प्रष्ट हुन्छ' प्रहरी स्रोतले भन्यो, 'यहाँ एक/दुई जना ब्यक्ति होइन गिरोह नै सक्रिय भएको हामीले पाएका छौं।'

सरकारी पहल
अजय बैंकिङ क्षेत्रमा एकदमै राम्रो नाम बनाएका ब्यक्ति हुन्। नेपाल राष्ट्र बैंकले पनि कतिपय नियमन तथा सुपरीवेक्षण बारेमा जानकारी लिनु परेमा उनीसँग लिने गरेको थियो।

'बैंकर्स संघमा पनि अजयबाट राम्रो राम्रो अनुपालन र जोखिमका क्षेत्रमा काम भएका छन्' एक बैंकरले भने, 'एकदमै सादा जीवन भएको मान्छे हो उहाँ। त्यसमाथि जोखिममा उहाँको एकदमै ठूलो विज्ञता छ।'

भद्र बैंकरका रुपमा नाम बनाएका अजयको पक्राउपछि बैंकरहरुले राष्ट्र बैंक र अर्थमन्त्रालयसँग छलफल गरेका थिए। बैंकर्स संघ आफै भने कहीँ पनि पहलकदमीमा अगाडि देखिएको छैन।

राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले आवश्यक अनुसन्धान गर्न अजयले सघाउने भन्दै बाहिरै राखेर बयान लिन आग्रह गरेका थिए। बैंकरले अर्थमन्त्री डा. युवराज खतिवडलाई पनि पहलका लागि आग्रह गरेका थिए।

उनले 'अजय असल बैंकर भएकाले आवश्यक सहयोग गर्ने' जवाफ दिएका थिए। गभर्नर डा. चिरञ्जिबी नेपालले बैंकर पक्राउ गर्नुअघि राष्ट्र बैंकलाई सोध्नका लागि आवश्यक नीति बनाउने आश्वासन गरेका थिए।

प्रहरीको दलिल
प्रहरीले उपलब्ध प्रमाणका आधारमा अनुसन्धान गर्न पक्राउ गरेको जनाएको छ। अदालतसँग समय लिएर अनुसन्धान भइरहेकाले अहिले नै कसैलाई दोषी देखाएर मुद्दा हाल्ने अवस्था नरहेको प्रहरीको दलिल छ।

'पक्राउ पर्ने बित्तिकै उहाँहरु दोषी हो भन्ने होइन। हामी अनुसन्धान गरिरहेका छौं' स्रोतले भन्यो, 'ऋण दूरुपयोगमा प्रत्यक्ष संलग्नता देखिनेहरुलाई मात्र हामी मुद्दा हाल्छौं। अहिले थप केही पनि बताउन सकिँदैन।'

फकाएर पक्राउ
बैंकले ऋणीका बारेमा उजुरी दिएपछि सुरेन्द्र र भुपेन्द्रलाई पक्राउ गर्यो। उनीहरुको बयानका आधारमा प्रहरीले यो ऋण प्रकरणमा जोडिएका मान्छेहरु को को हुन् भनेर बैंकलाई पटक पटक सोध्यो।

यसरी सबैको नाम संकलन गरेपछि प्रहरीले बैंकका वहालवाला र पूर्व कर्मचारीहरुलाई पक्राउ गरेको छ। पछिल्लो समय 'अनुसन्धानका लागि केही कर्मचारीहरुसँग कुरा बुझ्नु थियो। चिया पनि खाउँ अनि कुरा पनि गरौंला' भनेर प्रहरीले बैंक ब्यवस्थापनलाई कर्मचारी पठाइदिन अनुरोध गरेको थियो।

प्रहरीको अनुरोधमा अनुसन्धानमा सहयोग पुर्याउन भन्दै बैंक ब्यवस्थापनले सम्बन्धि कर्मचारीलाई ब्यूरो कार्यालय पठाएको थियो। 'अब उहाँहरु केही समय हामीसँगै रहनु हुन्छ' भनेर प्रहरीले ती कर्मचारीलाई पक्राउ गरेको थियो।

बैंकरमा डर
अजय लगायत बैंकका कर्मचारीहरु पक्राउ परेपछि बाँकी बैंकका बहालवाला र पूर्व कर्मचारीहरुसमेत आत्तिएका छन्। प्रहरीलाई सहयोग गर्दागर्दै पनि पक्राउ पर्ने अवस्था रहेको भन्दै उनीहरु आत्तिएका हुन्।

'हिजो सबै कागजपत्र मिलेको अवस्थामा ऋण दिइएको हुन्छ। आज आएर ऋण नउठ्दा पक्राउ परिने अवस्था रह्यो' एक बैंकरले भने, 'यसरी त काम गर्नै नसकिने अवस्था भयो।' उनका अनुसार, बैंकिङ कसुर ऐनको सिद्धान्त र आसयमाथि बहस गर्नुपर्ने अवस्था आएको छ।

'आज फलानो बैंकको फलानाहरु त पक्राउ परे भनेर हेरिएला' ती बैंकरले भने, 'भोलि निर्दोष हुँदा हुँदै बाघले सबैलाई खाने अवस्था भयो। कोही पनि बैंकर स्वभिमानका साथ बैंकिङ क्षेत्रमा बस्न नसक्ने अवस्था भयो।'