BIZMANDU
www.bizmandu.com

शेयर बजारमा तत्काल २ अर्ब रुपैयाँ आउने बाटो खुल्यो, २१ ब्रोकर कम्पनीले कर्जा दिन सक्ने 

२०७६ असोज १

शेयर बजारमा तत्काल २ अर्ब रुपैयाँ आउने बाटो खुल्यो, २१ ब्रोकर कम्पनीले कर्जा दिन सक्ने 
शेयर बजारमा तत्काल २ अर्ब रुपैयाँ आउने बाटो खुल्यो, २१ ब्रोकर कम्पनीले कर्जा दिन सक्ने 

Tata
GBIME
Nepal Life

काठमाडौं। केन्द्रिय निक्षेप प्रणाली (सिडिएससी) ले मार्जिन सुविधाको लागि छुट्टै हितग्राही खाता खोल्ने व्यवस्था गरेपछि लगानीकर्ताहरुले मार्जिन कर्जा पाउने भएका छन्। 

सिडिएससीले मार्जिन कारोबार राफसाफ सम्बन्धमा धितोपत्र केन्द्रिय निक्षेप सेवा विनियमावली २०७६ को पाँचौ संशोधन गरि मार्जिन कर्जाका लागि छुट्टै हितग्राही खाता खोल्ने व्यवस्था गरेको हो। 

ब्रोकरहरुले लामो समयदेखि मार्जिन कारोबारका लागि लगानीकर्ताहरुको छुट्टै हितग्राही खाता हुनु पर्ने माग गर्दै आएका थिए। ब्रोकरको मागलाई संवोधन गर्दै नेपाल धितोपत्र बोर्डले बाटो खुला गरिदिएको थियो। 

यस विनियमावलीको संशोधनपछि मार्जिन सुविधा प्रदान गर्ने ब्रोकरहरुले सिडिएससीमा मार्जिन खाता खोल्नु पर्नेछ। यस खातालाई मास्टर खाता भनिन्छ। मास्टर खाता खोलेका ब्रोकरहरुले मार्जिन सुविधाको लागि आउने लगानीकर्ताहरुलाई यसअन्तर्गत रहेर छुट्टै हितग्राही खाता प्रदान गर्ने छन्। 

नेपाल स्टक एक्सचेन्जबाट अहिलेसम्म २१ वटा ब्रोकरहरुले मार्जिन सुविधा प्रदान गर्ने अनुमति लिएका छन्। मार्जिन सुविधा प्रदान गर्ने ब्रोकरहरुको न्युनतम नेटवर्थ ५ करोड रुपैयाँ हुनु पर्ने व्यवस्था गरिएको छ। नियम अनुसार ब्रोकरहरुले नेटवर्थको दुई गुणासम्म मार्जिन सुविधा प्रदान गर्न सक्छन्। यस आधारमा अहिले अनुमति पाएका ब्रोकरहरुले कम्तिमा पनि दुई अर्ब १० करोड रुपैयाँको मार्जिन सुविधा प्रदान गर्न सक्ने छन्। 

अहिलेसम्म ब्रोकरहरुले चाहेर पनि मार्जिन सुविधा प्रदान गर्न नसेककोमा आजदेखि मार्जिन सुविधा प्रदान गर्ने सम्पुर्ण बाटो खुला भएको ब्रोकर एशोसिएसनका अध्यक्ष भरत रानाभाटले जानकारी दिए। उनले भने ‘पसल खुल्यो अब किन्ने र बेच्ने तयार हुनु पर्यो।’

मार्जिन कर्जाको व्याजदरलाई नेपाल धितोपत्र बोर्डले खुला छाडिदिएको छ। ब्रोकरहरुले जथाभावी व्याज लिन थालेमा बोर्डले आवश्यक हस्तक्षेप गर्न सक्ने व्यवस्था गरेको छ। अहिलेको अवस्थामा ब्रोकरहरुले दिने मार्जिन कर्जाको व्याजदर आपसी सहमतिमा प्रवाह हुने रानाभाटले बताए। 

ब्रोकरहरुले केहि पैसा आफ्नै जगेडामा भएको र केहि पैसा बाणिज्य बैंकहरुबाट कर्जा लिएर लगानी गर्नु पर्ने भएकोले ब्याज बैंकहरुको भन्दा बढि  हुने अध्यक्ष रानाभाटले जानकारी दिए। तत्काल २१ वटा ब्रोकरले मात्रै दुई अर्ब रुपैयाँभन्दा माथिको कर्जा प्रवाह गर्दा पनि बजार थप चलायमान हुने उनले बताए। 

अन्य बैंकहरुले प्रवाह गर्ने शेयर कर्जा भन्दा ब्रोकरले प्रदान गर्ने मार्जिन कर्जा लिन केहि सजिलो हुने एक ब्रोकरले जानकारी दिए। बजारमा थप लगानीको स्रोत आएको हुँदा यसले बजारलाई सपोर्ट गर्ने उनले बताए। मार्जिन कर्जाका लागि लिएको पैसा बजारभन्दा बाहिर जान सक्दैन। साथै यस्तो कर्जा नेपाल स्टक एक्सचेन्जले तोकेका कम्पनीहरु भन्दा बाहिरका कम्पनीमा लगानी गर्न पाइदैन।