BIZMANDU
www.bizmandu.com

विद्युतीय चुल्हो र गाडी प्रयोग बढाउने सरकारी रणनीति, दुई खर्बको पेट्रोलियम प्रतिस्थापन

२०७६ साउन २८

विद्युतीय चुल्हो र गाडी प्रयोग बढाउने सरकारी रणनीति, दुई खर्बको पेट्रोलियम प्रतिस्थापन
विद्युतीय चुल्हो र गाडी प्रयोग बढाउने सरकारी रणनीति, दुई खर्बको पेट्रोलियम प्रतिस्थापन

Tata
GBIME
Nepal Life

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले अबको लक्ष्य पेट्रोलियम पदार्थको प्रतिस्थापन रहेकोले विद्युतीय चुल्हो र गाडी किन्न प्रोत्साहन गर्ने बताएका छन्।

विद्युत प्राधिकरणको वार्षिक प्रगति सार्वजनिक गर्न मंगलवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री पुनले यस्तो बताएका हुन्।

अहिलेको विद्युत खपत नभइरहेको अवस्थामा आगामी वर्ष थपिने माथिल्लो तामाकोशी लगायतका आयोजनाको एक हजार मेगावाट विद्युत खेर जान्छकी भन्ने जिज्ञासामा मन्त्री पुनले, विद्युत खपत बढाउन वार्षिक आयात हुने दुई खर्बको पेट्रोलियम पदार्थ प्रतिस्थापन गर्न नीतिगत व्यवस्था गर्न लागेको बताएका छन्।

विद्युत खपत बढाउन विद्युतीय चुल्हो र गाडीलाई प्रोत्साहन गर्न नीतिगगत सहजीकरणमा मन्त्रालय लागिसकेको पुनले बताए।

विद्युत प्राधिकरणको लोभलाग्दो प्रगति
प्राधिकरणले गत आर्थिक वर्षमा मात्रै सात अर्ब २० करोड रुपैयाँ खुद नाफा गरेको छ। अघिल्लो आर्थिक वर्षको दुई अर्ब ९० करोड रुपैयाँ खुद नाफाको तुलनामा गत अर्थिक वर्षको नाफा १४९ प्रतिशतले बढी हो।

चुहावट नियन्त्रणमा पनि प्राधिकरणले उल्लेखनीय प्रगति गरेको छ। गत आर्थिक वर्षमा विद्युत चुहावट १५.३२ प्रतिशतमा सिमित भएको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो चुहावट २०.४५ प्रतिशत र २०७२/७३ मा २५.७८ प्रतिशत रहेको थियो। ३ वर्षको अवधिमा १०.४६ प्रतिशत चुहावट नियन्त्रण गरेर एसियाली स्ट्याण्डर्ड भेटाएको र प्राविधिक चुहावट अझै कम गरेर अन्तर्राष्ट्रिय स्ट्याण्डर्डमा जान सक्ने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए।

विद्युत पहुँचमा १० प्रतिशतले वृद्धि गर्दै ७८ प्रतिशत जनसंख्यामा विद्युत पहुँच पुगेको छ। २३ अर्ब ३ करोड रुपैयाँको विद्युत आयात गरेको प्राधिकरणले साउन सम्म ५० करोड रुपैयाँ वराबरको विद्युत निर्यात गरिसकेको मन्त्री पुनले बताए।

गत आर्थिक वर्षमा ७६१ किलोमिटर प्रशारणलाइन निर्माणको लक्ष्य रहेकोमा ७५७ सर्किट किलोमिटर निर्माण भइ ६०६ सर्किट किलोमिटर चार्ज भएको ऊर्जा सचिव दिनेश घिमिरेले बताए। विद्युत प्राधिकरणको इतिहाँसलाई नजिकबाट नियालेको भन्दै प्राधिकरणको इतिहाँसमै सबैभन्दा धेरै काम गत आर्थिक वर्षमा भएको घिमिरिले दावी गरे।

गत वर्ष ४० वटा सवस्टेशन निर्माण तथा स्तरउन्नती गरि ९२० एमभिए क्षमता थप भएको, वितरण लाइन तर्फ नौ हजार सात सय २२ सर्किट किलोमिटर चार्ज भएको र वितरण तर्फै छ हजार पाँच सय ८१ ट्रान्सफर्मर थप गरि ६६० एमभिए क्षमता वितरण प्रणालीमा थप गरिएको छ।

गत वर्ष ३८ वटा रुग्ण आयोजना सम्पन्न भएका छन्। १३ वटा आयोजनाको ठेक्का सम्झौता रद्ध गरि पुन ठेक्का प्रक्रिया सुरु गरिएको छ।