BIZMANDU
www.bizmandu.com

लगानीकर्ता आश्वस्त नहुँदा नेप्से सूचक उकालो लागेन, रसुवागढी र सान्जेनको धेरै कारोबार

२०७६ साउन २७

Tata
GBIME

काठमाडौँ। सामान्य कारोबारकाबीच सोमबार शेयर बजार झिनो अंकले बढेको छ। नेपाल स्टक एक्सचेन्जको कारोबार मापक सूचक ०.१३ अङ्कले बढेर १२३३.८५ अंकमा उक्लिएको छ।

१२३४ अंकबाट सुरु भएको बजार कारोबारको पहिलो दुई घण्टामा दुई अङ्क बढेको थियो। सुरुवातको वृद्धि टिकाउ हुन नसकेपनि अन्त्यमा बजार थोरै बढेर बन्द भयो।

पुँजीगत लाभकर विवादको यकिन समाधान नआएको कारण बजार धैरैमाथि उक्लिन नसकेको लगानीकर्ता युजिन बजिमयले जानकारी दिए।

दलाल कम्पनीमै गएर शेयर लाभकरको गणना गर्नुपर्ने स्थितिको अन्त्य हुनुपर्ने माग लगानीकर्ताले गरिरहेका छन्। जसलाई सरोकारवालाले बेवास्ता गर्दा सूचक धेरै बढ्न नसकेको बजिमयको भनाइ छ।

सोमबार १ सय ७१ कम्पनीको शेयर कारोबार भयो। १८ लाख २१ हजार कित्ता शेयर ३१ करोड ४२ लाख रुपैयाँमा कारोबार भएको छ।
कारोबार रकमकै आधारमा रसुवागढी हाइड्रो पावर र सान्जेन जलविद्युत कम्पनीको कारोबारले अग्रता लिएका छन्।

रसुवागढीको दुई करोड ५९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। सान्जेनको एक करोड ४९ लाख रुपैयाँ बराबरको कारोबार भयो।

उपसूचक मिश्रित देखिएका छन्। १२ समूहको उपसूचकमा पाँच समूहको शेयर घट्यो भने सात समूहको यपसूचक बढेका छन्। सबैभन्दाबढि होटेल समूहमा १.०१ प्रतिशतको बढोत्तरी देखिएको छ। ट्रेडिङ समूह २.३ प्रतिशतले घटेको छ।