BIZMANDU
www.bizmandu.com

मेलम्ची आयोजनालाई तीव्रता दिन उच्चस्तरीय बैठक, आयोजना अघि बढ्ला?

२०७६ असार २६

मेलम्ची आयोजनालाई तीव्रता दिन उच्चस्तरीय बैठक, आयोजना अघि बढ्ला?
मेलम्ची आयोजनालाई तीव्रता दिन उच्चस्तरीय बैठक, आयोजना अघि बढ्ला?

Tata
GBIME
Nepal Life

काठमाडौं। मेलम्ची खानेपानी आयोजनाको कामलाई तीव्रता दिन सिंहदरबारमा उच्चस्तरीय बैठक भएको छ।

खानेपानी मन्त्री बिना मगरको अध्यक्षतामा बुधबार खानेपानी मन्त्रालयमा सिन्धुपाल्चोकका जनप्रतिनिधि र मन्त्रालयका सचिव सहभागी उच्चस्तरीय बैठक भएको हो।बैठकले मेलम्ची आयोजनामा अवरोध हटाउन सहयोगी भूमिका खेल्ने सांसद र स्थानीय तहका प्रतिनिधीले प्रतिवद्धता जनाएका छन्।

बैठकमा मन्त्री मगर, पूर्वमन्त्री एवं सिन्धुपाल्चोकका सांसदद्वय अग्निप्रसाद सापकोटा, शेरबहादुर तामाङ, खानेपानी मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्मा, सिन्धुपाल्चोकका जिल्ला समन्वय समितिका प्रमूख कृष्णगोपाल तामाङ र मेलम्ची खानेपानी आयोजना विकास समितिका उपकार्यकारी निर्देशक रामचन्द्र खरेल सहभागी थिए।

गत डिसेम्वरमा आयोजना निर्माणको ठेक्का लिएको सिएमसी कम्पनिले काम छोडेपछि आयोजना प्रभावित हुँदै आएको थियो। यही २०७६ जेठ ६ गते नेपाल सरकारको मन्त्रीपरिषद बैठकले मेलम्ची खानेपानी आयोजनाको आवश्यक कामकाज गर्न मेलम्ची आयोजना विकास समितिलाई निर्देशन दिएको थियो।

मन्त्रीपरिषदको निर्देशन बमोजिम आयोजनाले जेठ १७ गते निर्माणको बाँकी काम सम्पन्न गर्न टेण्डर आव्हान गरेको थियो। तर, पूरानो ठेकेदार कम्पनी सिएमसीले कामदार, ढुवानीकर्ता र सह–ठेकेदारहरुलाई दिनुपर्ने भूक्तानी नदिएको भन्दै स्थानीयले आयोजनाको काम अवरुद्ध गरेपछि मन्त्रालयले कार्यदल गठन गरेको थियो।

०७६ साल असार ९ गते गठन गरिएको कार्यदललाई सिएमसीले काम छोडेपछि उत्पन्न समस्याको पहिचान र समाधानका लागि सुझाव दिन कार्यादेश तोकिएको थियो। कार्यदलले असार १९ गते मेलम्ची खानेपानी विकास समितिलाई आफ्नो अध्ययन प्रतिवेदन बुझाएको थियो। प्रतिवेदनमा आयोजनाको पृष्ठभूमि, कार्यदलको कार्यादेश, मेलम्ची खानेपानी आयोजनाको वर्तमान अवस्था, सिएमसीले मजदुर तथा श्रमिकलाई भूक्तानी गर्नुपर्ने रकम, यन्त्र, उपकरण र मेसिनहरुको विवरण र अवस्था, मौज्दात रहेका निर्माण सामग्री हेरेर प्रतिवेदन दिएको थियो।

कार्यदलले सिएमसी कम्पनीले मेलम्ची आयोजनाको काम छोडेपछि उत्पन्न समस्या समाधानका लागि आवश्यक सुझाव दिएको छ। मेलम्ची आयोजनालाई दिएको सुझावका आधारमा समस्या समाधान गर्न मन्त्री मगरले बुधबार उच्चस्तरीय बैठकको आयोजना गरेकी हुन्।बैठकमा मन्त्री मगरले मेलम्ची आम नेपालीहरुको सरोकार र राष्ट्रिय गौरवको आयोजना भएकाले आयोजनाको बाँकी काम तीव्रताका साथ सम्पन्न गर्न आफू लागिरहेको जानकारी गराईन्।

उनले आयोजनाको निर्माण कार्यमा देखिएको असहजता हटाउने काममा आवश्यक सहयोग गर्न आग्रह गरिन्। बैठकले आयोजनालाई बिना अवरोध समयमै सम्पन्न गर्नका लागि कार्यदलको प्रतिवेदनका सुझावहरुलाई आधारमा समस्या समाधानका लागि आवश्यक पहल, समन्वय र सहजीकरण गर्ने निर्णय गरेको छ।