काठमाडौं। कृषिलाई प्रोत्साहित गर्न बीमा योजना ल्याएपनि सरकारले आफैले कबुल गरेको रकम भने भुक्तानी नगरेको पाइएको छ।
सरकारले कृषि तथा पशुपक्षीं बीमाका लागि प्रिमियममा ७५ प्रतिशत अनुदान दिने स्किम ल्याएको छ। तर घोषणा गरे अनुसार अनुदान रकम भने उपलब्ध गराएको छैन।
कृषि तथा पुशपक्षी बीमाका लागि सरकारले जेठसम्ममा ६० करोड १२ लाख रुपैयाँ अनुदान प्रदान गरेको छ। कृषकले १७ अर्ब ७९ करोड रुपैयाँको बीमा गराएका छन्।
बीमाङ्क रकमका लागि कृषकले ८१ करोड ७८ लाख रुपैयाँ बीमा शुल्क भुक्तानी गरेका छन् भने सरकारले अनुदान बापत भने ६० करोड १२ लाख रुपैयाँ मात्रै भुक्तानी गरेको छ।
सरकारले भुक्तानी गर्नु पर्ने बाँकी रकम प्रकृयामा रहेको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए। यहि अवधिमा कृषकहरुले बीमा कम्पनीहरुमा २३ करोड १८ लाख रुपैयाँको दाबी भुक्तानी पाएका छन्।
बीमा कम्पनीहरुले कृषकसँग २५ प्रतिशत मात्रै बीमा शुल्क लिएर बीमा गर्ने व्यवस्था गरिएको छ। बाँकी ७५ प्रतिशत बीमा शुल्क बीमा समितिमार्फत भुक्तानी पाउने व्यवस्था गरिएको छ। कृषकले २५ प्रतिशत मात्रै बीमा शुल्क भुक्तानी गरे पनि बीमाङ्क रकमकै आधारमा क्षतिको दाबी भुक्तानी गर्न पाउने व्यवस्था रहेको छ। कतिपय बीमा कम्पनीहरुले सरकारले प्रदान गर्ने अनुदान रकम अहिलेसम्म नपाएको गुनासो गरेका छन्।
बीमा समितिले कम्पनीहरुलाई वाध्यात्मक रुपमा जिल्ला तोकेरै बीमा गर्नु पर्ने व्यवस्था गरिदिएको छ। कृषि तथा पशुबीमा गर्दा दाबी धेरै आउँदा घाटाको व्यवसाय गर्नु परेको अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्रीले बताए। घाटा भए पनि बीमा कम्पनीहरुले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बीमा गर्दै आएको उनले बताए।
कृषि बीमाको हिस्सा बढेसँगै मोटर बीमा र विविध तर्फको हिस्सा भने घटेको छ। हिस्सा घटेपनि बीमा शुल्क आर्जन भने बढेको छ। जेठसम्ममा सम्पुर्ण बीमा कम्पनीहरुले २१ अर्ब ५२ करोड रुपैयाँको बीमा शुल्क आर्जन गरेका छन्। सबैभन्दा धेरै मोटर बीमा भएको छ।
मोटर बीमा बापत बीमा कम्पनीहरुले ९ अर्ब ८६ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन्। सरकारले सवारीसाधनको बीमालाई अनिवार्य गरेसँगै मोटर बीमा वापतको बीमा शुल्क अधिकतम देखिएको हो।
त्यस्तै बैंकहरुले आवासी कर्जा प्रवाह गर्दा घरको बीमा अनिवार्य गरेकोले अग्नी बीमा बापत बीमा कम्पनीहरुले चार अर्ब ३८ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन्। अग्नी बीमाको हिस्सा भने गत वर्षकै जति रहेको छ। निर्जीवन बीमा कम्पनीले यहि अवधिसम्ममा जम्मा २० लाख ८ हजार वटा पोलिसी बिक्री गरेका छन्। जेठ महिनामा मात्रै दुई लाख दुई हजार वटा बीमा लेख थपिएका छन्।
निर्जीवन बीमा कम्पनीले आर्जन गरेको बीमा शुल्क
बीमा (रु. लाखमा) |
२०७६ जेठ |
बजार हिस्सा (%) |
२०७५ जेठ |
बजार हिस्सा (%) |
अग्नी बीमा |
43819.20 |
20.36 |
32517.68 |
20.03 |
मोटर बीमा |
98681.20 |
45.85 |
79392.43 |
48.89 |
सामुद्रिक बीमा |
11656.90 |
5.42 |
8957.91 |
5.52 |
हवाई बीमा |
9301.72 |
4.32 |
6573 |
4.05 |
इन्जिनियरिङ बीमा |
19562.73 |
9.09 |
13032.56 |
8.03 |
विविध |
24046.91 |
11.17 |
21807.99 |
13.43 |
कृषि तथा बाली बीमा |
8178.81 |
3.80 |
93.64 |
0.06 |
जम्मा |
215247.47 |
100.00 |
162375.21 |
100.00 |
दाबी भुक्तानीमा ढिलाइ
बीमा कम्पनीहरुको ९० हजार बीमा लेखमा दाबी परेको छ। यसका साथै कम्पनीहरुले ७२ हजार ५२९ बीमा लेखको मात्रै दाबी भुक्तानी गरेका छन्।
जेठसम्ममा निर्जीवन बीमा कम्पनीले ११ अर्ब ४४ करोड रुपैयाँको दाबी भुक्तानी गरेका छन्। कम्पनीहरुले अझै ९ अर्ब २१ करोड रुपैयाँको दाबी भुक्तानी गर्न बाँकी छ।
कम्पनीले आफ्नो जोखिम हस्तान्तरणको लागि पुनर्बीमा कम्पनीमा पुनर्बीमा शुल्क बापत ८ अर्ब ७ करोड रुपैयाँ भुक्तानी गरेका छन्। कम्पनीहरुले २१ अर्ब रुपैयाँ बीमा शुल्क आर्जन गर्दा पुनर्बीमाका लागि ३७.४९ प्रतिशत रकम भुक्तानी गरेका हुन्। कम्पनीहरुले पुनर्बीमा शुल्क ८ अर्ब ७ करोड भुक्तानी गर्दा पुनर्बीमा कम्पनीहरुमार्फत चार अर्ब ४४ करोड रुपैयाँ दाबी भुक्तानी लिएका छन्।