BIZMANDU
www.bizmandu.com

सिभिल बैंकको साढे १७ लाख संस्थापक शेयर कर्मचारी सञ्चयकोषले किन्यो, दोस्रो बजारमा बिक्री चाप

२०७६ असार २५


काठमाडौं। सिभिल बैंकको संस्थापक शेयर आधार मूल्यमै कारोबार भएको छ। बैंकले संस्थापक शेयरधनी सिर्जना शाक्यको शेयर बिक्रीको लागि बोलकबोल आह्वान गरेको थियो। बोलकबोलको क्रमममा शाक्यको शेयर कर्मचारी सञ्चयकोषले आधार मूल्यमै पाएको हो।

Tata
GBIME
Nepal Life

शाक्यले आफ्नो नामको १७ लाख ५३ हजार ५९४ कित्ता शेयर कर्मचारी सञ्चयकोषलाई बिक्री गरेकी हुन्। बोलकबोल प्रक्रिया यस अगाडी नै सम्पन्न भएर बुधबार दोस्रो बजारमा कारोबारका लागि लगिएको हो।

बुधबार शेयर बजार १.१२ अंकले घटेर १२४९.१५ अंकमा रोकिएको छ। आजसम्म शेयर बिक्री गर्नेले कर र राजस्वका लागि पैसा जोहो गर्न सक्ने भएकाले दोस्रो बजारमा बिक्री चाप बढेको हो। पछिल्लो दिन लगानीकर्ताले पैसा जोहो गर्ने क्रममा शेयर बिक्री गरिरहेका छन्।

बिहीबारदेखि राजस्व र करको लागि पैसा जोहो गर्ने दवाव कम हुने छ। साथै नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिको अन्योलताले पनि शेयर बजारलाई प्रभावित पारिरहेको छ।

बुधबार कारोबार सुरु भएको केही समयदेखि बजार लगातार ओरालो झरेको थियो। अन्तिम समयमा केहि सुधार हुने संकेत देखिए पनि बजार १.१२ अंकको गिरावट सँगै रोकिएको छ।

बाणिज्य बैंक, जीवन बीमा कम्पनी र माइक्रोफाइनान्सको सूचक केही सुधार भएपनि बाँकी सूचक ओरालो झरेका छन्। सिभिल बैंकको १७ करोड सहित जम्मा ५७ करोड ३४ लाख रुपैयाँको कारोबार भएको छ। दोस्रोमा नागरिक लगानीकोषको ४ करोड ११ लाख रुपैयाँको कारोबार भएको छ।

दोस्रो बजारमा सूचीकृत भएको तेस्रो दिन पनि इन्फिनिटीको बजार मूल्य सबैभन्दा धेरै बढ्ने क्रममा सर्किट लागेको छ। सबैभन्दा धेरै गुमाउनेमा सिभिल लघुवित्त रहेको छ। लघुवित्तको घट्ने क्रममा सर्किट लागेको छ।