BIZMANDU
www.bizmandu.com

बीमा विकृति: पैसा कमाउने लोभले बीमा गर्दै आफन्तकै हत्या, प्रतिस्पर्धी बजारमा कहाँ चुके कम्पनी?

२०७६ साउन २६

बीमा विकृति: पैसा कमाउने लोभले बीमा गर्दै आफन्तकै हत्या, प्रतिस्पर्धी बजारमा कहाँ चुके कम्पनी?
बीमा विकृति: पैसा कमाउने लोभले बीमा गर्दै आफन्तकै हत्या, प्रतिस्पर्धी बजारमा कहाँ चुके कम्पनी?


Tata
GBIME
Nepal Life

काठमाडौं। केही अघिमात्रै रौतहटका राम किशोर यादवले आफ्नै नावालक छोरीको हत्या गरे। एक मात्र कारण थियो बीमा। उनले पहिले नावालक छोरीको बीमा गरे। उनको हत्या गरे र अन्तमा छोरीको बीमा रकममा दाबी गरे।

यस्तै पोखरामा पनि भयो। पोखराका रमेश नेपालीले पनि एक करोड कमाउने लोभमा श्रीमतीको हत्या गरे। हत्यापछि श्रीमतीको बीमा बापतको १ करोड रुपैयाँ दावी गरे।१० वर्ष अगाडि गोविन्द आचार्यले आफ्नै श्रीमतीको हत्या गरेर २५ लाख रुपैयाँको दाबी भूक्तानी लिन खोजे। तर रकम लिन नपाउँदै प्रहरीको फन्दामा परे। 

केही वर्ष अगाडि एक अनाथाश्रमले बालकको बीमा रकम प्राप्त गर्न नियोजित रुपमा नावालकलाई छतबाट खसालेर हत्या गर्यो। तर बीमा समितिले बीमा रकममाथि अनाथाश्रमको दाबीलाई अस्वीकार गरिदियो।

विगत केही समययता बीमा बापतको रकम हत्याउने लोभमा जघन्य अपराध बढ्दै गएका छन्। सामाजिक अपराधका यस्ता घटनातर्फ बीमा समितिले नै पनि निकै सचेत भई अध्ययन गरिरहेको छ। गलत नियतले गरिएका यस्ता शंकास्पद दाबीलाई आफूहरुले रोक्दै आएको बीमा समितिका उप निर्देशक साम्बराज लामिछानेले जानकारी दिए।

खासमा बीमा कम्पनीहरुले अण्डर राइटिङमा कडाइ नगर्दा परिवारकै सदस्यको हत्या गरेर पैसा कमाउने अपराधी नियत मौलाएको छ।

रौतहटमा बीमाको रकम पाउन आफ्नै छोरीको हत्या

गत असार १६ गते रौतहटका रामकिशोर राय यादवले आफ्नै चार वर्षीया छोरी लक्ष्मी कुमारी यादवको हत्या गरे। हत्या गर्नु भन्दा एक महिना अगाडि उनले प्रभु लाइफ इन्स्योरेन्स कम्पनीमा २५ लाख रुपैयाँको बीमा गराएका थिए।

लक्ष्मीको शव पोखरीमा भेटिएपछि प्रहरीले हत्या भएको शंका गर्दै छानविन गर्ने क्रममा बीमाको लागि हत्या गरिएको पत्ता लगाए। उनले जेठ १९ गते नियोजित रुपमै प्रभु लाइफ इन्स्योरेन्स कम्पनीमा २५ लाख रुपैयाँ पाउन बीमा गराएका थिए। उनले पहिलो किस्ता बापत कम्पनीमा पौने दुई लाख रुपैयाँ बुझाएका थिए। हत्यारा बाबुले कान्छी छोरीको हत्या गरेर २५ लाख रुपैयाँ पाउने लोभमा यस्तो आपराधिक कार्य गरेको स्वीकार गरिसकेका छन्।

१०/१२ वर्ष अघि नेपाल लाइफमा गोविन्द आचार्य भन्ने व्यक्तिले श्रीमतीको बीमा गरे। आचार्यले विवाह गरेको केही दिनमै २५ लाख रुपैयाँको बीमा गरिदिए। विवाह गर्ने वित्तीकै श्रीमानले २५ लाख रुपैयाँको बीमा गर्दा श्रीमान प्रति उनको विश्वास झन् बढ्यो। श्रीमतीलाई श्रीमानप्रति कुनै शंका भएन। श्रीमानले दुई पटकसम्म बीमा शुल्क भूक्तानी गरिदिए।

दुई पटकसम्म बीमा शुल्क भूक्तानी गरेपछि श्रीमतीको अस्पतालमा मृत्यु भयो। उनको मृत्युलाई लिएर कसैले पनि शंका गर्ने कुरा भएन। अस्पतालबाट सबै रिपोर्ट लिएर उनले बीमा कम्पनीमा दाबी गरे। शाखालाई ठूलो रकमको दाबी गर्ने अधिकार नभएको हुँदा केन्द्रमा कागजात पठायो। केन्द्रले सबै कागजात पूरा भएको पाएपछि दाबी बमोजिमको रकम दिन चेक तयार पार्यो।

बीमा कम्पनीले दाबी भूक्तानी गर्न नपाउँदै माइती पक्षले मृत्युमा शंका गर्दै प्रहरीमा उजुरी दिए। प्रहरीमा उजुरी परेपछि बीमा कम्पनीले चेक हस्तान्तरण गरेन। उजुरीसँगै प्रहरीले आफ्नो तरिकाले छानविन थाल्यो। छानविन गर्दा श्रीमानले एक वर्षदेखि नियमित रुपमा ब्लड प्रेसरको औषधी पिँधेर खुवाउने गरेको पत्ता लगायो। उसले उक्त औषधी चियामा हालेर ओभर डोज हुने गरी खुवाउने गरेको पाइयो। श्रीमतीले यस्तो औषधी खुवाउने गरेको शंकै गर्न सकिनन्।

औषधी ओभर डोज भएर विरामी हुँदा श्रीमानले नियमित अस्पताल लाने लैजाने गरेकोले कसैले शंका गर्ने मौका पाएनन्। प्रहरीले श्रीमतीको बीमा गरेको थाहा पाएपछि श्रीमानले बीमाको दाबीको लागि केही गरेको हुन सक्ने शंका गर्दै घरको खानतलासी लियो। खानतलास गर्दा भान्सा भित्र सिलौटोमा औषधी पिँधेको प्रहरीले भेट्टाए। यहि प्रमाणलाई अनुसन्धान गर्दै जाँदा श्रीमानले ब्लड प्रेसरको औषधी ओभर डोज दिने गरेको प्रहरीले पत्ता लगायो।   

अनुसन्धानपछि श्रीमानले बीमाको लागि मारेको स्वीकार गरे। बीमा पोलिसीमा हकदाबीमा श्रीमानको नाम रहेको हुँदा श्रीमानको नाममा चेक काटिएको थियो। तर हकवाला नै मृत्युको कारक भएपछि कम्पनीले चेक हस्तान्तरण गरेन। श्रीमतीको माइती तथा स्थानीय अगुवाले उक्त पैसा उनको नाममा कोष बनाएर सामाजिक क्षेत्रमा खर्च गर्ने प्रस्ताव पेश गरे। अझै पनि यसको दाबी भएको छैन। यस्तो रकमलाई कसरी प्रयोग गर्ने भन्ने विषयमा नयाँ बहस आवश्यक रहेको बीमा समितिका उपनिर्देशक लामिछाने बताउँछन्।

पोखरामा एक करोडका लागि श्रीमतीको हत्या

पोखराको चिप्लेढुङ्गामा व्यवसाय गर्दै आएका रमेश नेपालीले बीमाबाट रकम पाइने लोभमा श्रीमतीको हत्या गरे। उनले आफ्नी श्रीमती लक्ष्मी नेपालीको सुनियोजित रुपमा युनियन लाइफ इन्स्योरेन्स कम्पनीमा एक करोड रुपैयाँको बीमा गरे।

श्रीमतीको मृत्युपछि बीमा बापतको पैसा आउने लोभमा एक करोड रुपैयाँको बीमा गरेका थिए। कम्पनीले धेरै बीमा शुल्क पाउने लोभमा एकै पटक एक करोड रुपैयाँको बीमा गर्न राजी भयो। यस घटनाले बीमा क्षेत्रमा अण्डर राइटिङको विषयलाई बहसमा ल्याएको छ।

बीमा शुल्क आर्जन गर्ने प्रतिस्पर्धा

बीमा कम्पनीहरु बीचमा अरुको भन्दा धेरै बीमा शुल्क आर्जन गर्ने होडबाजीमा बीमा गर्न खोज्दा यस्ता समस्या आउने गरेको प्राइम लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार भट्टराई बताउँछन्। उनले भने ‘आएको बिजनेसलाई किन छोड्ने? यो साल प्रिमियम तिरिहाल्यो अर्को साल तिर्न नसके उसैले सक्दैन भन्ने चलन बढेको छ।’

धेरै बीमा शुल्क संकलन गरे भनेर बजारमा चर्चा बटुल्नलाई मात्रै देखावटी रुपमा बीमा गरियो भने यस्ता खालका घटना बढेर जान्छ। पोखराको घटनाबाट बीमितले एक करोड रुपैयाँको बीमा गर्दै गर्दा उसको आम्दानी हेर्नुपर्थ्यो। बीमा एक दुई वर्षको लागि मात्रै नभएर १५/१५ वर्षको दायित्व सिर्जना हुने व्यवसाय हो। यसले गर्दा उसले आगामी वर्षमा पनि तोकिएको बीमा शुल्क भूक्तानी गर्न सक्छ कि सक्दैन भनेर कम्पनीहरुले हेर्नुपर्छ।  

अण्डर राइटिङमा भएको कमजोरी अध्ययन गरिने

बीमा पोलिसीमा रहेको छिद्रलाई प्रयोग गर्दै नाजायज फाइदा लिने व्यक्तिहरु बढ्दै गएका छन्। बीमाको सिद्धान्त अनुसार बीमा असल नियतका साथ गरिनु पर्छ। तर नियोजित रुपमा बीमा गर्ने र लाभ लिने लोभले आपराधिक गतिविधि बढ्न थालेपछि बीमा समितिका बिज्ञ भोजराज शर्माको नेतृत्वमा एउटा समिति नै बनाइएको छ।

बीमा गर्दा के कस्ता प्रावधान राख्ने बारेमा छलफल गर्न अत्यावश्यक भएको छ।  कडाइ गर्न खोज्दा असल नियत भएकाहरुलाई समस्यामा पार्नु हुँदैन। सबै क्षेत्रमा अनावश्यक कडिकडाउ गर्दा कम्पनीहरुको व्यापारमा पनि असर पर्ने देखिएको छ। यसैले समितिले अध्ययन गरी निर्देशनात्मक भन्दा पनि सुझाव पेश गर्ने शर्माले बताए।

बालबालिकाको पोलिसीबाट अभिभावकले नाजायज फाइदा लिन नसकोस् र आपराधिक मानसिकतालाई पनि निरुत्साहित बनाओस् भन्ने बारेमा अध्ययनले निष्कर्ष दिनुपर्ने सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेको सुझाव छ।

बीमाको जनचेतना कमी हुँदा बीमाबाट आपराधिक गतिविधि बढ्ने गरेको विज्ञहरु बताउँछन्। खासमा बीमा गरेको एक महिनामै दाबी पाइन्छ भन्ने कुरानै गलत भएको शर्माले जानकारी दिए। समितिले बालबालिकाको पोलिसीलाई लिएर प्राविधिक रुपमा अध्ययन गर्ने तयारी गरेको छ। समितिले नेपाली बीमा कम्पनीले जारी गरेका पोलिसी र अन्तर्राष्ट्रिय स्तरमा भएका अभ्यासको अध्ययन गर्ने योजना पनि बनाएको छ। 

अण्डरराइटिङमा कडाइ गरिनु पर्ने

अण्डरराइटिङ गर्ने प्रक्रियामा कडाइ भयो भने यस्ता विकृति हटेर जाने शर्माको भनाई छ। जसले बीमा गरेको छ उसँग प्रिमियम भूक्तानी गर्न सक्ने आर्थिक क्षमता छ कि छैन भन्ने हेर्दै पर्छ। बीमा एक वर्षकालागि मात्रै गरिने होइन। १५/२० वर्षका लागि बीमा गर्दा त्यति लामो समयसम्म प्रिमियम भूक्तानी गर्न सक्छ कि सक्दैन भन्ने अध्ययन नगरी ठूलो रकमको बीमा गर्नु हुँदैन। नियोजित रुपमा ठूलो रकमको बीमा गरेर केही समयपछि बीमाबाटै पैसा कमाउने उद्देश्यले हत्या गर्ने अवस्था आउनु हुँदैन।

बीमा गर्नुअघि सो ब्यक्तिलाई बीमाको आवश्यकता छ कि छैन भनेर हेरिनु पर्ने लामिछाने बताउँछन्। हकदाबी गर्ने व्यक्ति र बीमितको सम्बन्धलाई हेरिएन भने पनि आपराधिक गतिविधि बढ्न सक्छ। बीमा बचतसँगै जोखिमबाट सुरक्षाको लागि पनि हो। जोखिमको कभरेज हुने बाहानामा आपाराधिक गतिविधि रोक्न अण्डराइटिङलाई कडाइ गरिनु पर्छ। 

बीमितभन्दा बीमाको लाभ पाउने व्यक्ति आर्थिक रुपले, शारीरिक रुपले, सामाजिक रुपले, मानसिक रुपले बलियो छ कि कमजोर छ भन्ने पक्षहरु हेरेर अण्डरराइट गर्नुपर्ने हुन्छ। अण्डरराइटिङको गुणस्तर राम्रो भयो भने अथवा बीमाको सिद्धान्त अनुसार भयो भने मात्र आपराधिक घटना हुने संभावना न्यून भएर जाने प्राइम लाइफका सिइओ भट्टराईको तर्क छ।  

कम्पनीहरुले व्यवसाय बढाउँदा बीमाका सर्वमान्य सिद्धान्तलाई पनि सँगसँगै पालना गर्नु पर्छ। पोलिसीमा समस्या नभएपनि बीमा गराउनेको नियतमा समस्या बढेको छ। गलत  नियत राखेर अपराधै गरेर फाइदा लिन्छु भन्नेहरुका लागि जतिसुकै कडिकडाउ गरेपनि रोक्न सम्भव छैन तर कडा प्रावधानहरु भएमा निरुत्साहित गर्न सकिन्छ।

बीमा गर्दा परिवारका अन्य सदस्यकोभन्दा पहिले घरमुलीको बीमा गरिनु पर्ने लामिछाने बताउँछन्। घरमा जसको धेरै आयस्रोत छ उसको बीमा गर्ने परिपाटी भएमा यस्ता किसिमका अपराधिक गतिविधि केही हदसम्म कम भएर जाने उनले तर्क गरे। यसबाट गर्दा बीमाको पैसाले उसको आश्रित परिवारलाई सहज बनाउँछ।

परिवार नै चलाउने नियतले बीमा गर्नुपर्ने अवस्था आउनु राज्यकै समस्या हो। परिवारकै कान्छी छोरीको बीमा गरेर मार्ने, घर बाहिर प्रेमिका राखेर श्रीमतीको हत्या गर्नुले पैसा कमाउने लोभले यस्ता घटना बढेको देखिन्छ। बीमाबाटै पैसा कमाउने नियत खतरनाक अपराध हो। बीमालाई आपराधिक मनोबृत्तिबाट प्रयोग नहोस् भन्नेमा सचेत भई कडा ब्यवस्था ल्याउन आवश्यक भैसकेको छ। बीमा योग्य हितका आधारमा मात्रै इच्छाउन पाउने व्यवस्थाले पनि बीमामा अपराधिक गतिविधि कम हुने लामिछानेको तर्क छ।