BIZMANDU
www.bizmandu.com

विश्व बैंककी क्रिस्टालिना जर्जियभा आइएमएफ नेतृत्वका लागि एकल उम्मेदवार, उमेर हद बढाइयो

२०७६ भदौ २४

विश्व बैंककी क्रिस्टालिना जर्जियभा आइएमएफ नेतृत्वका लागि एकल उम्मेदवार, उमेर हद बढाइयो
विश्व बैंककी क्रिस्टालिना जर्जियभा आइएमएफ नेतृत्वका लागि एकल उम्मेदवार, उमेर हद बढाइयो



विश्व बैंककी पूर्व सिइओ क्रिस्टालिना जर्जियभा अन्तराष्ट्रिय मुद्रा कोष लिड गर्ने दोस्रो महिला हुने भएकी छिन्।  

Tata
GBIME
Nepal Life

अन्तराष्ट्रिय मुद्रा कोषले बिज्ञप्ती जारी गर्दै बुल्गेरियाकी भेट्रान अर्थबिद् क्रिस्टालिना कोषको नेतृत्वका लागि एकमात्र उम्मेदवार भएको जनाएको छ। कोषले यूरोपमा लामो समयसम्म आर्थिक क्षेत्रमा क्रिस्टालिनाले राखेको पकड र नेतृत्व मुद्रा कोषको लागि उपयुक्त हुने समेत जनाएको छ।  

सन् २०१७ देखि विश्व बैंककी सिइओका रुपमा कार्यरत क्रिस्टालिना हाल बिदामा रहेकी छिन्। उनले अब पूर्व प्रमुख क्रिस्टिना लागार्डको उत्तराधिकारीका रुपमा आइएमएफ सम्हाल्ने निश्चित भैसकेको छ। पूर्व प्रमुख लागार्ड यूरोपियन सेन्ट्रल बैंकको नेतृत्व गर्ने भएपछि कोषले नयाँ लिडरका लागि मनोनयन गर्न माग गरेको थियो। 

शुक्रबारसम्म मनोनयनको अवधि रहेको थियो। मनोनयन अवधि सकिनु एक दिन अघि कोषले यसको नेतृत्वका लागि उमेर हद ६५ वर्षलाई हटाएर ६६ वर्षिया क्रिस्टालिनाको लागि बाटो खुला गरिदिएको थियो। 

आइमएफको बोर्डले जारी गरेको बिज्ञप्तीमा यसले आफ्नो छनौट प्रक्रिया आगामी अक्टोबर ४ सम्ममा टुंग्याउने पनि बताएको छ। बिज्ञप्तीमा अब बोर्डले क्रिस्टालिनासँग थप छलफल अघि बढाउने समेत उल्लेख छ। 

केही दिन यता क्रिस्टालिनाले आइएमएफ नेतृत्वको लविङ गर्न आफ्नो दौडधुप तीब्र पारेकी थिइन्। उनले बुल्गेरियाका प्रधानमन्त्री, फ्रान्सका अर्थमन्त्री तथा इजिप्टका राष्ट्रपतिसँग पनि भेट गरेकी थिइन्। 

अर्थबिद् क्रिस्टालिनाले यसअघि बुल्गेरियाको इयू कमिसनरका रुपमा काम गरिसकेकी छिन्। यस्तै उनले बुल्गेरियाको बजेट तथा मानव संसाधन बिभागको उपाध्यक्षका रुपमा पनि सन् २०१४ देखि २०१६ सम्म काम गरिन्। पोर्चुगलका एन्टोनियो गुटेरेस संयुक्त राष्ट्रसंघको महासचिव भएको समयमा उनले पनि उक्त पदमा दावेदारी प्रस्तुत गरेकी थिइन्।  

हालसम्मको छनौट प्रचलन हेर्दा मुद्रा कोषको नेतृत्व यूरोपियनले गर्दै आएका छन् भने यसैको भगिनी संस्था वर्ल्ड बैंकको नेतृत्व छनौटको जिम्मेवारी वासिङ्टनले पाए झैं देखिन्छ। यसअघि सन् २०१९ को सुरुवातमै विश्व बैंकका अध्यक्षका रुपमा अमेरिकाका डेभिड माल्पास चयन हुँदा पनि प्रतिद्वन्दीका रुपमा कसैलाई फेस गर्नुपरेको थिएन। 

मुद्रा कोषमा पनि क्रिस्टालिना एक मात्र मनोनित उम्मेदवार देखिएकी छिन् जसले अमेरिका र चीनबीचको ट्रेड वारका साथै विश्वभर देखिएको आर्थिक मन्दीलाई आफ्नो खारिएको अनुभवले सामना गर्नुपर्नेछ।  

उनलाई मल्टिल्याटरलिज्म अर्थात बहुपक्षीय सम्बन्धको च्याम्पियन मानिन्छ। तर उनी आइएमएफको नेतृत्वकर्ता भएपछि उनले सामना गर्नुपर्ने चुनौती धेरै नै छन्। उनले लागार्डले लक्षित गरेका क्षेत्र जस्तै जलवायु परिवर्तन, महिला कामदार सहभागिता तथा असमानता न्यूनीकरणलाई थप अघि बढाउनुपर्ने हुन्छ। 

उनीसँग विकासको क्षेत्रमा लागार्डको भन्दा बढी विज्ञता छ तर विकसित अर्थतन्त्रहरुको बित्तीय समस्यासँग भने उनी लागार्डभन्दा कम जानकार छिन्। हाल वैश्विक आर्थिक मन्दीले मुद्रा कोष थप दवावमा पर्ने देखिन्छ जसलाई हल गर्न महत्वपूर्ण निर्णय गर्नु क्रिस्टालिनको चुनौती हो। 

कोषको आफ्नै प्रक्षेपण अनुसार विश्व अर्थतन्त्र यस वर्ष ३.२ प्रतिशतले मात्र बृद्धि हुने देखिन्छ जुन दर सन् २०१७ मा ३.८ र सन् २०१८ मा ३.६ प्रतिशत थियो। आर्थिक बृद्धिको यो घट्दो ट्रेन्डले अझै धेरै देशहरुले कोषको सहायताको अपेक्षा गर्ने देखिन्छ।  

वासिङटन र बेइजिङको ट्रेड वार विश्व अर्थतन्त्रमा लागेको बादल मात्र नभइ यसले कोष जस्ता संस्थाहरुलाई पनि द्न्दको मैदान बनाएको अवस्था छ। लागार्डले अमेरिकी र चिनियाँ दुबै नेतृत्वसँग राम्रो सम्बन्ध बनाएकी थिइन्। क्रिस्टालिनाको पनि दुबै पक्षसँग राम्रो सम्बन्ध देखिन्छ तर कोष यो दुई देशको बीचमा च्यापिने जोखिमबाट बाहिर रहिरहनकालागि पनि उनले राम्रो समाधान खोज्नुपर्ने चुनौती छ। 

यसैगरी क्रिस्टालिनाको फोकस युक्रेन र पाकिस्तानमाथि पनि हुनुपर्ने देखिन्छ जसले लगातार कोषबाट ऋण मागिरहन्छन् तर आफ्नो अर्थतन्त्र र बित्तीय प्रणालीलाई स्थिर बनाउन सकिरहेका छैनन्। (एजेन्सीको सहयोगमा)