BIZMANDU
www.bizmandu.com

एससिटी कार्ड ल्याएका रबिन्द्रको बयान: परिबन्दमा परेँ, ब्यवसायमा ‘डाउनफल’ हुन्छ, नयाँ केही गर्छु

२०७६ भदौ १८

Tata
GBIME
Nepal Life

काठमाडौं। स्मार्ट च्वाइस टेक्नोलोजिज् (एससिटी) देखि अल्पाइन कार्ड भित्र्याएका रविन्द्रबहादुर मल्लले आर्थिक संकटबाट पार पाउने अवस्थामा आइसकेको बताएका छन्। 

उनले आफूले राम्रो नियतले व्यवसाय गरेपनि परिवन्दका कारण संकटमा परेको बताउँदै अब ऋणबाट मुक्त हुने चरणमा रहेको बताए। 

‘नेपालमा कार्ड भित्र्याउने व्यक्ति मै हुँ। राम्रो नियत राखेर इन्नोभेटिभ व्यवसाय सुरु गरेँ’ उनले बिजमाण्डूसँग भने, 'मेरो व्यवसायमा कुनै समस्या थिएन। तर केही व्यवसायमा नचाहँदा नचाहँदै पनि जोडिन पुगेँ। म परिवन्दमा परे। तर ती समस्या पनि सल्टाइसकेको छु’ मल्लले भने।

उनले व्यवसाय गर्ने हरेक व्यक्तिको ‘डाउनफल’ हुने बताउँदै अहिले भोगिरहेको समस्याबाट मुक्त भएर राम्रो व्यवसाय गर्ने इच्छाशक्ति समेत जाहेर गरे। 

‘व्यवसाय गर्ने हरेक व्यक्तिको डाउनफल हुन्छ। केही समय अघिसम्म राम्रो भएको व्यवसायी केहीपछि आर्थिक रुपमा संकटमा पर्न सक्छ। यो व्यापार गर्नेको चक्रनै हो’ मल्लले भने, 'मेरो विजनेश होइन अरुको विजनेश विग्रिदा त्यसको भार मलाई पर्यो। मलाई विश्वास छ मैले केही समयभित्रै विजनेश रिभाइभ गर्न सक्छु।’ 

उनले एससिटी र अल्पाइन कार्डको व्यापार गरेर राम्रो कारोबार गरिरहेका थिए। उनका दाई सुरेन्द्र मल्लले अल्पाइन एयर र रेमिटेन्सको कारोबार सुरु गरे। रविन्द्रले आफ्ना दाई सुरेन्द्रलाई एयरलाइन्स नखोल्न आग्रह गरेका थिए। तर सुरेन्द्रले सल्लाह मानेनन्।

अन्तर्राष्ट्रिय उडान गर्ने भन्दै खोलेको एयरलाइन्सको लागि आएको जहाज अन्तिम समयमा रद्ध भयो। सुरेन्द्रले खोलेको अर्को व्यवसाय युनियन रेमिटेन्स समेत समस्यामा पर्यो। रेमिटेन्समा काम गर्ने कर्मचारीले हिसाब गोलमाल पारेपछि झण्डै २५ करोड रुपैयाँ (ब्याज सहित) भन्दा बढी नोक्सानी ब्योहोर्यो। यो दुबै व्यवसायको आर्थिक नोक्सानीको भार समेत रबिन्द्रले ब्योहोर्नु पर्यो।

उनले आफ्नो कारणले नभइ अरुका कारणले समस्यामा परेको भन्दै चाँडै समस्याबाट मुक्त हुने बताए। मल्लले नगद प्रवाहको अभावले समस्या भएको भन्दै त्यसलाई पार लगाउने सम्पति पर्याप्त भएको बताए। उनले भने- 'मैले गल्ति गरेको भए आज यसरी खुलेर हिँड्दिन थिएँ। मान्छे भेट्दिन थिएँ। मैले गल्ति गरेको छैन। म समस्या पार लगाएर अब नयाँ ब्यवसाय गर्छु।'