BIZMANDU
www.bizmandu.com

होटल व्यवसायमा नेपालको छलाङ,राजनीतिक संक्रमणपछि अन्तर्राष्ट्रिय चेन होटल धमाधम भित्रिदै


होटल व्यवसायमा नेपालको छलाङ,राजनीतिक संक्रमणपछि अन्तर्राष्ट्रिय चेन होटल धमाधम भित्रिदै
होटल व्यवसायमा नेपालको छलाङ,राजनीतिक संक्रमणपछि अन्तर्राष्ट्रिय चेन होटल धमाधम भित्रिदै

Tata
GBIME
Nepal Life

काठमाडौं। लामो राजनीतिक संक्रमण सकिएपछि अन्तर्राष्ट्रिय चेन होटल नेपालमा आकर्षित हुन थालेका छन्।माओवादी द्वन्द्वको शान्तिपूर्ण अवतरणपछि ठूला लगानीमा होटल खोल्ने प्रतिस्पर्धासँगै अन्तर्राष्ट्रिय चेन होटल आकर्षित भएका हुन्।

यही कारण नेपाल अन्तर्राष्ट्रिय स्तरमा ख्याती कमाएका चेन होटलको हब बनेको छ। चेन होटलको आगमनसँगै अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाल कनेक्ट भएको छ।अन्तर्राष्ट्रिय चेन होटलसँग जोडिएसँगै होटल व्यवसायमा नेपालले ठूलो छलाङ मारेको छ।तर यो व्यवसायलाई दिगो बनाउन हाइ इण्ड पर्यटक भित्र्याउने चुनौती भने कायम छ।

अन्तर्राष्ट्रिय स्तरमा हस्पिटालिटी क्षेत्रमा नाम कमाएका सेराटन, मोक्सी मेरियट, अलफ्ट, हिल्टनलगायत विभिन्न होटल निर्माणाधीन अवस्थामा छन्। दुई वर्षको अन्तरालमा भने फेयरफिल्ड मेरियट, काठमाडौं मेरियट, ताज सफारी र भिभान्तालगायत चेन होटल सञ्चालनमा आइसकेका छन्।

नेपालमा सोल्टी होटलले अन्तर्राष्ट्रिय चेन ब्राण्डको सुरुवात गरेको थियो। सोल्टीले ५० वर्ष अघि (सन् १९६८)मा ओभरायको चेन ब्राण्ड ल्याएको थियो। त्यसपछि हिल्टन, सेराटन, इन्टरकन्टिनेन्टल, ताज, आइटिसीलगायत अन्तर्राष्ट्रिय ब्राण्ड नेपाल भित्रिए तर सबैले सफलता पाएनन्। होटल व्यवसायीहरुका अनुसार ती अन्तर्राष्ट्रिय चेन ब्राण्डमध्ये हाल सञ्चालनमा आइरहेका तारेस्तरका होटलमा ओभरायमार्फत तालिमप्राप्त दक्षता कायमले निरन्तरता पाइरहेको छ।

स्थायी सरकार गठन, पर्यटन क्षेत्रमा लगानीमैत्री वातावरण, बैंकहरुको बढ्दो लगानी र मुलुकको प्राथमिकता प्राप्त क्षेत्र भएका कारण ठूलो लगानीमा अन्तर्राष्ट्रिय ब्राण्ड नेपाल भित्रिरहेका छन्। पर्यटन क्षेत्रमा देखिएको प्रबल सम्भावनाका कारण अन्तर्राष्ट्रिय चेन होटलले नेपाल प्रवेशमा चासो देखाएको एमएस ग्रुपका अध्यक्ष एवं मेरियट होटलको सञ्चालक शशिकान्त अग्रवालले बताए।

'विश्वभर आफ्नो चेन सञ्चालनमा ल्याउँदै गरेका अन्तर्राष्ट्रिय होटलले यहाँ पनि ब्राण्ड र व्यवस्थापन दिँदा यसले नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्छ,' अग्रवालले भने, 'यसो भएपछि विभिन्न ब्राण्डका चेनलाई महत्व दिँदै आएका हाइ इण्ड पर्यटकको पनि प्राथमिकतामा पर्न सहज हुन्छ। यसका लागि पूर्वाधार विकास र ध्वजावाहकको प्रभावकारी व्यवस्थापनसँगै हवाई भाडादर सस्तो हुनुपर्छ।'

ब्राण्डेड होटल सञ्चालनमा आए पनि त्यसलाई धान्ने स्तरीय पर्यटक भित्र्याउन नसके लगानीको औचित्य नहुने व्यवसायीहरु नै बताउँछन्। 'अहिले पनि स्तरीय पर्यटकको संख्या निकै न्यून देखिन्छ, २५ प्रतिशत अकुपेन्सीमा चलिरहनु परेको छ,' अग्रवालले भने, 'नेपालले अब स्तरीय पर्यटक भित्र्याउन मार्केटिङ र ब्राण्डिङ गर्नुपर्ने देखिन्छ।'

ब्राण्डेड चेन होटलले अन्तर्राष्ट्रिय पहिचानसहितको सेवा दिने भएकाले सेवाको स्तर विश्वस्तरीय हुने उनको भनाइ छ। चेन होटलले नेपालबाट स्थानीय साझेदारसँगको सम्झौताअनुसार वार्षिक टर्नओभर, ब्राण्ड प्रयोग, साइट बुकिङलगायतबाट निश्चित अंश रोयल्टी लैजाने अग्रवालले बताए।

ठूलो लगानीमा अन्तर्राष्ट्रिय चेन होटल सञ्चालनमा आउँदा होटल इन्डस्ट्रिमा टेवा पुग्नुका साथै पर्यटन प्रवर्द्धनमा पनि सहयोग पुग्ने पर्यटन व्यवसायी एवं छायाँदेवी कम्प्लेक्सका प्रवर्द्धक सुमन पाँडे बताउँछन्। 'प्रचार प्रसारको लागि इन्टरनेशनल ब्राण्ड आफैँ लाग्छन्, उनीहरुको लोयल्टी ग्रुप हुन्छन्,' उनले भने, 'यसो भएपछि पर्यटन प्रवर्द्धनमा पनि टेवा पुग्छ।'

चेन होटल सञ्चालनमा व्यवसायीहरुको चासो बढ्नु स्वाभाविक रहेको पर्यटन व्यवसायी एवं होटल संघ नेपालका पूर्वअध्यक्ष योगेन्द्र शाक्य बताउँछन्। चेन होटलको मौलिक व्यवस्थापनले पर्यटकलाई आकर्षण गर्ने र एउटा भिन्न कल्चरमा सञ्चालन गर्न सहयोग पुग्ने उनको भनाइ छ। चेन होटलको व्यवस्थापन आएपछि सोहीअनुसारको प्रविधि, जनशक्ति, उत्पादन, व्यापार र सेवा अनिवार्यरुपमा दिनुपर्ने शाक्यले बताए।

'चेन होटल दुई किसिममा आवद्ध हुन्छन्। कि त व्यवस्थापनको जिम्मा लिने अथवा जिम्मा नलिई नामको प्रयोगकै भरमा फ्रेन्चाइज भएर मुनाफा कमाउने हुन्छन्,' उनले भने, 'केहीले चेनबाटै महाप्रवन्धक पठाएर होटल व्यवस्थापन सञ्चालनमा गर्दै आएका छन् त केहीले मार्केटिङमात्र हेर्दै आएका छन्।

मोफसलमा पनि चेन होटलकै प्रतिस्पर्धा

अन्तर्राष्ट्रिय होटल चेन समूहको रोजाईमा तराईका व्यापारिक शहर समेत पर्न थालेको छ।पर्यटन व्यवसायको लागी परम्परागत गन्तव्य काठमाडौं उपत्यका, पोखरा, चितवनलाई विदेशी लगानीकर्ताले रोज्दै आएकोमा अहिले बुटवल, भैरहवा, वीरगंज, इटहरी, बिर्तामोड, विराटनगर, नेपालगंजलाई पनि आफ्नो संजाल सूचीमा प्राथमिकतामा पारिरहेका छन्।

भैरहवामा साढे तीन अर्ब रुपैयाँमा पाँचतारे होटल टाइगर प्यालेस संचालनमा आइसकेको छ। अष्ट्रेलियाको सिल्भर हेरिटेज ग्रुपले क्यासिनोसहितको पाँच तारे होटलमा भारतीय पर्यटक लक्षित छ। भारतको उत्तर प्रदेशमा होटल पवन प्यालेस संचालन गरिरहेको पवन होटल्स समूहले लुम्बिनीमा होटल पवन संचालनमा ल्याएको छ। भारतमा मुख्यालय रहेको क्लार्क्स होटल ग्रुप्सले वीरगंजमा सुनिल खेतानको निर्माणाधीन होटल र नेपालगंजमा भवानी राणाको तारे होटल स्नेहासँग व्यवसायीक साझेदारी गरेको छ।

बर्दिया र रारामा नयाँ होटल संचालनको लागी होटल स्नेहाकी प्रबन्ध निर्देशक भवानी राणासँग साझेदारी सम्झौतामा हस्ताक्षर समेत गरेको छ। क्लार्क्स होटल ग्रुप्सले चालीस करोड रुपैयाँमा बर्दियामा रिसोर्ट संचालनमा ल्याउँदैछ।

नेपालगंजको चारतारे होटल कलपत्रु लर्ड्स इनसँग साझेदारी गरेको भारतकै लर्ड्स ग्रुप्स अफ होटलले वीरगंजमा संचालनमा आउन लागेको होटल दियालोसँग फ्रेन्चाइज सम्झौता गरिसकेको छ। अर्को भारतीय अन्तर्राष्ट्रिय होटल संजाल सिग्नेट इनले नेपालगंजमै होटल सिग्नेट इन कृष्णामा फ्रेन्चाइज गरेको छ।चौधरी समूहकै मेघौली सेराईमा ताज सफारी जोडिएको छ।

इकोनोमिक क्लासलाई लक्षित गरेर नेपाल प्रवेश गरेको भारतीय होटल संजाल ओयोले बिजनेश क्लासलाई लक्षित गर्दै वीरगंज,विराटनगर, नेपालगंज, बुटवल, भैरहवा, इटहरी, धरान, चितवनमा सेवा बिस्तार गरिसकेको छ। ओयोले होटल प्रवर्द्धनमा सहयोग गरेवापत आफ्नो साझेदार होटलले प्राप्त गर्ने रकमबाट 'कमिशन' रकम कट्टा गरेर बाँकी रकम भूक्तानी दिने गरेको छ।

बैंकले सम्भावना देखेपछि चुलिएको होटल व्यवसाय

अहिले पर्यटन आवागमनको संख्या बढेको छ। सन् २०११ सम्म पाँच लाख भन्दा पर्यटक संख्या बढेको थिएन। माओवादीको द्वन्द्वको समयमा दुई लाख पर्यटक पनि नेपाल भित्रिन मुस्किल परेको थियो।

त्यो समयमा ब्लुस्टार, नारायणी, शेर्पा, वुडल्याण्डलगायत स्तरीय होटल बन्द भए। ३० वर्ष पूर्णरुपमा चलेको होटल दुई वर्षको अन्तरालमै बन्द भए। त्यतिखेर बैंकहरुले पर्यटन क्षेत्रमा लगानी गर्नै बन्द गरे। सन् २०१० सम्म पर्यटन क्षेत्रलाई 'अनस्टेबल' र 'भल्नरेबल बिजनेश' भनेर किटान गरियो।

अहिले सजिलो छ। होटल व्यवसायमा बैंकले पनि सहयोग दिँदै आएको छ। स्थायी सरकारले पनि पर्यटन उद्योगलाई आर्थिक सम्वृद्धिको पहिलो प्राथमिकतामा राखेको छ। त्यसले लगानी तथा स्तरीय होटलको नेपाल प्रवेशको ढोका खोलेको अग्रवाल बताउँछन्।

व्यवसायी शाक्य पहिले व्यवसाय विस्तार र जनशक्ति उत्पादन गर्न नसकेर बन्द भएका चेन होटल फेरि नेपाल प्रवेश गर्नु सकारात्मक रहेको बताउँछन्। 'पहिलेको कुराबाट पाठ सिकेर चेन होटल सञ्चालनमा ल्याउने हो भने स्थानीय लगानीकर्ता र चेन होटलको व्यवस्थापन तथा मुलुक पनि फाइदामा पुग्न सक्नेछन्,' शाक्यले भने।

चेन होटल आउँदा 'लोकल' होटललाई प्रभाव नपर्ने

ठूलो लगानी र आकर्षक सेवा दिएर चेन होटल नेपाल प्रवेश गर्न थालेपछि स्थानीय होटलको भविष्य के हुने भन्ने प्रश्न पनि उठ्न थालेको छ। तर व्यवसायीहरु भने ठूला होटलको प्रवेशले साना तथा स्थानीय लगानीका होटल सञ्चालक आत्तिनु नपर्ने बताउँछन्।

'ठूला होटलले जस्तै सानाले पनि नयाँ नयाँ मार्केटिङ टुल्स प्रयोग गर्न सक्छन्, उनीहरुले आफ्नै मौलिक सेवा पर्यटकलाई दिन सके राम्रो व्यवसाय गरेर अघि बढ्न सक्ने अवस्था छ,' शाक्यले भने, 'एउटै कुनामा बसेर संसारको विभिन्न ठाउँमा आफ्नो सेवाको बजारीकरण गर्न सकिन्छ। अहिले बिजनेश टु बिजनेश सम्बन्धको तुलनामा बिजनेश टु कस्टुमर सम्पर्क प्रभावकारी छ।'