काठमाडौं।दशैंका लागि अग्रिम टिकट बुकिङ खुलाउन यातायात व्यवस्था विभागले बुधबार छलफल गर्ने भएको छ।विभागले यातायात व्यवसायी,ट्राफिक प्रहरी,उपभोक्तावादी संगठन लगायतका सरोकारवालालाई छलफलका लागि बोलाएको हो।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौंलाले अग्रिम टिकट खुल्ला गर्न व्यवसायी तयार रहेको बताए।‘हामी अग्रिम टिकट खुल्ला गर्न तयार छौं।हामीले कठिन परिस्थितीमा समेत दशैंमा अग्रिम टिकट खुलाएर यात्रुलाई सुरक्षित गन्तब्यमा पुर्याएका छौं,’उनले बिजमाण्डूसँग भने,’यो वर्ष पनि कटिवद्ध छौं।’
तर यो पटक भने दशैंका लागि आवश्यक सवारी साधन पुर्याउनै कठिन हुने उनले देखेका छन्।‘पहिला महासंघले यातायात समितिमार्फत दशैंका बेलामा सवारी साधन व्यवस्थापन गर्दै आएको थियो।तर अहिले समिति क्रियाशिल छैनन्।धेरैजसो बस कम्पनीमा दर्ता भएकाले व्यवस्थापन गर्न कठिन छ,’ सिटौंलाले भने,’कम्पनीले समेत दशैंका लागि नयाँ गाडी थपेका छैनन्।’
दशैंलाई लक्षित गरेर विभिन्न कम्पनीले बस थप्ने गर्थे।तर अहिले केही कम्पनीले मात्रै बस थपेका छन्।‘समिति हुँदा दशैंका बेलामा देशभरी चार सय नयाँ बस थपिन्थे।तर अहिले सयको हाराहारीमा बस थपिएका होलान्’उनले भने,’सरकारको अस्थिर नीति र बैंकको तरलता अभावले व्यवसायीले बस थपेका छैनन्।’
सिटौंलाका अनुसार समिति भङ भएपछि सार्वजनिक यातायात क्षेत्र कसरी अगाडि बढ्ने भन्ने प्रष्ट्र व्यवस्था नहुँदा थप लगानी नभएको हो।‘अहिले सरकारले कम्पनी मोडलमा जानुपर्छ भनेको छ। कुनै संयन्त्र विना कम्पनी मोडलमा जाँदा त्यसले व्यवसायलाई कता डोर्याउँछ भन्नेनै थाहा छैन,’ उनले भने,’यस्तो अन्यौंलमा लाखौं लगानी कसरी गर्ने?’