Bizmandu
www.bizmandu.com

चीनले इथियोपियामा औद्योगिक क्षेत्र बनाउने, ३० अर्बमा बन्ने, २५ हजारले रोजगारी पाउने

चीनले इथियोपियामा औद्योगिक क्षेत्र बनाउने, ३० अर्बमा बन्ने, २५ हजारले रोजगारी पाउने


आदिसअबाबा। अफ्रिकी मुलुक इथियोपियामा ३० करोड अमेरिकी डलरको लागतमा नयाँ औद्योगिक क्षेत्र बनाउन चीन र इथियोपियाबीच सहमति भएको छ।

इथियोपियास्थित चिनियाँ वाणिज्यदूत लिऊ यूले राजधानी आदिस अबाबाबाट करिब ९९ किलोमिटर दक्षिणपूर्वी शहर अदामामा यो औद्योगिक क्षेत्र बन्न लागेको जानकारी दिए। यो परियोजना सन् २०१९ भित्रै निर्माण शुरु गर्ने तयारी भइरहेको उनले बताए। लिऊका अनुसार औद्योगिक क्षेत्र निर्माणका लागि आवश्यक रकममध्ये ८५ प्रतिशत चीनले इथियोपियालाई सहुलियत दरमा ऋण उपलब्ध गराउने छ। बाँकी १५ प्रतिशत इथियोपिया सरकारले व्योहोर्ने छ।

Sipradee
Sanima Bank
TVS

यस औद्योगिक क्षेत्रमा खासगरी विभिन्न औद्योगिक सामग्री उत्पादन गर्ने कारखाना रहनेछन्। लिऊका अनुसार जमिनको व्यवस्था गर्ने तथा लगानीसँग सम्बन्धित कार्यविधि टुङ्गो लागिसकेको छ। अदामा शहरमा यो दोस्रो औद्योगिक क्षेत्र हो। चिनियाँ लगानी र दक्षता प्रयोग भइरहेको अदामा पछिल्ला केही वर्षदेखि प्रमुख व्यापारिक केन्द्र बन्दै गएको छ। अदामा शहरमा यसअघि निर्माण गरिएको पहिलो औद्योगिक क्षेत्र पनि चिनियाँ सहयोगमै तयार भएको हो।

इथियोपियाली प्रधानमन्त्री अबिए अहमदले गत वर्ष अक्टोबरमा यस औद्योगिक क्षेत्रको उदघाटन गरेका थिए। यो औद्योगिक क्षेत्र १४ करोड ६० लाख डलरको लागतमा निर्माण भएको थियो। हाल निर्माणको क्रममा रहेको दोस्रो औद्योगिक क्षेत्र करिब १०० हेक्टरमा फैलिएको छ। यस औद्योगिक क्षेत्रमा करिब २५ हजार इथियोपियाली नागरिकले रोजगारी प्राप्त गर्न सक्नेछन्। सन् २०२५ सम्ममा इथियोपियालाई औद्योगिक राष्ट्र बनाउने अभियानलाई यस परियोजनाले ठूलो मद्दत गर्नेछ।