BIZMANDU
www.bizmandu.com

शेयर कारोबार बढाउन नयाँ औजारको प्रस्ताव, एकै दिन शेयर खरीद/बिक्री गर्न मिल्ने

२०७६ असार २७

शेयर कारोबार बढाउन नयाँ औजारको प्रस्ताव, एकै दिन शेयर खरीद/बिक्री गर्न मिल्ने
शेयर कारोबार बढाउन नयाँ औजारको प्रस्ताव, एकै दिन शेयर खरीद/बिक्री गर्न मिल्ने


Tata
GBIME
Nepal Life

काठमाडौँ।शेयर बजारमा कारोबार बढाउन नयाँ औजारको प्रस्ताव लगानीकर्ताले गरेका छन्।अन्तर्राष्ट्रिय क्षेत्रमा प्रयोगमा आइसकेको 'इन्ट्रा डे ट्रेडिङ' (एकैदिनमै सम्पन्न हुने व्यापार)को प्रस्ताव लगानीकर्ताले गरेका हुन्।

यो औजारले सुस्त गतिमा रहेको शेयर कारोबारलाई चलायमान बनाउने उनीहरुको दाबी छ। 'बजारमा कारोबार बढाउने हो भने 'इन्ट्रा-डे ट्रेडिङ' आवश्यक छ'नेपाल इन्भेष्टर फोरमका पूर्व अध्यक्ष अम्बिकाप्रसाद पौडेलले भने। उनका अनुसार कारोबार मात्र नभएर लगानीकर्ताले प्राथमिक र दोस्रो बजारमा खरीद गरेको शेयरको वास्तविक मूल्य निर्धारण गर्न समेत सघाउनेछ।‘जति धेरै दोस्रो बजारमा शेयर कारोबार हुन्छ त्यति नै धेरै लगानीकर्ताले शेयरको वास्तविक मूल्य पाउने सम्भावना हुन्छ,’उनले बिजमाण्डूसँग भने, ‘यसका लागि समेत 'इन्ट्रा-डे ट्रेडिंग' सहयोगी उपकरण सावित हुनेछ।‘

पछिल्लो समय दोस्रो बजारमा १० हजार देखि ५० हजार कित्ता सम्म शेयर कारोबार हुने गरेको छ।दैनिक शेयर कारोबार नबढेकै कारण दोस्रो बजारको आकार समेत नबढेको नेपाल स्टक हाउसका अध्यक्ष ईश्वरी रिमालले बताए। उनका अनुसार 'इन्ट्रा-डे ट्रेडिङ'ले दोस्रो बजारको आकार बढाउन समेत सघाउँछ।

अन्तर्राष्ट्रिय शेयर बजारमा लाखौं लगानीकर्ताले दैनिक शेयर कारोबार गर्छन्।उनीहरूले दैनिक शेयर कारोबार गरेर लाखौँ रुपैयाँ आम्दानी समेत गर्दै आएका छन्। शेयर बजारमै विज्ञता हासिल गरेका लगानीकर्ताको लागि यो अवसरले दैनिक आम्दानी गर्ने बाटो समेत खोलेको छ। विकसित शेयर बजारमा दैनिक शेयर कारोबार गरेर हजारौँ लगानीकर्ताले रोजगारी समेत पाएको रिमालले बताए।‘यो उपकरण शेयर बजारमा दख्खल राख्ने लगानीकर्ताका लागि अवसर र रोजगारी दुवै हो।’उनले भने।

सूचीकृत कम्पनी,सरकार,नियामक निकाय, बजार सञ्चालक,ब्रोकर कम्पनी र लगानीकर्ता सबैलाई फाइदा पुर्‍याउने रिमालको दाबी छ। रिमालका अनुसार कम्पनीलाई भ्यालु निर्धारण गर्न सघाउँछ।‘जति धेरै कारोबार भयो उतिनै धेरै सरकार,नियामक निकाय, बजार सञ्चालक र ब्रोकर कम्पनीले आम्दानी गर्न सक्छन्। लगानीकर्तालाई दोस्रो बजारमा हुने कारोबारले दोहोरो फाइदा गर्छ,’ रिमालले भने, ‘लगानीकर्ताले शेयरको वास्तविक मूल्य पाउँछन् भने दैनिक कारोबारले अल्पकालीन नाफा बढाउन समेत टेवा पुर्याउँछ।‘

नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले यो औजार प्रयोगमा ल्याउन सकेको छैन।नेप्सेका अधिकारी इन्ट्रा डे ट्रेडिङलाई प्राथमिकतामा राखेपनि नियामक निकायबाट स्वीकृती नपाएकाले संचालनमा ल्याउन नसकेको बताउँछन्।

नेप्सेले आफ्नो नाफा वृद्धि गर्न दोस्रो बजारमा हुने कारोबारमा शेयर(फ्लोटेड शेयर)को सङ्ख्या बढाउन समेत यो उपकरण उपयोगी हुने दाबी समेत गरेको छ।ती अधिकारीले भने- 'सूचीकृत शेयरको तुलनामा दोस्रो बजारमा हुने शेयर कारोबार असाध्यै कम छ।'गत वैशाख सम्म नेप्सेमा चार अर्ब १५ करोड कित्ता शेयर सूचीकृत भएका छन्।

सूचीकृत शेयर मध्ये गएको १० महिनामा ६.९४ प्रतिशत मात्रै दोस्रो बजारमा ती शेयर  कारोबारका लागि आए।अर्थात् कुल सूचीकृत शेयरको करिब ९३ प्रतिशत शेयर कारोबारमै आएनन्। गत वर्ष यो संख्या ८.१६ प्रतिशत थियो भने अघिल्लो वर्ष १३.२७ प्रतिशत शेयर कारोबार भएको थियो। गत सात आर्थिक वर्षमा सबैभन्दा बढी आर्थिक वर्ष २०७०/७१ मा १३.३६ प्रतिशत शेयर दोस्रो बजारमा कारोबारका लागि आएका थिए। त्यसपछि यो संख्या लगातार घट्दो क्रममा रहेको ती अधिकारीले बताए।

नेप्सेको आम्दानीको मुख्य स्रोत भनेकै दोस्रो बजारको कारोबार हो।जसलाई नबढाएसम्म नेप्सेको आम्दानी बढ्दैन।आम्दानी वृद्धि गर्न र सँगै लगानीकर्तालाई लगानीकोलागि वैकल्पिक औजारको व्यवस्था गर्न समेत यसको उपयोग गर्ने उदेश्यले नयाँ अनलाइन प्रणालीमा 'इन्ट्रा-डे ट्रेडिङ' र 'सर्ट सेल'(नभएको शेयर बिक्री गर्ने उपकरण )जस्ता फिचर समावेश गरिएको ती अधिकारीको भनाइ छ। यो उपयोगले फ्लोटेड शेयरको संख्या ह्वात्तै बढाउने उनको दाबी छ।   

 के हो  इन्ट्रा डे ट्रेडिङ ?

शेयर खरीद गरेकै दिन बिक्री गर्न पाउनेलाई इन्ट्रा डे ट्रेडिङ भनिन्छ। यसमा गरिने शेयर खरीद बिक्रीलाई लगानीको रुपमा मानिँदैन।दिनभरि शेयर बजारमा आउने उतार चढाबकैबीच अल्पकालीन नाफाको लागि यसलाई प्रयोग गर्ने गरिन्छ।

यसले लगानीकर्तालाई एकै दिनमा आउने शेयरको मूल्यको उतार चढाबमा समेत नाफा कमाउने अवसर प्रदान गर्छ। लगानीकर्ताले नियमित कारोबारमा अनलाइन वा ब्रोकर कम्पनीबाट शेयर कारोबार गर्न पाउँछन्।यो कारोबारको लागि नेप्सेले हाल बन्द गरिएको इन्ट्रा-डे ट्रेडिङ फिचरलाई खुला गर्नुपर्छ।

त्यही फिचरको प्रयोग गर्दै लगानीकर्ताले नियमित कारोबारमा शेयर खरिद गर्न सक्छन्। उनीहरुले किनेको निश्चित कम्पनीको शेयर त्यही दिनको कारोबारमै बिक्री गर्नुपर्छ। खरिद गरिएको मूल्य भन्दा बढिमा शेयर बिक्री भए लगानीकर्ताले नाफा कमाउँछन् भने कममा भए घाटा हुन्छ।लगानीकर्ताले कारोबार अवधि भित्र जुनसुकै बेला शेयर खरिद /बिक्री गर्न सक्छन्।

इन्ट्रा-डे ट्रेडिङमा सूचीकृत सबै शेयर कारोबार गर्न पाइदैन। नेप्सेले तोकेका निश्चित कम्पनी मात्रै त्यहाँ कारोबार हुन्छ। कारोबारको राफसाफ पद्धति नेप्सेले निर्धारण गर्छ। कारोबारीलाई ब्रोकर कम्पनीले मार्जिन सहितको सुविधा उपलब्ध गराउँछन्।दोस्रो बजारमा हुने शेयर कारोबार आफैमा जोखिम कारोबार हो। यो कारोबार झनै जोखिमपूर्ण मानिन्छ।तर पनि विकसित शेयर बजारमा लगानीकर्ताले असाध्यै रुचाएको उपकरणका रुपमा यसलाई लिइन्छ। लामो समयदेखि छिमेकी मुलुक भारतमा लगानीकर्ताले यसको भरपुर उपयोग गर्दै आएका छन्।