BIZMANDU
www.bizmandu.com

विद्युत प्राधिकरणले ३१ अर्ब २५ करोडको आइपिओ ल्याउने, व्यवसायिक घरानालाई प्राथमिकता

२०७६ भदौ २९

विद्युत प्राधिकरणले ३१ अर्ब २५ करोडको आइपिओ ल्याउने, व्यवसायिक घरानालाई प्राथमिकता
विद्युत प्राधिकरणले ३१ अर्ब २५ करोडको आइपिओ ल्याउने, व्यवसायिक घरानालाई प्राथमिकता

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले अहिलेसम्मकै ठूलो प्राथमिक शेयर निष्काशन गर्ने तयारी गरेको छ। प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङले चुक्ता पूँजीको २५ प्रतिशत प्राथमिक शेयर सर्वसाधारणलाई बिक्रीका लागि प्रकृया अघि बढाउने बताए।

हाल प्राधिकरणको चुक्ता पूँजी एक खर्ब २५ अर्ब रुपैयाँ छ। यसको २५ प्रतिशत अर्थात ३१ अर्ब २५ करोड रुपैयाँको प्राथमिक शेयर सर्वसाधारणको लागि बिक्री गर्न लागिएको हो। यो शेयर पूँजी धेरै भएकाले सबैभन्दा पहिलो चरणमा नेपालका व्यवसायिक घरानालाई लक्षित गरेर शेयर निकाल्ने योजना बनाएको प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले जानकारी दिए।

उनले भने ‘नेपालको सन्दर्भमा यो रकम सबैभन्दा धेरै हो। शेयर बिक्न गाह्रो हुने भएकोले सबैभन्दा पहिले व्यवसायिक घरानालाई लक्षित गर्नेछौ।’ पछिल्लो समय जलविद्युत कम्पनीको प्राथमिक शेयर बिक्न सकेको छैन।

उर्जा मन्त्री वर्षमान पुनले पनि यस अघिनै प्राधिकरण ऐन र वित्तीय पुनः संरचना योजना अनुसार सर्वसाधारणलाई शेयर निष्काशन गर्ने बताएका थिए। उनले नेपाल टेलिकमजस्तै सर्वसाधारणलाई लगानीको लागि प्रेरित गर्ने योजना बनाएको बताएका थिए।

उनले प्राधिकरणलाई थप प्रतिस्पर्धी बनाउने लक्ष्यका साथ आम नागरिकलाई शेयरधनी बनाउने योजना रहेको बताएका थिए। आइतबार पत्रकार भेटघाट कार्यक्रममा कुलमानले नियम अनुसार प्राधिकरणको २५ प्रतिशत शेयर निष्काशनको लागि पहल सुरु गर्ने बताएका थिए।

चार वर्ष अघिसम्म नोक्सानमा रहेको प्राधिकरण विगत तीन वर्षदेखि लगातार नाफामा छ।कुलमान आउनु अघि चार वर्ष अघि प्राधिकरणको नोक्सानी ३४ अर्ब रुपैयाँ थियो। गत आर्थिक वर्षको वित्तीय विवरण अनुसार सञ्चित नोक्सानी १५ अर्ब २२ करोड रुपैयाँमा झरेको छ।

प्राथमिक शेयर निष्काशन गर्नका लागि कम्तिमा दुई आर्थिक वर्षदेखि नाफामा हुनु पर्छ भने जगेडा कोष ऋणात्मक हुनु हुँदैन। प्राधिकरणले विगत तीन वर्षदेखि नाफा गर्दै आएपनि कम्तीमा पनि दुई वर्ष जगेडा कोष धनात्मक बनाउन लाग्नेछ।यो आधारमा अहिलेको प्रचलित नियम अनुसार दुई वर्षसम्म प्राथमिक शेयर निष्काशन गर्न पाउँदैन। तर सरकारले कुनै नयाँ व्यवस्था ल्याए शेयर जारी गर्न पाउनेछ।प्राधिकरणले गत वर्ष विद्युत विक्रीबाट मात्रै ६५ अर्ब ९५ करोड रुपैयाँ खुद आम्दानी गरेको थियो। 

प्राधिकरणको प्रतिशेयर आम्दानी ५.६९ रुपैयाँ छ। निजी तथा सरकारको जलविद्युत कम्पनीको विद्युत खरिद गरेर आफैले वितरण गर्दै आएको प्राधिकरणको एकलौटी बजार छ। आगामी वर्षमा विद्युत चुहावटलाई झन् कडाइ गर्दै आएमा अझ राम्रो मुनाफा आर्जन गर्न सक्ने देखिन्छ। प्राधिकरणले प्राथमिक शेयर निष्काशन गर्दा प्रिमियममा निष्काशन गर्ने या आधार मूल्यमै निष्काशन गर्ने भन्ने विषयमा भने कुनै पनि निर्णय गरेको छैन।