BIZMANDU
www.bizmandu.com

सहकारी संस्थामा मर्जरको बहस, सहकारी मन्त्री अर्यालले भनिन् ‘१० हजार सहकारी भए काफी हुन्छ’

२०७६ भदौ ६

Tata
GBIME
Nepal Life

काठमाडौं। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणा मन्त्री पद्माकुमारी अर्यालले नेपालमा अब १०/१२ हजार सहकारी संस्था भए पुग्ने बताएकी छन्।

नेपाल सहकारी पत्रकार समाज र सहकारी विभागले बिहीबार आयोजना गरेको कार्यक्रममा मन्त्री अर्यालले १० देखि १२ हजार सहकारी संस्था भए देश हराभरा हुने र सरकारले सोचेको समृद्धि अभियानमा टेवा पुग्ने बताएकी हुन्।

नेपालमा अहिले ३५ हजार हाराहारी सहकारी संस्था छन्। सहकारी संस्था धेरै भएपछि पछिल्लो समय सहकारीमार्फत वित्तीय अपराधका घटना समेत बढिरहेको अवस्थामा सहकारी संस्था मर्जरको बहस चलेको हो।

मन्त्री अर्यालले सहकारी संस्थाहरूको मर्जर अभियान सञ्चालन गर्न सरकारले एकीकरण कार्यविधि बनाउन लागेकोले गुणस्तरीय र पारदर्शी सहकारी बनाउन मर्जर अभियान थालिने बताएकी छन्।

सहकारीको संख्या गनेर मात्र नहुने भन्दै सहकारीले काम देखाउनुपर्ने बेला आएको उनको भनाइ छ। सहकारी अभियानकै पहलमा सहकारी मर्जर सम्भव हुने उनले बताइन्। ‘अब सहकारी क्षेत्र, भेग, कामको प्रकृति मिल्ने बीचमा एकता हुनुपर्छ’ उनले भनिन्।

कतिपय सहकारी देखासिकी र लहलहैमा खुलेका छन्’ उनले भनिन्,ती संस्थाले एकीकरणमातर्फत गुणस्तरीय सेवा दिन सक्नुपर्छ।’ सहकारी मर्जर अनिवार्य आवश्यकता भएपनि सरकारले जर्बजस्ती मर्जरमा जाउ भन्न नसकिने उनको भनाइ छ।‘मर्जर गर्ने भनेको मन मिल्नेसँग हो, कामको प्रकृति, स्वभाव, स्वरुप, चरित्र मिल्ने, कार्यक्षेत्र मिल्ने सहकारी बीचमा मर्जर गर्नुहोस्’, मन्त्री अर्यालले भनिन्।

’सहकारी संस्थाहरुलाई माथिबाट तपाईहरु मर्जरमा जानुपर्छ भनेर दबाद दिँदैनौं।’ उनले भनिन्, ‘आवश्यक सेवा सुविधा दिएर मिल्ने वातावरण बनाउँछौं।’

मर्जरमा गएर सबै सहकारीले उद्योग र उत्पादन तथा बजारीकरणमा लगानी गर्नुपर्ने उनको भनाइ छ। ५ वर्षमा सहकारी क्षेत्रबाट अर्थतन्त्रमा १० प्रतिशत योगदान गर्न सक्नेगरी सहकारीले उत्पादनमा लगानी बढाउनुपर्ने उनको भनाइ छ। सहकारी अभियानले केही नयाँपन, नयाँ अभ्यासको खोजी गरेको बताइन्।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोपीनाथ मैनालीले मर्जरले प्रतिस्पर्धी क्षमता बढ्ने बताए। ‘यसले सञ्चालन लागत घट्छ, र गुणस्तरीय सेवा दिन सकिन्छ।’ उनले भने। सबल, सक्षम र दिगो सहकारी बनाउन सहकारी मर्जर आवश्यक भएको उनको भनाइ छ। ‘फोर्स मर्जर संभव छैन’ उनले भने, यसले सुशासन र पारदर्शितामा समेत सघाउँछ।’

राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशवप्रशाद बडालले सहकारी मर्जर गर्न महासंघ उत्साहित भएपनि दण्ड लगाएर मर्जरमा जान नसकिने बताए। ‘एकीकरण अभियानमा सबै लागौं’ उनले भने,‘भावना मिल्ने सहकारी मर्जरमा जानुपर्छ।’

सहकारी विभागका रजिष्ट्रार डा. टोकराज पाण्डेले एकीकरणले नै सहकारी बलियो हुने बताए। ‘कसरी मर्जरमा जाने भनेर कार्यविधि बनाउन गृहकार्य गर्दैछौं’ उनले भने। मर्जरमा आएका फाइल बासी नराखी एकैदिनमा स्वीकृति गर्ने गरेको उनले बताए।