Bizmandu
www.bizmandu.com

सिप्रदीयन सहायता संस्था र टाटा ट्रस्ट संस्थाले पौने तीन करोडमा बनायो विद्यालय

सिप्रदीयन सहायता संस्था र टाटा ट्रस्ट संस्थाले पौने तीन करोडमा बनायो विद्यालय


काठमाडौं। टाटा कम्युनिटी इनिसिएटिभ ट्रस्ट र टाटा ट्रस्ट(इन्डिया) तथा सिप्रदीयन सहायता संस्थाको साझेदारीमा संचालित “नेपाल अर्थक्वेक रिस्पोन्स प्रोगाम” अन्तर्गत पुनर्निर्माण गरिएको सिन्धुपालचोक जिल्लाको भोटेकोशी गाउँपालिकामा अवस्थित मार्मिङ माध्यमिक विद्यालय उद्घाटन गरिएको छ।

नवनिर्मित भूकम्पप्रतिरोधी विद्यालय भवनको प्रदेश नं ३ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरूण नेपालले उद्घाटन गरेका हुन्।कार्यक्रममा टाटा केमिकल्सका प्रमुख अपरेटिङ अफिसर शहोब राइस, सिप्रदी कम्पनीजका निर्देशक शम्भुप्रसाद दाहाल तथा टाटा सस्टेनिलिटी ग्रुपका नायब महाप्रबन्धक श्रीरंग डाभ थिए।

TaTa
TVS

कार्यक्रममा सिन्धुपालचोकको बाह्रबिसे नगरपालिकाका प्रमुख निमफुञ्जो शेर्पा, भोटेकोशी गाउँपालिककी उपाध्यक्ष दाबुटी शेर्पा, सिप्रदी ट्रेडिङका महाप्रबन्धक कृष्णप्रसाद बर्तौला तथा टाटा ट्रस्ट नेपालका क्षेत्रीय प्रबन्ध टमलाल पोखरेलको पनि उपस्थिति थियो।

भूकम्प प्रतिरोधी र आधुनिक डिजाइनमा पुनर्निर्मित विद्यालय भवनको संरचना अपांगमैत्री सुविधाहरू रहेका छन्। वि.सं २०७२ सालको महाविनाशकारी भूकम्पले विद्यालयमा नराम्ररी क्षति पुर्‍याएको थियो र विद्यालका कक्षाकोठाहरू, विज्ञान प्रयोगशाला र अन्य कोठाहरू भत्किएका थिए।

पुनर्निमार्ण गरिएको भूकम्पप्रतिरोधी विद्यालयमा १० वटा कक्षाकोठाहरू, कम्प्युटर ल्याब, विज्ञान प्रयोगशाला, मन्टेसोरी कक्षाकोठाहरू र अन्य भौतिक सुविधाहरू रहेका छन्। यस विद्यालयमा अध्ययनरत २५० भन्दा बढी विद्यार्थीहरूको आवश्यकतालाई पूरा गर्न आवश्यक सम्पूर्ण सुविधाहरू रहेका छन्। यो विद्यालय पौने तीन करोड रूपैयाँभन्दा पनि बढीको लागतमा पुनर्निमार्ण गरिएको हो। 

विद्यालयका प्रधानाध्यपक ध्रुव थापाले भूकम्पपछि कक्षाहरू संचालन गर्न कठिनाइ भएको बताए। कक्षाकोठाहरू भत्किएपछि बाहिर चौरमा अध्यापन गराउनुपरेको बताउँदै पुर्निर्माणमा संलग्न टाटा ट्रस्ट र साझेदारहरूप्रति आभार व्यक्त गरे।

टाटा केमिकल्सका प्रमुख अपरेटिङ अफिसर राइसले भूकम्पपश्चात् नेपाल र भारतमा संचालित विभिन्न परियोजनाहरूका बारेमा जानकारी दिए।सिप्रदीयन सहायता संस्थाको सहकार्यमा टाटा ग्रुपले सातवटा विद्यालयहरू तथा एउटा स्वास्थ्यचौकीको पुनर्निमार्ण थालेको थियो र हालसम्म चार वटा विद्यालय भवनहरू हस्तान्तरण भइसकेका छन्।

सिप्रदी कम्पनीजका निर्देशक दाहालले सिप्रदीयन सहायता संस्थाद्वारा टाटा कम्पनीजसँगको साझेदारीमा नेपालका विभिन्न ठाउँहरूमा संचालित उद्धार तथा पुनर्निमार्ण गरिएको परियोजनाहरू बारे प्रकाश पारे।