Bizmandu
www.bizmandu.com

बैंकास्योरेन्सका कारण भ्रष्ट बनेको बैंकिङ क्षेत्र: रमेशकुमार भट्टराईको लेख

बैंकास्योरेन्सका कारण भ्रष्ट बनेको बैंकिङ क्षेत्र: रमेशकुमार भट्टराईको लेख


नेपाल राष्ट्र बैंकले आर्थिक बर्ष २०७६/७७ को मौद्रिक नीति घोषणा गर्दा बैंकहरुले जारी गर्ने बीमा लेख नियन्त्रण गर्ने नीतिगत व्यवस्था गरेको छ। यससन्दर्भमा हालै जारी गरेको निर्देशिकामा बैंक तथा वित्तीय संस्थाले बीमा अभिकर्ताको काम गर्न पाउने छैनन् भनेर स्पष्ट भनिएको छ। निर्देशन जारीसँगै बीमा लेख विक्रीबाट राम्रो निक्षेप उठाउने र कमिशन आम्दानी गर्ने बैंकलाई अप्ठेरो परेको छ भने बैंकमार्फत राम्रो बीमा लेख विक्रि गर्न सफल जीवन बीमा कम्पनी पनि समस्यामा परेको छ। त्यसैले दुवै संस्थाहरु बीमा बिक्रीलाई नियन्त्रण गर्नु हुन्न भनि लबिङ गरिरहेका छन्। 

राष्ट्र बैंकबाट बीमा लेख विक्रि नियन्त्रण गर्नु पर्छ र बैंक बीमा कम्पनीबाट खोल्नु पर्छ बिचको यो बहस कुनै निष्कर्षमा पुग्नु पहिले नियन्त्रण गर्नै पर्ने वाध्यात्मक अवस्था किन आयो भनि बुझ्नु जरुरी छ। 

Sanima Bank
Riddisiddi Cement

बैंक र बीमा कम्पनी बीच बीमा लेख विक्रिको लागि सम्झौता हुँदा बैंकास्योरेन्स शब्द प्रचलनमा आइरहेको छ, त्यो आँफैमा गलत छ। बैंकास्योरेन्स बैंक र बीमा कम्पनी बिच हुने एउटा सम्झौता हो जस अन्तर्गत सम्बन्धित बैंकको ग्राहकको हितको लागि तोकिएको बीमा प्रोडक्ट विक्रि गर्ने उद्देश्य राखिएको हुन्छ। अर्थात कुनै बैंकको ग्राहकको हित या सुविधाको लागि बैंकले चाहे अनुसारको बीमा प्रोडक्ट बनाई बैंककै काउन्टरबाट बैंकिङ प्रोडक्टसँगै विक्रि गर्ने कार्यलाई नै बैंकास्योरेन्स भनिन्छ। 

बैंक र बीमा कम्पनी बिच अहिले भैरहेको व्यवसाय विशुद्ध अभिकर्ता इजाजतपत्र अन्तर्गत बीमा लेख विक्रि गर्ने कार्य हो। बीमा नियमावली २०४९ को दफा १९ ले पनि व्यक्ति वा संस्थाले प्रकृया पुर्‍याई अभिकर्ता इजाजत लिन पाउने व्यवस्था गरेको छ। बीमा ऐन नियमावली र अब आउने प्रस्तावित ऐनमा पनि बैंकास्योरेन्स विषयमा कुनै व्यवस्था छैन। बीमा समितिले जारी गरेको निर्देशनमा बैंकजस्तै सबै संस्थागत अभिकर्ताले बीमा लेख विक्रि गर्दा तोकेको कमिशन बाहेक कुनै सुविधा दिन नपाइने व्यवस्था गरेको छ। संस्थागत अभिकर्ता बाहेक अन्यको हकमा कमिशन बाहेक प्रथम बीमा शुल्कको १८ प्रतिशतसम्म बजार प्रवर्द्धनको लागि बीमा कम्पनीहरुले खर्च गर्न सक्ने व्यवस्था गरिएको छ। 

बीमा कारोवार प्रति बैंकहरुको आकर्षणको कारण
राष्ट्र बैंकले फि, कमिशन र स्प्रेड दरमा नियन्त्रण गरेसँगै पूँजीको तुलनामा बैंकहरुको आम्दानी बृद्धि गर्न कठिन हुँदै गएको छ। यस्तोमा आम्दानीको थप स्रोतको खोजीमा रहेका बैंकहरुलाई जीवन बीमा क्षेत्र अवसरको रुपमा देखा पर्‍यो। ५ देखि २५ प्रतिशतसम्म कमिशन, त्यो पनि १० बर्षसम्म आइरहेने भएपछि बैंकहरु यसतर्फ लागेका हुन्। यो आम्दानीको लागि थप खर्च पनि गर्नु नपर्ने र भएकै कर्मचारीलाई परिचालन गरे पुग्ने। 

अर्कोतर्फ एउटै बैंकले १५/१६ वटा जीवन बीमा कम्पनीको अभिकर्ता लाइसेन्स लिने र उनीहरुबिच बीमा लेख व्यापारको प्रतिस्पर्धा गराई आफ्नो कुपन रेटमा प्रशस्त निक्षेप लिन सक्ने देखिएकोले पनि बैंकहरु यसमा हौसिएका हुन्। 

तरलता संकटको बेला जीवन बीमा कम्पनीहरुले बैंकहरुलाई आपसमा भिडाएर १४/१५ प्रतिशतसम्म मुद्दती निक्षेपमा व्याज लिएको बैंकहरुले बिर्सेका थिएनन्। त्यसैले बीमा लेख विक्रि गर्ने लोभ र आशा देखाएर बैंकहरुले बीमा कम्पनीहरुलाई कजाउने अवसर पाएका थिए। 

बैंकहरुको बीमा कारोबारमा देखिएको विकृतिहरु 
बैंकहरुले बीमा लेख विक्रि गर्ने कारोवारबाट कमिशन र निक्षेप लिनु स्वभाविक हो। यसलाई अन्यथा भन्न मिल्दैन। जीवन बीमा कम्पनीहरुले बीमा समितिको निर्देशनभित्र रही तोकिएको कमिशन दिई बीमा लेख विक्रि गराउनुलाई पनि सहजै मान्नु पर्ने देखिन्छ। 

महालक्ष्मी लाईफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतको हैसियतले १९ वटा बैंकसँग बीमा लेख विक्रिको सम्झौता गरिसकेको छु। यसक्रममा देशैभरी भ्रमण गर्ने क्रममा विभिन्न बैंक प्रतिनिधिहरुलाई पनि भेटियो। बीमा लेख विक्रिमा आँफैले भोगेको कटु यथार्थलाई विश्लेषण गर्दा राष्ट्र बैंकले बीमा लेख विक्रिमाथि रोक लगाएको गलत छैन भन्ने निष्कर्षमा पुगेको छु।

बैंकसँगको सम्झौता अन्तर्गत नचाहाँदा नचाहाँदै पनि छोटो अवधिमा १ करोडको बीमा लेख हामीले पनि विक्रि गरेका छौँ। बीमा लेख बिक्रिमा जुन किसिमको विकृति देखा पर्‍यो त्यसले समग्रमा बैंक र बीमाप्रति आम मानिसको विश्वास घटाउने काम गरेको छ। त्यसैले यसलाई व्यवस्थित पार्नु पर्नेजस्तो मलाई लाग्छ। 

मुद्दती निक्षेप दिने कम्पनीको मात्र लेख विक्रि
महालक्ष्मी लाईफ शुरु भएसँगै एक वाणिज्य बैकका प्रमुख कार्यकारी अधिकृतसँग मिटिङमा गएको थिएँ। उनले लामो छलफलै नगरी नामै लिएर फलानो बीमा कम्पनीले बीमा बिक्री रकमको १५ गुणा निक्षेप दिने प्रस्ताव गरेका छन् तपाई २० गुणा दिनु हुन्छ भने तपाइँको जतिसुकै महँगो प्रडक्ट पनि विक्रि गर्छौँ भनेर प्रस्ताव गरे। 

निक्षेपमा सहयोग त गर्ने तर उनले प्रस्ताव गरेजस्तो सहयोग गर्न नसक्ने भनेर म फर्किएँ। उनले जसले बढी निक्षेप दिएको छ उसको प्रोडक्ट सबै शाखालाई मौखिक निर्देशन दिएर एक महिनामै लक्ष्य अनुसा बिक्री गरिदिए। प्रोडक्ट सस्तो, राम्रो, महँगो जे भए पनि कुनै सरोकार थिएन। ग्राहकसँग जवरजस्ति बीमा लेख भिडाउनु भनेको एक प्रकारको ठगी हो। 

बैंक शाखाहरुलाई बीमा लेख विक्रि गर्न टार्गेट
बैंक अर्थतन्त्रको मेरुदण्ड हो, बैंकमाथि जनताको ठूलो विश्वास हुन्छ। बैंकले केन्द्रीय बैंकको नीति निर्देशनभित्र रही शाखा/उपशाखाबाट बैंकिङ गतिविधि गर्नु पर्छ। २५ प्रतिशत कमिशनको लोभमा बैंक व्यवस्थापनले आफ्ना शाखाहरुलाई निक्षेप, कर्जा, रिकभरी र मुनाफाको टार्गेटसँगसँगै बीमा लेखको पनि टार्गेट दिन थालेका थिए। 

बैंकका शाखा/उपशाखा बैंकिङ कारोवारभन्दा बीमा कारोवारतिर आकर्षित हुन थालेका थिए। बीमा लेखको टार्गेट पुरा गर्दा बैंकको आम्दानी बढ्ने, लेखको आडमा निक्षेप पनि बढ्ने। बीमा लेखको थप टार्गेटले टेन्सनमा रहेका शाखाहरु अब बैंकका ग्राहकलाई बीमा लेख विक्रि गरी त्यही बीमा लेख देखाएर विभिन्न बीमा कम्पनीसँग निक्षेप संकलन गर्न हौसिएका थिए। यसरी बीमा लेख बैंकहरुको लागि निक्षेप संकलनको लागि गतिलो हतियार भएको थियो। 

लेख खरिद गर्न ऋणीमाथि चर्को दवाव  
कमिशन आम्दानी पनि आउने, निक्षेप संकलन गर्न सजिलो पनि हुने र आफ्नो प्रधान कार्यालयबाट दिएको टार्गेट पनि पुरा हुने देखिएपछि बैंक शाखाहरु जवरजस्ती बीमा लेख विक्रि गर्नतर्फ लागेका थिए। नयाँ कर्जा स्विकृत गर्दा होस् वा कर्जा नवीकरण गर्दा- बीमा लेख लिएपछि मात्रै काम अगाडि बढ्ने अवस्था आएको थियो। 

बैंककै एक पूर्व प्रमुख कार्यकारी अधिकृत आफ्नो ओभरड्राफ्ट कर्जा नवीकरण गर्न जाँदा बीमा लेख लिएपछि मात्र गर्ने सम्बन्धित कर्मचारीको सर्त सुनेर जिल्ल परे। अझ रमाइलो त- तपाईको खातामा टन्न पैसा रहेछ, एउटा बीमा लेख किन्नु पर्‍यो भनेर टेलिफन प्रस्तावसम्म जान थालेको थियो। 

बीमा लेख विक्रि अतिरिक्त आम्दानीको माध्यम
बीमा लेख बैंक शाखा कर्मचारीको लागि बरदान नै भएको थियो। शाखाको निक्षेप टार्गेट र आम्दानी बढाउन पनि रामवाण भएको थियो। सँगसँगै आफ्नो व्यक्तिगत कमाइ र  मनोरञ्जन गराउने माध्यम पनि भएर आएको थियो।

बीमा सम्झौता गरिसकेपछि एक जना बैंकका प्रमुख कार्यकारी अधिकृतले कुनै बीमा कम्पनीको नाम लिदैँ उसले १० प्रतिशत नगद पुरस्कार दिएको बताए। उनले तपाईले पनि दिने हो भने विक्रि गर्छु नभए गर्दिनसम्म भने। 

बीमा समितिले संस्थागत अभिकर्तालाई कमिसन बाहेक केही दिन नपाउने निर्देशनको कुनै अर्थ नै देखिएन। कतिपय बैंकका प्रबन्धकले त आफ्ना कर्मचारीलाई मनोरञ्जन गराउने, नेपाल र विदेश भ्रमण गराउने भए मात्र बीमा लेख विक्रि गर्ने प्रस्ताव दिँदा रहेनछन्। पछिल्लो समय बीमा कारोवारको कारण बैंकिङ क्षेत्र भ्रष्ट हुँदै गएको थियो। 

त्यतिमात्र नभई अफिसियल बीमा बिक्रीको टार्गेट लिएका बैंक कर्मचारीलाई आफ्नो परिवारको नाममा अभिकर्ता इजाजत निकाली बैंकमा आउने केही बीमा लेख परिवारको कोडबाट विक्रि गर्दा बैंक तलवभन्दा वढी  आम्दानी भइरहेको थियो। यस्तो आम्दानी १० वर्षसम्म आइरहने लोभले बैंक कारोवारभन्दा बीमा लेख विक्रितर्फ उनीहरु आकर्षित भइरहेका थिए। केही बैंकहरुले लेख विक्रिबाट आएको कमिशनबाट कर्मचारीलाई 'इन्सेन्टिभ' दिने नीतिले पनि वढी कमिशनको लोभमा कर्मचारीलाई गलत काम तिर आकर्षित गरिरहेको थियो।
 
बीमा लेख बैंकको काउन्टरबाट विक्रि गर्न दिएकाले बैंक र बीमा कम्पनीहरुको मिलेमतोमा विकृतिहरु मौलाउँदै गएको पाइन्छ। यसलाई चुप लागेर छोडिदिने हो भने बैंकिङ व्यवसाय नै बदनाम भएर जान्छ। त्यसैले मेरो बुझाइमा अहिलेको नकारात्मक प्रवृतीलाई नियन्त्रण गर्न जरुरी थियो र राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई बीमा अभिकर्ताको कार्य गर्न नपाउने दिएको निर्देशन समय सापेक्ष छ।

बैंकले बैंकिङ कारोबार गर्ने हो, फाईदा छ भन्दैमा बैंक काउन्टरबाट बीमा लेख बेच्ने होइन। आज बीमा लेख बेच्नेले भोलि शेयर, होटेल वुकिङ, एयरलाईन्स टिकेट विक्रि, हस्पिटल वुकिङ लगायत अन्य वस्तु पनि विक्रि गर्दै जान थाल्छन्। जुन बैंकको काम होइन। यसका लागि छुट्टै संस्थाहरु खुलेका छन्। 

ग्राहक हितको लागि निक्षेप र कर्जासँग समिश्रण गरी बीमा कम्पनीसँग मिलेर छुट्टै बीमा प्रोडक्ट बनाएर बिक्रि गर्न अहिले पनि रोकिएको छैन। बैंक ऋणीको धितो सुरक्षण, प्रोजेक्ट र वीना धितो व्यक्तिगत कर्जाको लागि आवधिक बीमा लेख विक्रि गर्न छुट दिएकोले अप्ठेरो पर्ने केहि देखिदैन। 

बैंकले आफ्नो ग्राहकको लागि बीमा लेख विक्रि गर्न पाउनु पर्छ तर व्यवस्थित नीति नियम बनाई बैंकास्योरेन्सअन्तर्गत विक्रि गर्न दिनु पर्छ। ५ लाख अभिकर्ताले यही पेशाबाट रोजगारी पाईरहेका छन्। 

व्यक्तिगत अभिकर्ता र बैंकलाई एउटै बीमा प्रोडक्ट विक्री गर्न दिँदा अभिकर्ताभन्दा बैंक वित्तीय संस्थालाई विश्वास गरिने हुँदा लाखौँ अभिकर्ता संकटमा पर्छन्। त्यसैले बैंकास्योरेन्स अन्तर्गत विक्रि गरिने प्रोडक्ट र अभिकर्ताले विक्रि गरिने प्रोडक्टमा भिन्नता ल्याएर तथा स्पष्ट नीति नियम बनाई बैंकलाई लेख विक्रि गर्न दिँदा राम्रो हुन्छ। 
(भट्टराई महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत हुन्।)