BIZMANDU
www.bizmandu.com

अबदेखि ‘एक घर, एक करेसाबारी’ अनिवार्य, तरकारीको बिउ र बिरुवा सित्तैमा

२०७६ भदौ २५

अबदेखि ‘एक घर, एक करेसाबारी’ अनिवार्य, तरकारीको बिउ र बिरुवा सित्तैमा
अबदेखि ‘एक घर, एक करेसाबारी’ अनिवार्य, तरकारीको बिउ र बिरुवा सित्तैमा

   
गलकोट। बागलुङको गलकोट नगरपालिका–३ हटियाले चालू आर्थिक वर्षमा ‘एक घर–एक करेसाबारी’ कार्यक्रम शुरु गरेको छ। विषादी तरकारीको आयात रोकी अग्र्यानिक तरकारी उत्पादनमा जोड दिने उद्देश्यले वडाका प्रत्येक घरलाई अनिवार्य लागू हुने गरी सो कार्यक्रम थालेको हो।     
     
करेसाबारीलाई अनिवार्य गर्दा कृषिखेतीको प्रवद्र्धन हुने र अग्र्यानिक तरकारी घरमै उत्पादन हुँदा विषादीजन्य तरकारी सेवन गर्नुपर्ने बाध्यात्मक अवस्थामा कमी आउने अपेक्षा गरिएको वडाध्यक्ष वीरजङ्ग भण्डारीले बताए। वडा कार्यालयले हटिया बजार क्षेत्रभन्दा बाहिरकालाई अनिवार्यरूपमा ‘एक घर, एक करेसाबारी’ निर्माण गर्न प्रत्येक घरलाई तरकारीका छ प्रकारका बीउ निःशुल्क उपलब्ध गराएको छ।     
     
“प्रत्येक घरलाई साग, मुला, केराउ, सिमी, धनिया, प्याजका बिरुवा निःशुल्क वितरण गरेका छौँ”, भण्डारीले भने, “एक घर, एक करेसाबारीले स्वस्थ शरीर मात्र होइन, घरलाई समेत सुन्दर र स्वच्छ राख्नेछ।” वडाभित्रका ५०० घरधुरीले अनिवार्यरूपमा करेसाबारी निर्माण गर्ने र त्यसका लागि कृषि प्राविधिकको समेत व्यवस्था गरिएको उनले बताए।     
     
हटिया बजारसम्मै बुटवललगायत तराईका जिल्लाबाट तरकारी आयात बढ्दै जान थालेपछि यो वर्ष ‘एक घर, एक करेसाबारी’ निर्माण गर्नका लागि वडा कार्यालयले रु तीन लाख ५० हजार बजेट विनियोजन गरेको छ। वडा नं ३ ले शुरु गरेको ‘एक घर, एक करेसाबारी’ अभियानलाई नगरपालिकाभर विस्तार गर्ने योजनामा रहेको नगर प्रमुख भरत शर्मा गैरेले जानकारी दिए।     
     
घर–घरमा तरकारीको बीउ उत्पादन गर्ने र तरकारी खेती तथा प्राङ्गारिक मल उत्पादनका लागि प्रत्यक्षरूपमा प्राविधिक सहयोग गर्ने कृषि प्राविधिक रुद्र पाठकले बताए। अनिवार्यरूपमा करेसाबारी नबनाउने र उत्पादन नगर्ने घरपरिवालाई नगरपालिकाद्वारा प्रदान गरिने अनुदान तथा सहयोग कट्टा गरिने वडा कार्यालयले जनाएको छ ।     
     
वडा कार्यालयले आगामी आर्थिक वर्षमा एक घर, एक करेसाबारीलाई थप बजेट विनियोजन गर्ने योजना नगरपालिकाको छ। वडा कार्यालयले ल्याएको योजना निकै प्रशंसायोग्य भएको स्थानीय कृषक धनबहादुर अधिकारीले बताए। पैसासँग विष साटेर खाने प्रवृत्तिको अन्त्यका लागि घर, खेतबारीमै अग्र्यानिक खेतीबाली उत्पादन गर्नुपर्नेमा कार्यक्रमले थप प्रेरणा र सन्देशसमेत दिने उनको भनाइ छ। 

Tata
GBIME
Nepal Life