BIZMANDU
www.bizmandu.com

चीन र भारतको पर्यटक तान्न नेपालमा हुँदैछ पर्यटन मेला, भ्रमण वर्षका लागि सहयोगी हुने

२०७६ भदौ २५

चीन र भारतको पर्यटक तान्न नेपालमा हुँदैछ पर्यटन मेला, भ्रमण वर्षका लागि सहयोगी हुने
चीन र भारतको पर्यटक तान्न नेपालमा हुँदैछ पर्यटन मेला, भ्रमण वर्षका लागि सहयोगी हुने

Tata
GBIME
Nepal Life

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एशोसिएसन (पाटा)ले नेपालमै पहिलोपटक त्रिपक्षीय पर्यटन मेला आयोजना गर्ने भएको छ।यो मेला फेब्रुअरीको २१ र २२ तारिख काठमाडौंमा हुँदैछ।

'नाइस' नेपाल इन्डिया चाइना एक्स्पो नाम राखिएको मेलामार्फत त्रिपक्षीय फाइदा हुने जनाइएको छ।एक्स्पोमार्फत दुईवटा छिमेकी मुलुक (चीन र भारत)का पर्यटक आवागमन वृद्धि गर्ने योजना रहेको पाटाका प्रमुख कार्यकारी अधिकृत सुरेशसिंह बस्नेतले जानकारी दिए।

एक्स्पो मार्फत छिमेकी मुलकसँगै घुमघाममा चासो राख्ने विश्वभरका मुलुकलाई आकर्षित गर्ने योजना रहेको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले बताए। 

'नाइस आफैमा राम्रो शब्द छ। यो कार्यक्रममार्फत ठूला र द्रुत गतिमा बजार बढिरहेको चीन र भारतबाट पर्यटकलाई आकर्षित गर्न सकिनेछ।' उनले भने।हाल चीन र भारतबाट नेपाल भ्रमणमा आइरहेका पर्यटकको संख्या बढाउन एक्स्पोले महत्वपूर्ण भूमिका खेल्ने भ्रमण वर्ष २०२०का राष्ट्रिय संयोजक सुरज वैद्यले बताए। 'चीनबाट १४ करोड चिनियाँ र भारतबाट २ करोड ६० लाख भारतीय भ्रमणका लागि विभिन्न देश जान्छन्। ती मुलुकबाट चीनबाट वार्षिक ०.१ प्रतिशत पर्यटक र भारतबाट ०.७५ प्रतिशत पर्यटक नेपाल आइरहेको पाइएको छ,’ उनले भने,’पूर्वाधार विकास र प्रचारप्रसार गर्न सके त्यसको प्रतिफल हामीले पाउन सक्छौं।'

भ्रमण वर्ष २०२० आयोजनाका लागि आवश्यक काम अगाडि बढाइरहेको बताउँदै उनले भने,'समय छोटो भएका कारण तत्कालै गर्न सक्ने धेरै काम अघि बढाइसकेका छौं। आधा ग्लास पानी भरी हुन्छ भन्ने सकारात्मक सोच राखेर अगाडि बढ्न आवश्यक छ। पाटा नेपालका अध्यक्ष सुनील शाक्यले सरकारी र निजी क्षेत्रको सहकार्यले एक्स्पो सफल हुने बताए।

उनका अनुसार एक्स्पोमा दुई सय भन्दा बढी क्रेता, एक सय जना विक्रेता, चीन र भारतका ५० जना भन्दा बढी संचारकर्मी, विज्ञ तथा पर्यटनसँग सम्वन्धित संस्थाहरुको सहभागिता रहनेछ। होटल संघकी अध्यक्ष सिर्जना राणाले पर्यटक आकर्षित गर्न सहुलियत मूल्यमा होटलको कोठा बिक्री गरिरहेको बताईन्। पाटाका महासचिव विभुतीचन्द ठाकुरले दुई देशको पर्यटक भित्र्याउन एक्स्पो सहयोगी बन्ने बताए।