BIZMANDU
www.bizmandu.com

काठमाडौं मल भाडामा नलागेपछि दोहोर्याएर टेन्डर, मासिक एक करोड तिरे पूरै मल भाडामा पाइने

२०७६ भदौ २७


काठमाडौं। कर्मचारी सञ्चय कोषको काठमाडौं मल भाडामा लिन कोही पनि नआएपछि दोस्रो पटक सिलबन्दी बोलपत्र ‘टेण्डर’ आह्वान गरेको छ। कोषले पूरै मलको लागि मासिक न्युनतम भाडा एक करोड ७ हजार १४ रुपैयाँ तोकेको छ।

Tata
GBIME
Nepal Life

इच्छुक व्यक्ति वा फर्म कम्पनीले न्युनतम मूल्यभन्दा माथिको मूल्यका लागि बोलकबोल गर्न सक्नेछन्। कम्प्लेक्सको भवन ५ वर्षको लागि भाडामा दिने कोषले जनाएको छ।

काठमाडौं मल संचालन गर्न नसकेपछि ब्यापारी राजु गोर्खालीले गत पुषदेखि छाडेका थिए। उनले मासिक दुई करोड ७१ लाख रुपैयाँको दरमा भाडामा लिएका थिए। जसमा भवनको ‘ए’ र ‘वि’ ब्लक थिए।

कोषले अहिले ‘ए’ ब्लकका लागि बोलकबोल आह्वान गरेको हो। ‘बि’ ब्लक तर्फको सटरहरु धरहरा निर्माणको लागि भत्काउने भएपछि ‘ए’ ब्लकको लागि खुला गरिएको हो।

दुबै ब्लक गरेर साढे दुई सय हाराहारीमा सटर रहेका थिए। एक ब्लकतर्फको जम्मा क्षेत्रफल एक लाख ५ हजार ४३३ वर्गफिट रहेको छ।
गत पुषबाट गोर्खालीले छाडेपछि कोष आफैँले भाडामा दिँदै आएको छ। सटर भाडामा लगाउने काम झण्झटिलो भएपछि एकमुष्ट भाडामा दिने तयारी गरिएको कोषका प्रवक्ता ओम कृष्ण श्रेष्ठले जानकारी दिए।

इच्छुक व्यक्ति तथा फर्मले असोज १६ गतेसम्ममा शिलबन्दी बोलपत्र पेश गर्न सक्ने छन्। आवेदन परेको बोलपत्र असोज १७ गतेनै खोलिने कोषले जनाएको छ।

कोषका अनुसार बोलकबोल दाखिल गर्ने व्यक्तिले आफुले बोलकबोलको अन्तिम मितिले तीन महिना भित्रमा बैंक ग्यारेन्टी बुझाउनु पर्ने छ।