BIZMANDU
www.bizmandu.com

भोलिदेखि इन्टरनेटको मूल्य १३ प्रतिशतले महँगिने, संसारभरी मूल्य घट्दा नेपालमा बढाइयो

२०७६ असार ३१

भोलिदेखि इन्टरनेटको मूल्य १३ प्रतिशतले महँगिने, संसारभरी मूल्य घट्दा नेपालमा बढाइयो
भोलिदेखि इन्टरनेटको मूल्य १३ प्रतिशतले महँगिने, संसारभरी मूल्य घट्दा नेपालमा बढाइयो

Tata
GBIME
Nepal Life

काठमाडौं। भोलि बुधबारदेखि इन्टरनेटको मूल्य १३ प्रतिशतले महँगिने भएको छ। इन्टरनेट सेवा प्रदायकहरुको संस्था (आईएसपिएन)ले साउन १ गतेदेखि इन्टरनेटको मूल्य १३ प्रतिशतले बढाउने निर्णय गरेको छ।

सरकारले इन्टरनेट सेवा प्रदायकहरुसँग गरेको सहमति कार्यान्वयन नगरेको भन्दै इन्टरनेट सेवा प्रदायकहरुको छाता संगठनले मूल्य बढाउने निर्णय गरेको आईएसपिएनका अध्यक्ष भोजराज भट्टले बिजमाण्डूलाई बताए।

गत वर्षदेखिनै सरकारले इन्टरनेट सेवा प्रदायकहरुबाट १३ प्रतिशत दुरसञ्चार सेवा शुल्क लिने निर्णय गरेको थियो। त्यतिबेला नै व्यवसायीले विरोध गरेपछि सरकारले व्यावसायीसँग मूल्य नबढाउन सम्झौता गरेको थियो। सेवा प्रदायक कम्पनीलाई १३ प्रतिशत मूल्य समायोजन गर्ने सम्झौता गरेको सरकारले सम्झौता पालना नगरेको भन्दै व्यवसायीले मूल्य बढाउने निर्णय सार्वजनिक गरेका हुन्।

मन्त्रिपरिषदको जेठ २३ को निर्णयमा इन्टरनेट जडान गर्दा लाग्ने राउटर लगायतका उपकरण, इन्ट्रानेट-लिजिटलाइज डाट कनेक्टिभिटी र मर्मत सम्भार शुल्कमा दुरसञ्चार शेवा शुल्क नलिने निर्णय सार्वजनिक गरेको थियो। त्यसपछि तत्काल इन्टरनेटको मूल्य नबढाउने निर्णयमा पुगेका सेवा प्रदायहरु असार अन्तिम साताको छलफलमा भने मूल्य बढाउने निर्णयमा पुगेका हुन्।

'सरकारले गरेको निर्णयले मात्र सेवा प्रदायकको माग सम्बोधन भएन। कुन वर्षको लागि सेवा शुल्क छुट दिने निर्णय गरिएको हो भन्ने नै एकिन भएन' अध्यक्ष भट्टले भने, 'दुरसञ्चार ऐन संशोधन नगरेसम्म मन्त्रिपरिषद्को निर्णयले मात्र हामीले छुट पाउने सम्भावना देखिएन। त्यसैले इन्टरनेटको मूल्य बढाउन बाध्य भयौ।'

१३ प्रतिशत मूल्य बढाए पनि नाफा नबढ्ने उनीहरुको दाबी छ। 'एक हातले कर उठाएर अर्को हातले सरकारलाई नै दिने हो। कनेक्टिभिटीलाई सस्तो र भरपर्दो बनाउने सरकारको लक्ष्य भएपनि त्यसको लागि आवश्यक गृहकार्य नगर्दा त्यसको मार उपभोक्तालाई पर्न गएको छ' भट्टले भने।

सरकारले भने अहिलेसम्म आफ्नो धारणा सार्वजनिक गरेको छैन। विश्वकै महँगो इन्टरनेट प्रयोग गर्नेमा नेपाल पनि धेरै अगाडि छ। महँगो मध्येको इन्टरनेट सेवा लिइरहेका नेपालीहरुलाई थप १३ प्रतिशतको भार थपिने भएको हो।